coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘मिटरब्याजी’ आरोपी यादवको घरमा प्रहरीको खानतलासी

बरहथवा नगरपालिका–१० सितापुर स्थित रामबाबु यादवको घर तथा छापा मार्न खटिएको सुरक्षाकर्मीहरुको टोली। तस्बिर: टंक/नागरिक

सर्लाही - सर्लाही प्रहरीको एक टोलीले आइतबार ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवको घरमा खानतलासी गरेको छ। प्रहरी हिरासतमै रहेका यादवको बरहथवा नगरपालिका–१० सितापुरस्थित घरमा आइतबार मध्यान्ह सुरक्षाकर्मीको टोलीले छापा मारेको हो। सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न अभियुक्त यादवको घरमा खानतलासी गरिएको जानकारी दिए। ‘अभियुक्त यादव विरुद्धको आरोपसँग सम्बन्धित कागजात संकलनका लागि खानतलासी गरेका हौं’, प्रउ पोखरेलले भने, ‘अनुसन्धान जारी रहेकाले थप छानविनको काम भइरहेको छ।’

यादवको घरमा छापा मार्न जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त टोली गएको थियो। झण्डै दुईघण्टासम्म प्रहरी टोलीले यादवको घरमा खानतलासी गरेको स्थानीयले बताएका छन्। खानतलासी गर्न आएको प्रहरी टोलीले ऋण लगानी गरेको तमसुक लगायत विभिन्न कागजातहरु नियन्त्रणमा लिएर गएको बताइएको छ। अनुसन्धानमा सहयोगि हुने खालका विभिन्न कागजातहरु नियन्त्रणमा लिइएको छापा मार्न आएका एक प्रहरी अधिकृतले जानकारी दिए।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवमाथि सुरक्षाकर्मीलाई दुव्र्यबहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ। सर्लाही प्रहरीले यादवलाई गत बुधबार हरिपुरबाट पक्राउ गरेको थियो। प्रउ पोखरेलका अनुसार यादवविरुद्ध गृह मन्त्रालयमा समेत ठगीको उजुरी परिसकेको र निकट भविष्यमा ठगी लगायत अन्य मुद्धामा कारबाही अगाडी बढाइने छ।

ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा राजिनामा गरिदिएको जग्गा आफू खुशी बिक्री गरेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको लगायत गुनासो बोकेर सर्लाहीबाट एक समूह काठमाडौं गएर गृह मन्त्री रामबहादुर थापा बादल एवं प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीलाई भेटेपछि यादवलाई गृह मन्त्रालयको ठाडो निर्देशनमा सर्लाही प्रहरीले पक्राउ गरेको हो।

पीडितहरुको समूहले सर्लाहीकै ब्रम्हपुरी निवासी संजय गुप्ता रौंनियारविरुद्ध समेत सोही प्रकारको पीडा दिएको गुनासो गरेका थिए। तर रौंनियार भने भारततर्फ भागेको सर्लाही प्रहरीले जनाएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य रहेका यादव स्थानीय तह निर्वाचनमा राजपाको तर्फबाट बरहथवा नगरपालिकामा प्रमुखको प्रत्यासी थिए। त्यस्तै रौंनियार पनि प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं. २ मा तत्कालिन नयाँ शक्ति पार्टीबाट संघीय सांसद्का प्रत्यासी थिए।

यता राजपा नेपालले भने यादवलाई राजनैतिक पूर्वाग्रह राखेर कम्युनिष्ट सरकारले फसाउने प्रपञ्च रचेको आरोप लगाउँदै आएको छ। शिक्षासेवी तथा असल राजनैतिक नेता भएको र यादवको सामाजिक चरित्र हत्या गरिएको दाबी गर्दै आएको छ। गत विहिबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शनसहित यादवलाई अबिलम्ब रिहाईको माग गर्दै राजपाले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको थियो।
त्यस्तै आइतबार बरहथवा बजारमा समाजको अगुवा तथां प्रबुद्ध वर्गको नाममा प्रहरी हिरासतमा रहेका यादवलाई तत्काल छाड्न माग गर्दै जुलुस निस्किएको थियो। जुलुसमा राजपा जिल्ला सचिव बलिराम चौधरीसहित अधिकांश राजपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। उक्त समूहले जुलस पश्चात ईलाका प्रशासन कार्यालय बरहथवा मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत पठाएको छ।

यादव पक्षको जुलुस सकिएलगतै आइतबार नै ऋणपीडितहरुको एक समूहले समेत बरहथवा बजारमा विरोध प्रदर्शन गरेको थियो। उनीहरुले ऋण दिने नाममा यादव र रौंनियारले आफूहरुको बिल्लीबाठ बनाएको गुनासो गरे।

मिटरब्याजीको आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार केही महिना अघि मात्रै पक्राउ परेका थिए। ठगी मुद्धा अन्तर्गत अदालतको आदेश अनुसार उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन्।

प्रकाशित: २८ पुस २०७६ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App