७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष कुराकानी हुने

शाही जिम्मेवारी त्याग गर्ने घोषणा गरेका बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन। फाइल तस्बिर : एजेन्सी

लन्डन (बिबिसी)– बेलायती महारानी एलिजाबेथ र शाही जिम्मेवारी त्याग गर्ने घोषणा गरेका राजकुमार ह्यारीबीच सोमबार प्रत्यक्ष कुराकानी हुने भएको छ।

ड्युक अफ ससेक्स भनिने राजकुमार ह्यारी र उनकी पत्नी डचेस अफ ससिक्स भनिने मेगन मार्कलको भविष्यमा हुने भूमिकाबारे महारानी र राजकुमारबीच छलफल हुन लागेको बेलायती राजदरबार स्रोतलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

महारानीसँगको छलफलमा राजकुमार ह्यारी, ड्युक अफ क्याम्ब्रिज र वेल्सका राजकुमार सबै सहभागी हुने बकिङ्घम दरबारले जनाएको छ। दरबार स्रोतका अनुसार हाल क्यानडामा रहेकी मेगनले पनि फोनमार्फत् उक्त छलफलमा सहभागिता जनाउन सक्नेछिन्।

केही दिनअघि मात्रै राजकुमार ह्यारी र मेगनले शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका थिए। महारानी एलिजाबेथसहित राजदरबारका उच्च व्यक्तित्व र राजकुमार ह्यारीबीचको छलफलले तार्किक निष्कर्ष निकाल्छ भन्नेबारे भने ठ्याक्कै भन्न नसकिने बिबिसीले जनाएको छ। सोमबारको छलफलमा के विषयमा सहमति हुन्छ भन्ने विषय पनि पेचिलो रहेको बताइन्छ।

केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई सोमबारको छलफलले ‘अर्को चरण’मा पु-याउने आशा गरिएको छ। बिबिसीका अनुसार छलफलमा अझै ‘जटिल अवरोध’ पार गर्नुपर्ने अवस्था छ। राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ड्यूक र डचिस अफ ससिक्सको घोषणा पछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबार छलफल हुन लागेको हो।
राजकुमार ह्यारी र उनकी पत्नीको बेलायती राजपरिवारमा अब के भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा गएकी छन्। ह्यारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। बिदा मनाएर स्वदेश फर्किएपछि ह्यारी दम्पतीले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै शाही जिम्मेवारी त्याग गरी आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका थिए।

राजपरिवार ‘आहत’
ह्यारी र मेगनको घोषणाका कारण राजपरिवार ‘आहत’ भएको बताइएको छ। बकिङ्घम दरबारस्थित विभिन्न स्रोतले बताएअनुसार शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्त हुने काम गर्ने भन्नेबारको विज्ञप्तिको विषयमा राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन्। ह्यारी दम्पतीले बेलायत र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए। ‘हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौं। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौं,’ गत साता सार्वजनिक गरिएको ह्यारी दम्पतीको विज्ञप्तिमा उल्लेख छ।

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै बेलायत र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्। ‘यो भौगोलिक सन्तुलनले हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन हामीलाई समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गरी नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ मिल्नेछ,’ विज्ञप्तिमा भनिएको थियो।

ह्यारी र मेगनको सम्बन्ध
राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको भन्ने जानकारी ८ नोभेम्बर २०१६ मा केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गर्दै गराएको थियो। त्यसपछि २८ नोभेम्बर २०१७ मा ह्यारी र मेगन विवाहका लागि तयार भएको जानकारी सार्वजनिक गरिएको थियो। १५ डिसेन्बर २०१७ मा केन्सिङ्टन दरबारले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको बताएको थियो। १९ मे २०१८ मा ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान गरिएको थियो। १५ अक्टोबर २०१८ मा केन्सिङ्टन दरबारद्वारा मेगन गर्भवती भएको जानकारी गराइएको थियो। ह्यारी दम्पतीलाई ६ मे २०१९ मा पुत्रलाभ भएको थियो।

प्रकाशित: २८ पुस २०७६ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App