१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सात जिल्ला क्वाटर फाइनलमा

समूह चरणमा भक्तपुरसँग खेल्दै क्वाटर फाइनलमा स्थान बनाएको सिन्धुपाल्चोक (निलो) । तस्बिर:ध्रुव/नागरिक

सिन्धुपाल्चोक- जिल्लाको भलिबल खेल इतिहासमा सबैभन्दा बढी नगद राशी पुरस्कार भएको बाग्मती प्रदेश स्तरीय प्रथम भदौरे गणेश कपको अन्तिम आठमा सात जिल्लाले स्थान सुरक्षित गरेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा भएको समूह चरणको खेल जित्दै नुवाकोट, रामेछाप, धादिङ, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक प्रतियोगिताको क्वाटर फाइलनमा प्रवेश गरेका हुन्। ललितपुर र धादिङ एक खेल अगावै अघिल्लो चरण प्रवेश गर्दा एकै समूहमा रहेका सिन्धुपाल्चोक र मकवानपुर क्रमश : बिजेता र उपबिजेता बनेर अघि बढेका हुन्।

सोमबार सिन्धुली, काभ्रे, धादिङ र ललितपुरबीच हुने समूह चरणको अन्तिम खेलपछि क्वाटर फाइलन समिकरण पूरा हुनेछ। सिन्धुली र काभ्रेमध्ये एक जिल्लाले अन्तिम आठमा स्थान बनाउने छन्। समूहमा दुईटा मात्र जिल्ला रहेकाले नुवाकोट बिजेता र रामेछापले उपबिजेताको रुपमा अघिल्लो चरणमा स्थान बनाए। आइतबार भएको खेलमा नुवाकोटले रामेछापलाई २५–२१ र २५–२३ को सोझो सेटमा हरायो। निकै नै प्रतिस्पर्धात्मक खेलमा नुवाकोटका आयुष खड्काले म्यान अफ द म्याच प्रदर्शन गरे।

समूह चरणको अर्को खेलमा धादिङले दोलखालाई २–० को सोझो सटेमा परिाजित गर्‍यो। मनोज श्रेष्ठको म्यान अफ द म्याच प्रदर्शन प्रेरित धादिङले २५–१९ र २५–१७ को जित निकाल्यो। १६–२५ र १५–२५ को सोझो सेटमा काभ्रेलाई पाखा लगाउँदै चितवन अघि बढेको हो। चितवनका सनोज चौधरी म्यान अफ द म्याच घोषित भए। लगातार जित निकाल्ने क्रममा आफ्नो पहिलो खेलमा चितवनले सिन्धुलीलाई हराएको थियो।

क्वाटर फाइनलमा स्थान पक्का गर्ने क्रममा सिन्धुपाल्चोकले मकवानपुरलाई २५–९ र २५–१६ को सोझो सेटले पराजित गर्‍यो। एक पक्षीय खेलमा सिन्धुका रमेश भट्टराईले म्यान अफ द म्याच प्रदर्शन गरेका थिए। यो समूहको भक्तपुर समूह चरणका दुबै खेल हार्दै घर फर्केपछि उपविजेता बन्दै मकवानपुर अघि बढ्न सफल भयो। समूहमा मकवानपुरले भक्तपुरलाई पराजित गरेको थियो। लगातार दुई खेल खेल्ने क्रममा यसअघि सरोज थापाको म्यान अफ द म्याच प्रदर्शन प्रेरित सिन्धुपाल्चोकले भक्तपुरलाई २–० को सेटमा सहजै हराएको थियो।

म्यान अफ द म्याच घोषित खेलाडीले ट्रफी पाए। प्रदेशका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा दोलखा घर फर्कने दोस्रो टोली बनेको छ। समूह चरणका खेल सकिएपछि सोमबारै सेमिफाइलन प्रवेशका लागि क्वाटर फाइलनका खेल सुरु हुने आयोजक भदौरे गणेश सामुदायिक संस्थाले जनाएको छ।

नेपाने युथ क्लव सहआयोजक रहेको प्रतियोगिताको बिजेताले दुई लाख दुई हजार दुई र उपविजेताले एक लाख एक हजार एक रुपैयाँ नगद पुरस्कार हात पर्ने छन्। प्रतियोगिताको उपाधि भिडन्त बुधबार हुने छ।

 

प्रकाशित: २७ पुस २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App