४ वैशाख २०८१ मंगलबार
समाज

आरोपितलाई कर्तव्य ज्यान मुद्दाको तयारी

ओमप्रकाश महतोको हत्या आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : नागरिक

धनुषा – प्रहरीले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) हत्याका आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका चारजनामाथि कर्तव्य ज्यान मुद्दामा आइतबार जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको छ।

श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न ओमप्रकाश अभियान चलाएका थिए। यसै खोलाको डिलमा अवैधानिक रुपमा सञ्चालित चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) को समेत उनले विरोध गरेका थिए। शुक्रबार बिहान औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी घाइते बनाई टिपरको चक्काले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार विपिनसहित चारजनाले ओमप्रकाशलाई नियन्त्रणमा लिएर दाहिने कोखमा ‘लिभर’ले घोची घाइते बनाएपछि टिपरले किचेर हत्या गरेको आरोपितले प्रहरीसमक्ष स्वीकार गरेका छन्। ‘ओमप्रकाशले आफ्नो धन्दामा धक्का पु-याएकाले उनको हत्या गरेको बयान विपिनले दिएका छन्’, एसपी बस्नेतले बताए। ना७प ६४१३ नम्बर टिपर ओमप्रकाशमाथि चढाइएको थियो। घटनाका मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन रहेको बस्नेतले बताए। हत्यामा सहयोगी भूमिकामा रहेका टिपर चालक महोतरी बर्दिबास–९ का ३७ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादवमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको एसपी बस्नेतले बताए।

औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी घाइते बनाई टिपरको चक्काले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय ढल्केबरको क्षेत्रमा भए पनि घटनाको गम्भीरतालाई ध्यानमा राखेर प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले जिल्ला प्रहरी कार्यालयलाई मुद्दा चलाउन निर्देशन दिएको थियो। डिआइजी कार्कीले नागरिकसँग भने, ‘घटनाको गम्भीरतालाई ध्यानमा राखेर सूक्ष्म अनुसन्धान तथा कारबाही हुन्छ।’ खोलामा टिपरले किचेर मान्छे मार्नु ख्यालठट्टा होइन’, उनले भने, ‘सम्मानित अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपाई अनुसन्धान अघि बढाइएको छ।’ मृतक परिवारले शनिबार नै कर्तव्य जयान मुद्दामा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएका छन्।

यसैबीच इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको छ। शुक्रबार घटनास्थलको मुचुल्काबिना नै ओमप्रकाशको शव उठाएपछि पीडित परिवारले उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग राख्दै आएका थिए। मृतक ओमप्रकाशकी बहिनी लक्ष्मीले प्रहरी निरीक्षक यादवसमेत क्रसर सञ्चालकसँग मिलेको आरोप लगाएकी छन्। प्रहरी उपरीक्षक बस्नेतले यादवलाई जिल्ला तानिएको पुष्टि गरे। उनले भने, ‘उहाँलाई आन्तरिक व्यवस्थापनका लागि जिल्लामा ल्याइएको हो, कारबाही नै भनिहाल्न मिल्दैन।’

हत्याको विरोधमा आइतबार ढल्केबरमा स्थानीयले श्रद्धाञ्जली -याली निकालेका छन्। -यालीमा सहभागीले मृतक महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गरेका थिए। उता राजधानी काठमाडौंमा समेत ओमप्रकाशको सम्झनामा शनिबार साँझ दीप प्रज्वलन गर्दै वातावरण संरक्षण अभियन्ताले उनलाई पर्यावरण सहिद घोषणा गर्न माग गरेका छन्।

घनिष्ठ साथी नै षड्यन्त्रकारी
शुक्रबार बिहान औरही खोलामा अवैध उत्खनन भइरहेको थाहा पाएपछि ओमप्रकाश घनिष्ठ साथी रोशन यादवसँगै खोलातर्फ गएका थिए। उनैले ओमप्रकाशलाई पीडकलाई जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रोशनले ओमप्रकाशलाई क्रसर सञ्चालक विपिनको जिम्मा लगाउनुका साथै हत्यामा समेत सहयोगी बनेको प्रहरीले जनाएको छ। ‘नजिककै साथीले छल गर्दा दाजु माफियाबाट मारिए’, ओमप्रकाशकी बहिनी लक्ष्मीले भनिन्।

प्रकाशित: २८ पुस २०७६ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App