coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी एकतामा कांग्रेस नेताको जोड

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र र मुलुकलाई सफल बनाउन पार्टीभित्र बृहत् एकता आवश्यक रहेको बताएका छन्। राजधानीमा  शुक्रबार सुरु भएको जिल्ला कोषाध्यक्षको दुईदिने सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेताहरूले कांग्रेस असफल भए मुलुक र लोकतान्त्रिक गणतन्त्र नै असफल हुने दाबी गरेका हुन्।

सभापति शेरबहादुर देउवाले मुलुकका सामु विद्यमान चुनौती सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको औंल्याए। 'मुलुकका सामु ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीभित्रको एकता आवश्यक छ,' देउवाले भने, 'कांग्रेस बलियो नभएसम्म लोकतन्त्र सुदृढ हुँदैन।'

मुलुक निर्वाचनतर्फ अघि बढिसकेको बताउँदै देउवाले राजनीतिक स्थिरता र लोकतन्त्र रक्षाका लागि पनि आगामी निर्वाचन पार्टीले जित्नुपर्ने दाबी गरे। 'पार्टी संगठन सुदृढ बनाउन सबै लाग्नुस्,' देउवाले निर्देशन दिए, 'कांग्रेसले चुनाव जित्नुपर्छ, चुनाव जिताउने जिम्मेवारी तपाईंहरूको हो।'

नेता रामचन्द्र पौडेलले पनि आन्तरिक प्रतिस्पर्धा छाडेर पार्टीभित्र बृहत् एकता कायम गरेर अघि बढ्नुपर्ने समय आएको बताए।  कांग्रेस कमजोर हुँदा देश र लोकतन्त्र असफल भएको टिप्पणी गर्दै पौडेलले भने, 'अहिले हाम्रो प्रतिस्पर्धा हामीभित्रै होइन, बाहिरका सँग हो। आन्तरिक प्रतिस्पर्धा छाडौं।' पार्टीभित्रको एकता भाषणमा मात्र नभएर व्यवहारमा लागू गर्न आग्रह गर्दै उनले भने, 'लटरपटर पारेर कब्जा गरेर हुँदैन।' उनको संकेत सभापति देउवाप्रति थियो।

कार्यक्रममा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पार्टी संगठन चलायमान बनाउँदै जनस्तरसम्म पुग्न सबैलाई आग्रह गरे।

होटल मनाङमा जारी सम्मेलनमा स्रोत जुटाउन कोषाध्यक्षले भोग्नुपरेको समस्याका साथै पार्टी संगठन निर्माण तथा स्थानीय निकायको निर्वाचन र देशभर भएको स्थानीय तहको पुनर्संरचनाबारे पनि छलफल भइरहेको तनहुँ जिल्ला कोषाध्यक्ष रेसम गुरुङले जानकारी दिए। सम्मेलन शनिबार काठमाडौं घोषणापत्र जारी गर्दै सकिनेछ।

प्रकाशित: ९ पुस २०७३ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App