coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पाँच वर्षपछि खेल महाकुम्भ सुरु

अजय फुयाल/अजित तिवारी

विराटनगर- राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेसँगै शुक्रबार विराटनगरको सहिद रंगशालाबाट सातौं बृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु भएको छ। ३५ खेलमा कुल ४ हजार २९ खेलाडीले ३५ खेलका विभिन्न इभेन्ट्समा ३ सय २८ स्वर्ण, ३ सय २८ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो खेल महोत्सव राष्ट्रपति भण्डारीले शुक्रबार मध्याह्न एक समारोहबीच उद्घाटन गरिन्। भव्य बनाउने प्रयास गरिए पनि औसतभन्दा माथि उठ्न नसकेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'म सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको घोषणा गर्छु। यो खेलकुद प्रतियोगिता सफलताको कामना गर्छु।'

खेलाडीको जीवनयापनको ग्यारेन्टी तथा खेलकुदका लागि राम्रो भौतिक पूर्वाधार हुनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपर्नेमा जोड दिइन्।

कार्यक्रमका विशेष अतिथि युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले सातौं राष्ट्रिय खेलकुदको झन्डोत्तोलन गरे। प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश सुनाउँदै उनले उद्घाटन समारोहमा भने, 'प्रधानमन्त्री प्रचण्ड युवा तथा खेलकुद मन्त्रालयको संरक्षक हुनुहुन्छ। उहाँले सातौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पठाउनुभएको छ। खेलकुद अहिले सरकारको उच्च प्राथमिकतामा छ।'

यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पूर्वाञ्चलमा पहिलोपटक प्रतियोगिता आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए। प्रतियोगिता अत्यन्तै भव्य र सभ्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सदस्यसचिव विष्टले भने, 'राष्ट्रिय खेलुकद भनेको खेलाडीले आफ्नो प्रतिभा देखाउने सबभन्दा ठूलो मेला हो। यसैबाट अन्तर्राष्ट्रिय स्तरमा सफलताको आधार तय हुन्छ।'

पूर्वाञ्चलको संस्कृति झल्काउने खालका विभिन्न जातका झाँकी प्रदर्शन गरिएको फितलो उदघाटन समारोहमा खेलाडीका तर्फबाट सुटिङका टीकाराम श्रेष्ठ र निर्णायकका तर्फबाट बक्सिङका अनुप लामाले शपथ लिए।

यसअघि विभिन्न राजनीतिक बहानामा चारपटकसम्म सरेको प्रतियोगिता यसपालि पनि त्यस्तै बहानाका कारण समयमा नहुने आशंका थियो।

२०६८ मा सुदूरपश्चिमाञ्चलमा छैटौं राष्ट्रिय खेलकुद समापनका अवसरमा ०७० मा पूर्वाञ्चलमा सातौं संस्करण गर्ने घोषणासाथ झन्डा हस्तान्तरण गरिएको थियो। पूर्वाञ्चलका तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले समयमै सातौं राष्ट्रिय खेलकुद आयोजना गर्ने वचनबद्धतासाथ झन्डा बोकेका थिए। तर संविधानसभाको दोस्रो निर्वाचनका कारण पहिलोपटक तोकिएको समयमा स्थगन गरिएको प्रतियोगिता त्यसपछि मधेस आन्दोलन, नाकाबन्दी तथा अन्य विभिन्न कारण चारपटकसम्म स्थगित गरिएको थियो।

राष्ट्रपति भण्डारीले शुक्रबार उद्घाटन गरेको खेल मेलामा १५ महिनाअघि भइसकेका खेलसमेत समावेश गरिएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले गत वर्ष मंसिरमा गर्ने भनेको प्रतियोगिताअन्तर्गत पौडी, शारीरिक सुगठन र ट्राथोलनका खेल अघिल्लो वर्ष असोजमै काठमाडौंमा भइसकेका छन्। औपचारिक उद्घाटनअघि नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोटसमेत गर्नुपर्ने भन्दै तीन खेलका प्रतियोगिता गरिए पनि राष्ट्रिय खेलुकद समयमा हुन सकेको थिएन। यसैगरी एथलेटिक्समा पनि म्याराथनसहित केही इभेन्ट्स यसअघि नै इटहरीमा सम्पन्न भइसकेका छन्।

यसपालि पूर्वाञ्चलले पहिलोपटक आयोजना गर्दा राष्ट्रिय खेलकुदमा दोहोरी, नृत्यलगायतलाई समेत खेलको दर्जा दिँदै ४३ खेल समावेश छन्। त्यसमा आठ खेललाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको छ भने चार खेलको पदकलाई आधिकारिकता नदिने आयोजक राखेपले निर्णय गरेको छ। त्यसअनुसार सातौं राष्ट्रिय खेलकुदमा ३१ खेलले आधिकारिक रुपमा सहभागिता जनाउनेछन्।

राष्ट्रिय खेलकुदअन्तर्गत राखिए पनि गल्फ, स्नुकर, आर्चरी र फेन्सिङको पदकले आधिकारिकता पाउने छैनन्। यसैगरी, नृत्य र दोहोरी गीतसँगै राखिएका रग्वी, साम्बो, रक क्लाइम्बिङ, स्केटिङ, रोप स्केटिङ र बुदोकैदोलाई प्रदर्शनी खेलका रुपमा समावेश छन्।

सातौं संस्करणका लागि फुटबल, एथलेटिक्स, तेक्वान्दो, बक्सिङ, कराते, भारोत्तोलन, भलिबल, टेबलटेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, हक्की, स्क्वास, सुटिङ, जिम्न्यास्टिक, लन टेनिस, क्रिकेट साइक्लिङ, सेपाक टाक्रो, पौडी, शारीरिक सुगठन, ट्रायथलन र खो खोलाई आधिकारिक खेलका रुपमा समावेश गरिएको छ।

पाँच विकास क्षेत्रका साथै तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफका आठ टोलीले मात्र सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् । यसअघि पाँचौं संस्करणमा माओवादीको पिएलए स्पोर्ट्स क्लबले सहभागिता जनाएको थियो भने छैटौंमा पिएलएसँगै विश्वविद्यालय टिम पनि राष्ट्रिय खेलकुदको हिस्सा थियो। पूर्वाञ्चलका छ जिल्ला तथा काठमाडौं, ललितपुर र कास्कीका विभिन्न स्थानमा आठ दिनसम्म चल्ने प्रतियोगिताको समापन पुस १५ गते धरान रंगशालामा हुनेछ।

पूर्वाञ्चल प्रतियोगिताको आयोजक भए पनि लन टेनिसका खेल कास्कीमा हुनेछ भने फेन्सिङ काठमाडौं तथा स्क्वास ललितपुरमा।

प्रत्येक दुई वर्षमा गर्ने योजनासहित २०३८ सालमा पहिलोपटक भएको राष्ट्रिय खेलकुद सातौं संस्करणमा आइपुग्दा सबै विकास क्षेत्र पुगिसकेको छ। दोस्रो संस्करण २०४० मा पोखरामा भएको थियो भने तेस्रो राष्ट्रिय खेलकुद २०४२ सालमा वीरगन्जमा भएको थियो। यसैगरी, चौथो संस्करण २०५५ मा नेपालगन्जमा भएको १० वर्षपछि पाँचौं संस्करण काठमाडौंमा सम्पन्न भएको थियो।

प्रकाशित: ९ पुस २०७३ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App