coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आठ करोडमा नयाँ बन्दै जिल्ला प्रहरी कार्यालय

गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन निर्माण सुरु भएको छ। भूकम्पमा भत्किएको भवन साढे चार वर्षपछि पुनर्निर्माण सुरु भएको हो। अहिलेसम्म पुरानै तथा जीर्ण भवनमा प्रहरी कार्यालय सञ्चालन भइरहेको थियो। अन्य सरकारी कार्यालय पुनर्निर्माण सकिएका छन् भने केही अन्तिम चरणमा छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन गरेसँगै निर्माणको काम थालिएको हो। ‘भ्याटसहित आठ करोड एक लाख रुपैयाँमा रोयल कन्ट्रक्सनले भवन बनाउने जिम्मा पाएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम अधिकारीले भने। कार्यालय भवन, हिरासत, ब्यारेक, कार्यालय प्रमुखको निवास र खाना खाने ठाउँ (मेस)सहितको संरचना निर्माण हुनेछ। ‘नयाँ बन्ने भवन सुविधासम्पन्न बन्नेछ’ एसपी अधिकारीले भने ‘एक वर्षभित्र निर्माण पूरा हुने गरी गत पुस ४ गते सम्झौता भएको हो।’

सम्झौतापश्चात निर्माण कम्पनीले काम थालिसकेको छ। नयाँ भवन निर्माण हुने भएपछि निर्माण पूरा नहुँदासम्म दैनिक कामकाज र बस्ने, खाने ठाउँको भने प्रहरीलाई समस्या हुने देखिएको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सय ५० जनालाई बस्न, खान समस्या हुने भएकाले जिल्ला समन्वय समितिको भवन वा अन्य कुनै घर खोजेर व्यवस्थापन गर्ने योजना रहेको एसपी अधिकारीले बताए। ‘एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा असजिलो भएको छ’ एसपी अधिकारीले भने।

निर्माण व्यवसायी रोयल कन्ट्रक्सनका सञ्चालक प्रकाशबहादुर सेटीले तोकिएको समयभित्रै सिध्याउने गरी काम गर्ने बताए। ‘धेरै जिल्लामा प्रहरी कार्यालय निर्माण गरिसकेँ’ उनले भने ‘छिटो र समयभित्रै सिध्याउने प्रयास गर्नेछु।’

करिब ९ करोड रुपैयाँ स्टमेट गरिएको भवन उनले आठ करोड एक लाख रुपैयाँमा निर्माण गर्ने गरी बोलपत्र दाखिला गरेका हुन्। गोरखा जिल्ला भर अहिले चार सय ४० नेपाल प्रहरी कार्यरत छन्।

प्रकाशित: २८ पुस २०७६ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App