८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बेलायती राजदूत पक्राउ

शनिबार इरानको राजधानी तेहरानस्थित एउटा विश्वविद्यालयबाहिर आयोजित सरकारविरोधी प्रदर्शनका सहभागी। तस्बिर : एजेन्सी

तेहरान (बिबिसी) – इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन्। इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।

इरानी सेनाले गत बुधबार युक्रेनको यात्रुवहाक विमान खसालेपछि १ सय ७६ जना यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा मारिएकाको सम्झनामा राजधानी तेहरानमा आयोजित जागरण अभियानमा सहभागी भएलगत्तै बेलायती राजदूत मकेयरलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ।

मृतकको सम्झनामा आयोजित कार्यक्रम प्रदर्शनमा रुपान्तरण हुन लागेलगत्तै राजदूत मकेयरले सो कार्यक्रम छोडे पनि उनलाई पक्राउ गरिएको थियो। कपाल काट्न एउटा सैलुनमा रोकिँदा उनी पक्राउ परेका थिए। इरानी सुरक्षाकर्मीले भने बेलायती राजदूतले प्रदर्शन आयोजनाका लागि सहयोग गरेको आरोप लगाएका छन्।

एउटा ट्विट गर्दै राजदूत मकेयरले प्रदर्शनमा सहभागी भएको भन्ने आरोप अस्वीकार गरेका छन् भने बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत मकेयर पक्राउको निन्दा गरेका छन्। ‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री डोमिनिक राबले जारी गरेको एउटा विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उता, इरानले बेलायती राजदूत मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको पुष्टि गरेको छ। तस्निम समाचारसंस्थाले बेलायती राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्बिर ट्विटरमा पोस्ट गरेको थियो।

इरानी सञ्चारमाध्यमका अनुसार बेलायती राजदूत मकेयरमाथि तेहरानमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई उक्साएको आरोप लगाइएको छ।

राजदूत मकेयरले युक्रेनी विमान दुर्घटनामा पर्नेमध्ये केही बेलायती नागरिक पनि रहेकाले मृतकको सम्झनामा आयोजित कार्यक्रममा आफू श्रद्धाञ्जली व्यक्त गर्न मात्रै सहभागी भएको जिकिर गरेका छन्। ‘कूटनीतिज्ञ पक्राउ गर्नु भनेको सबै देशमा गैरकानुनी हो,’ उनले बताए।

युक्रेनी यात्रुवहाक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाले पनि सुरुमा हैन भनेर ढाँटेको भन्दै आफ्ना अधिकारी ‘झुटा’ भएको आरोप लगाउँदै इरानको राजधानी तेहरानमा सरकारविरोधी प्रदर्शन भएको छ। सुरुमा युक्रेनी विमानलाई खसालेको भन्ने आरोप सिधैं अस्वीकार गरेको इरानले शनिबारमात्रै ‘मानवीय त्रुटिका कारण’ विमानमाथि क्षेप्यास्त्र प्रहार भएको भन्दै माफीसमेत मागेको थियो। चालक दलका सदस्यसहित १ सय ७६ जना यात्रुको ज्यान जाने गरी क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान ‘भूलवश’ खसालेको दाबी इरानी पक्षको छ। उसले सोही दिन स्थानीय समयअनुसार बिहान २ बजे इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा दुई दर्जनजति क्षेप्यास्त्र प्रहार गरेको थियो।

सोही दिन इराकस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेकाले अमेरिकाले युद्धक विमान पठाएको हुनसक्ने भन्दै भूलवश क्षेप्यास्त्र प्रहार भएको र यो माफी दिन नमल्निे खालको गल्ती भएको इरानले शनिबार बताएको थियो। युक्रेनी विमान खसालेको विषयमा अनुसन्धान हुने र संलग्न दोषीमाथि कारबाही गरिने प्रतिबद्धतासमेत इरानले जनाएको छ।

आफ्ना उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा इराकको राजधानी बग्दादमा गत जनवरी ३ मा हत्या भएको प्रतिशोधस्वरुप इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानको क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमानमा रहेका दर्जनौं इरानीसहित क्यानेडालीका साथै युक्रेन, बेलायत, अफ्गानिस्तान र स्वीडेनका नागरिक मारिएका थिए।

झुट बोलेको भन्दै सरकारविरोधी प्रदर्शन
गत बुधबार भएको दुर्घटनाका लागि सुरुमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो। तर शनिबार इरानका राष्ट्रपति हसन रौहानीले इरानी सेनाले ‘भूलवश’ युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको स्वीकारेका थिए। उनले क्षेप्यास्त्र प्रहार एउटा ‘अक्षम्य गल्ती’ भएको समेत बताएका थिए।

सुरुमा हैन भनेर पछि हो भनेको भन्दै इरानको राजधानी तेहरानमा प्रदर्शन भएका छन्। कम्तीमा दुईवटा विश्वविद्यालयबाहिर विद्यार्थी भेला भएर प्रदर्शन गरेका थिए। सुरुमा युक्रेनी विमान दुर्घटनामा मारिएकाको श्रद्धाञ्जलीका लागि भेला आयोजना गरिएको भए पनि साँझतिर प्रदर्शन उग्र बनेको बताइएको छ।

प्रदर्शनमा करिब १ हजारजति प्रदर्शनकारी भेला भएको र सरकारविरोधी नारा लगाएको अर्धसरकारी फार्स न्युज एजेन्सीले जनाएको छ। सो समाचार एजेन्सीका अनुसार प्रदर्शनकारीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको तस्बिर अंकित पोस्टर पनि च्यातेका थिए।

प्रदर्शनमा सहभागी विद्यार्थीले विमान खसाल्नमा सहभागी भएका र त्यसलाई लुकानउ खोज्नेमाथि पनि कारबाहीको माग गरेका थिए। प्रदर्शनमा सहभागीले ‘झुटा नेता’ भन्दै नारासमेत लगाएका थिए।

‘अन्तर्राष्ट्रिय सहयोग स्वीकार्य’
तेहरान, पुस २७ (एजेन्सी)– इरानमा गत साता भएको विमान दुर्घटनाका सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले हसन रौहानीले बताएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा इरानी राष्ट्रपति रौहानीले यस्तो बताएका हुन्।

रौहानीले शनिबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेको इरानी समाचार समिति इर्नाले जनाएको छ। सो फोनवार्ताका क्रममा इरानी राष्ट्रपति रौहानीले उक्त विमान दुर्घटनासम्बन्धी जुनसुकै प्रकारको अनुसन्धान तथा आवश्यक सहयोग इरानले स्वीकार गर्ने बताएको समाचारमा जनाइएको छ।

यसअघि दुर्घटनाग्रस्त भएको युक्रेनी विमानबारे पूर्णरुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले पनि गरेको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघले सो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहेको जानकारी सार्वजनिक गरेका थिए।

हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रूपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाई दिनुपर्ने बताएको थियो। अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको युक्रेनी विमान गत साता इरानमा दुर्घटनाग्रस्त भएको थियो। सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रुको निधन भएको छ। यसअघि इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा भेटिएको बताएका थिए। दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा नै क्षति भएको पाइएको जनाइएको थियो। यसअघि क्यानडा र युक्रेनले नै विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्वन्द्वको समय रहेकोले विमानको दुर्घटना हुनु शंकास्पद रहेको बताएको थियो।

त्यसै दिन इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेकोले विमानको दुर्घटना पनि यसैसँग सम्बन्धित रहेको हुनसक्ने भन्दै शंका गरिएको थियो।

त्यसैले, इरान आफैंले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रूपमा होस् भन्ने अपेक्षा राष्ट्रसंघले गरेको बताएको थियो। उता, शनिबारमात्रै इरानले नै उक्त विमानको दुर्घटनाको कारण क्षेप्यास्त्र नै भएको स्वीकार गरेको छ। सो विमान भूलवश दुर्घटना हुनपुगेको इरानी सेनाले शनिबार नै जानकारी गराएको हो।

इरानको विशेष सुरक्षा बल ‘इस्लामिक रिभोलुस्नरी गार्ड् कप्र्स (आइआरजिसी)’ले युक्रेनी विमानमा ‘भूलवश’ छोटो दूरीको हतियार प्रयोग गरी खसालेको स्वीकार गरेको छ। इरानमा भएको सो विमानको दुर्घटना इरानले इराकतर्फ हानिरहेको भनिएको क्षेप्यास्त्रका कारण भएको हुनसक्ने अनुमान सुरुमै पश्चिमी मुलुकले गरेका थिए।

संयुक्त राज्य अमेरिका, क्यानडा र बेलायतले गरेको सो दाबी इरानले अस्वीकार गरेपनि शनिबार भने विमानलाई चाहेर नभई भूलवश खसालिएको इरानले स्वीकार गरेको छ। इरान सरकारले शनिबार विज्ञप्ति प्रकाशन गरी औपचारिक रूपमा नै सो दुर्घटनाको कारण इरानी सेनाको क्षेप्यास्त्र भएको स्वीकार गरेको अधिकारीले जनाएका छन्।

प्रकाशित: २८ पुस २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App