८ वैशाख २०८१ शनिबार
समाज

ओझेलमा जेलवाङको फलाम खानी

तस्बिर: जेलबाङमा रहेको फलाम खानी।

रोल्पा - सुनछहरी गाउँपालिका–७, जेलवाङमा रहेको फलाम खानी सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ। १६ औं शताब्दीदेखि निरन्तर उत्खनन् हुँदै आएको खानी २०४६ साल ताका जिल्ला वन कार्यालयले रोक लगाएपछि फलाम निकाल्न छोडिएको थियो। फलाम प्रशोधन गर्ने पूराना मान्छेहरुको मृत्यु भएपछि उक्त सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यो खानी ओझेलमा परेको हो। त्यसो त राज्य स्तरबाट खानीका बारेमा कुनै चासो पनि दिइएको छैन।

फलाम खानीको महत्वलाई बचाउन र प्रचार प्रसार गर्न भन्दै ‘जेलबाङ सेवा समाज’का नाममा विभिन्न देशमा रोजगारीका सिलशिलामा गएकाहरुको आर्थिक सहयोगमा यहाँ संग्रालय बनाउन थालेका छन्। स्थानीय चन्द्र बहादुर बुढाका अनुसार जेलबाङको जरापानीमा फलाम पशोधन संग्राहलय निर्माणको काम सुरु भइसकेको छ। ‘तत्कालिन समयमा कसरी फलाम प्रशोधन गरिथ्यो भन्ने बारेमा नयाँ पुस्तालाई सीप हस्तान्तरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्राहलयको निर्माण गर्न लागिएको हो।’

जेलबाङमा खानीबाट कच्चा पदार्थ निकालेर प्रसोधन गर्ने पुराना मान्छे अब एक जना मात्र जीवित छन्। यहाँका ८४ वर्षीय रजबहादुर बुढा एक मात्र फलाम प्रशोधन गरेका अनुभवी मान्छे हुन्। अहिले यहाँका स्थानीयहरु रजबहादुरबाट सीप सिक्ने पक्षमा गएका छन्। पछिल्लो समय सडक सञ्जालको विस्तार भएसँगै बाहिरबाट फलाम आयात हुन थालेपछि यो फलाम खानी उत्खननमा कसैको ध्यान नगएको स्थानीय बताउछन्।

तत्कालिन पञ्चायती व्यवस्था ताका यहाँको फलाम वरपरका जिल्लाहरुमा समेत प्रयोग गरिन्थ्योे। रजबहादुर बुढाका अनुसार ‘त्यो बेलामा तत्कालिन जिल्ला पञ्चायत प्यूठानमा जग्गाको तिरो समेत यहाँको फलाम नै तिर्ने गरिन्थ्यो।’ बुढाले भने ‘जेलबाङका जग्गाको तिरो वर्षमा १ सय ५२ धार्नी फलाम बुझाउथ्यौ।’ जेलबाङका र छेउँछाउँका गाउँहरुमा आज पनि स्थानिय फलामबाट बनाईएका औजारहरु पाइन्छ।

अहिले स्थानीयको मागपछि फलाम खानीको बारेमा स्थानीय सरकारले पनि चासो दिन थालेको छ। फलाम खानी उत्खननका लागि प्रदेश सरकारसँग पहल कदमी अघि बढाएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए। ‘रोल्पामा रहेको यो फलाम खानीलाई उत्खनन गर्न सके जिल्लाको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएकाले हामीले प्रदेश र संघीय सरकारसँग यसको उत्खनन्का लागि पहल गरेका छौं।’ पुनले भने ‘यहाँका पहाडहरुमा तामा र सुन खानी पनि छ। पहिले पहिले तामा पनि निकालिन्थ्यो। मुलत यहाँ फलाम र सुन खानी नै छ।’

यहाँका स्थानीयहरुका अनुसार यहाँका पहाडहरुमा तामा र सुनखानी पनि छ। पूर्वी रोल्पाको सुनछहरी झरना सुन पाइने भएकै कारण नामाकरण गरिएको स्थानीय बताउछन्। आज पनि यो भेगका खोलाका बगरमा बालुवा चालेर सुन खोज्ने गरिन्छ।

प्रकाशित: २८ पुस २०७६ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App