coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाभित्रको संघर्षले प्रतिनिधिसभा बन्धक : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ। दलगत स्वार्थका कारण प्रतिनिधिसभालाई बन्धक बनाउनु आपत्तिजनक भएको भन्दै कांग्रेसले बैठक सञ्चालन गर्न माग गरेको हो। ‘प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको विषय दुःखद छ। नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसद्प्रतिको गैरजम्मेवार व्यवहारका रूपमा लिएको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा लेखिएको छ।

संसदीय शासन प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने स्मरण गराउँदै कांग्रेसले तीन महिनादेखि सो पद रिक्त हुँदा पनि सरकारले चयन प्रक्रिया अवरुद्ध गरेको आरोप लगाएको छ। सत्तारुढ दलभित्रको आन्तरिक विवादको छाया प्रतिनिधिसभामा परेको कांग्रेसको ठहर छ। विज्ञप्तिमा उल्लेख छ, ‘सभामुख चयन गर्न प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादले प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ।’

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको एक महिना बित्न लागदासमेत प्रतिनिधिसभा बैठक सत्तापक्षका कारण अवरुद्ध हुनु गम्भीर विषय भएको कांग्रेसले जनाएको छ। दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिँदै विज्ञप्तिमा लेखिएको छ, ‘तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँछौं।’ सत्तारुढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने टुंगो लाग्न नसक्दा सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित गरिँदैआएको छ।

प्रकाशित: २८ पुस २०७६ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App