७ वैशाख २०८१ शुक्रबार
खेल

सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश

इटहरी- सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारि दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। आइतबारको खेलमा गण्डकी प्रदेशविरुद्ध ९ विकेटको सहज जितको साथ सुदूरपश्चिम समूह ‘डी’ को विजेताको रुपमा सेमीफाइनलको यात्रा सुरक्षित गरेको हो।

अहिलेसम्म सेमिफाइनलमा समुह ’ए’ बाट त्रिभुवन आर्मी क्लब, समुह ’बि’ बाट नेपाल पुलिस क्लब, समुह ’सी’ बाट प्रदेश नं.३ पुगि सकेका छन्। सुदूरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १ विकेट गुमाएर १०.२ ओभरमा पूरा गर्‍यो। सुदूरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुण ऐरीले अविजित १० रन बनाए। गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा ६४ रनमै सबै विकेट गुमाएको थियो। गण्डकीलाई सानो योगफलमा सिमित गर्न सुदूरपश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए। लामाले अघिल्लो खेलमा मलेसियाविरुद्ध पनि ४ विकेट लिएका थिए। ७ विकेट हात पार्ने क्रममा लामाले ९.३ ओभर बलिङ गर्दै २ मेडन ओभरसहित १४ रन मात्र खर्चिए। यस्तै अफ स्पिनर शेर मल्लले २ तथा तीब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए।

गण्डकी प्रदेशको लागि ओपनिङ ब्याटिङ गरेका किशोर महतोले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।  खेलको प्लेयर अफ दि म्याच बिनोद लामा चुनिए। प्रतियोगिता अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नं. ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: २७ पुस २०७६ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App