coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देशभर लोडसेडिङ अन्त्य हुन्छ: प्रधानमन्त्री दाहाल

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहालले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन्। शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको बताए। उनले भने, 'काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ। देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं । हामी छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेका छौं । विश्वास छ, यसमा सरकार सफल हुन्छ।’
ठीक मान्छेलाई ठीक जिम्मा दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकिएको प्रधानमन्त्रीले बताए।
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणमा म आफैं दौडिएको बताउँदै उनले भने, 'मेरो निरीक्षणपछि कामहरु रफ्तारमा अघि बढेका छन्। सरकारले समयभन्दा अघि नै गुणस्तरीय काम गर्ने कर्मचारी र आयोजनाहरुलाई पुरस्कृत गर्नेछ।'
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले ‘नेपालको पानी, जनताको लगानी’को अवधारणा अघि सारेको बताए।
उद्घाटनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रचण्ड नेतृत्वको सरकार जनप्रिय कामका लागि क्रियाशील भएको दावी गरे।
उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले विगतमा काठमाडौंको सडक फराकिलो बनाएर तत्कालिन माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकारले लोकप्रियता हासिल गरेको र अहिले लोडसेडिङ अन्त्य गरेर अर्को लोकप्रियता हासिल गरेको भन्दै कालिका हाइड्रो लोडसेडिङ अन्त्यका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे। माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ले लोडसेडिङ अन्त्य गर्ने अभियानमा कालिका हाइड्रोले महत्वपूर्ण योगदान गरेको बताए।
कालिका पावर कम्पनि लिमिटेडले उत्पादन गरेको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाबाट ६ मेघावाट विद्युत् उत्पादन हुनेछ। २०६३ पौष ९ गते विद्युत् उत्पादनका लागि अनुमति पाएको कालिका पावर कम्पनिले १ अरब ३० करोड लागतमा आयोजना सम्पन्न गरेको र ग्लोबल आइएममी बैंकले मूख्य लगानी गरेको कालिका पावर कम्पनिका निर्देशक निकोलस पाण्डेले जानकारी दिए।

प्रकाशित: ८ पुस २०७३ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App