८ वैशाख २०८१ शनिबार
राजनीति

डिपोमा कुहिएको चामल छानबिन गर्न माग

जुम्ला – हुम्लाको अदानचुली गाउँपालिकास्थित नेपाल खाद्य संस्थान श्रीनगर डिपोमा कुहिएको चामल वितरण भएपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरुले कुहिएको चामल डिपोमा पुगेको विषयमा छानबिन गरी दोषीलाई कारबाही माग गरेका छन्। श्रीनगर डिपोबाट खरिद गरी ल्याइएका ३० किलोग्रामका दुई बोरा चामल खानै नमिल्ने गरी कुहिएको अदानचुली–२ का हर्क भण्डारीले बताए। ‘घरमा खाद्यान्न अभाव भएपछि डिपोबाट चामल ल्याएँ,‘ उनले भने, ‘बेलुका भात पकाउन भन्दै चामलको बोरा खोल्दा त पूरै चामल ढुसी परेर खानै नहुने। चामल डिपोमै लगेर फिर्ता गर्न बाध्य भएँ।’

सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै अदानचुलीको श्रीनगर डिपोमा तीन सय क्विन्टल चामल पुगेको थियो। त्यसमध्ये स्थानीयलाई वितरण गरिएको सय क्विन्टल चामल कुहिएको भेटिएको हो। अनुदानको चामल उपलब्ध गराउने नाममा सरकारले कुहिएको चामल वितरण गरेको आरोप स्थानीयले लगाएका छन्। चामल सरकारको ढुवानी अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आपूर्ति गरेको हो।

चामल लगेकामध्ये चारजनाले बोरा नै फिर्ता गरेको नेपाल डिपो प्रमुख चन्द्रबहादुर पुनले बताए। चामल कुहिनुमा ढुवानीको जिम्मा लिएका ठेकेदारको कमजोरी हुन सक्छ’, उनले भने ‘डिपोमा चामल आउनेबित्तिकै वितरण गरिएको थियो।’ ठेकेदारले भने आफ्ना कारण चामल नकुहिएको दाबी गरेका छन्। ‘चामल कुहिने अवस्था नेपाल खाद्य संस्थानकै कारण आएको हो’, ठेकेदार नन्द महताराले भने, ‘चामल कुहिएको जिम्मेवारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिनुपर्छ।’ उनले कम्पनीको मार्तडी शाखाले दिएको चामल जस्ताको तस्तै श्रीनगर डिपोमा पु¥याएको दाबी गरे। उपभोक्ता संरक्षण ऐन २०७५ ले खान नमिल्ने खाद्यान्न बिक्रीवितरण गरे गराए ३ वर्षदेखि ५ वर्षसम्म जेल र ३ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फोडेरा डिपोबाट कुहिएको चामल बिक्रीवितरण हुँदा समस्या आएको बताउँछन्। उनले भने, ‘कुहिएको चामल डिपोसम्म ल्याउनु ठेकेदारको कमजोरी हो कि खाद्य व्यवस्था कार्यालयको भन्नेबारेमा अनुसन्धान हुँदैछ। कुहिएको चामल ल्याउने जोसुकै होस्, उम्किन पाउँदैन।’ यस विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न गाउँपालिकाले कर्णाली प्रदेशको खाद्य व्यवस्था कार्यालय र केन्द्रीय कार्यालयसँग माग गरेको छ। श्रीनगर डिपो हुम्ला सदरमुकामदेखि एक सय ७६ किलोमिटर टाढा पर्छ। यो डिपोमा वर्षमा १५ सयदेखि दुई हजार क्विन्टल चामल आउने गर्छ। यसअघि भने सद्दे चामल नै आउने गरेको थियो।

प्रकाशित: २८ पुस २०७६ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App