१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जसले मानव जातिबारे बुझ्न सघाए

सुप्रित सैनी

चाल्र्स डार्बिन, अल्फ्रेड वालेस र विलियम बेटसनले कसरी एउटा बेग्लै सिद्धान्त प्रतिपादन गरे ?
यी तीनजना बेलायतीहरुको कथा हो, जसले मानिसको सोचमा ठूलो परिवर्तन ल्याइदिए । तीमध्ये एक चाल्र्स डार्बिनको नाम त तपाईंले सुन्नु भएको नै होला तर अन्य दुईजनाको नाम भने डार्बिनको नामसँगै ओझेल परेर गए । यहाँ डेढ सय वर्षअघिको त्यो पुरानो कथा पुनः दोहोर्‍याउन चाहन्छु ।
सुरु गरौँ, १८४० को दशकमा अल्फ्रेड वालेस र विलियम वेट्सननामक दुईजना साथीबाट । बेलायती यी दुई साथीको एउटै धुन थियो, एउटा प्रश्नको उत्तर खोज्ने धुन । त्यो प्रश्न थियो, प्रकृतिका करोडौँ प्रकारका जीवजन्तु छन् । ती सबैको मुहान कहाँ हो ? ती कहाँबाट आए होलान् ?

त्यो बेलाको संसार अलि बेग्लै थियो । सामान्य ज्ञान त यही थियो कि जीवजन्तु सबै ईश्वरले नै बनाएका थिए र तिनले यो धर्तीमा तिनलाई हुर्कन छाडिदिए । यी जीवजन्तु अहिलेकै स्वरुपमा थिए कि अन्य रुपमा थिए ? यसबारे वालेस र बेटसनले धेरै माथापच्ची गरेका थिए । उसो भए यो प्रश्नको जवाफ टाढाको बस्तीमा खोज्न किन नजाने ? त्यसका लागि उनीहरु दक्षिण अमेरिकी महाद्विप जाने निर्णय गरे र त्यहाँको जंगलमा बसेर यसको जवाफ खोज्ने भए ।

१९ औँ शताब्दीमा विज्ञानमै जीवन समर्पित गर्ने धनीमानीको शोख थियो । एउटा सामान्य मध्यमवर्गीय मानिसका लागि यस्तो सोच्नु पनि गाह्रो थियो तर वालेस त्यस्ता व्यक्ति थिएनन् । उनी कुनै खास धनी मानिस थिएनन् ।

आफ्नो वैज्ञानिक खोजका दौरान दुर्लभ चिज खोज्नु, तिनलाई संग्रहालय वा धनीमानीलाई बेच्नुलाई आफ्नो पेशा बनाएका थिए र यसैबाट उनले आफ्नो विज्ञानको शोख पूरा गर्थे । तर उनको दक्षिण अमेरिकाको भ्रमणले भने खासै परिणाम ल्याउन सकेन ।

दुवै जना साथीले केही वर्ष सँगै काम गरे र त्यसपछि शायद आपसी मतभेदका कारण बेग्लाबेग्लै काम गर्न सहमत भए । बेटसन त्यहाँ लामो समयसम्म बसे तर वालेस भने सन् १८५२ मा बेलायत फर्कन पानीजहाज चढे ।

आफूले दक्षिण अमेरिकामा भेला पारेका हजारौँ नमुनाका साथ जब उनी जहाजमा चढे, महासागरको बीचमा आगलागीमा परेर ती सारा चिज उनले गुमाउन पुगे । उनको जीवन बच्यो, त्यो नै ठूलो उपलब्धि उनले मान्नुपर्‍यो ।

वर्षौंको मिहिनेत खेर गएको थियो तर ज्यान त जसरी भए पनि बचाउनु पर्‍यो । तसर्थ, उनले ठूलो जहाजमा रहेको सानो नाउमा नजिकैको द्विपमा शरण लिए । गुमेका सामग्रीप्रति विक्षिप्त उनलाई १० दिनपछि जहाजले उद्धार गर्‍यो । यसपछि वालेसले त निर्णय नै गरे– म जीवनभर पानीजहाजबाट यात्रा गर्दिनँ ।

तर मानिस पनि अनौठै प्राणी हो । ऊ जिद्दी छ, हठी छ र तुरुन्तै पुराना कुरा बिर्सन तयार पनि हुन्छ । एक वर्ष पनि भएको थिएन, वालेसले एउटा प्रस्ताव पाए । यस पटकको प्रस्ताव चाहिँ उनले अस्ट्रेलिया र एसियाको बीचको द्विपमा बसेर विभिन्न जीवका नमुनाहरु खोज्नु थियो र तिनलाई बेलायत पुर्‍याउनु थियो । यो प्रस्ताव पाउनेबित्तिकै उनीभित्रको वैज्ञानिक मन तुल्बुलिन थाल्यो र उनी त्यसका लागि तयार भए ।

उनी तुल्बुलिनुको अर्को कारण चाहिँ पुरानै प्रश्नमा पुनः काम गर्ने सुनौलो अवसर थियो । यस पटक नयाँ द्विपमा जानुभन्दा अघि बेलायतमा पहिल्यै नाम कमाइसकेका चर्चित प्रकृतिवादी चाल्र्स डार्बिनसँग भेट्न चाहे ।

उनले डार्बिनसँग भेटेर एउटा यात्रामा जान लागेको र उनले आफूले जीवजन्तुको फरक अवस्था किन हुन्छ त्यसबारे अध्ययन गर्न चाहेको बताए । डार्बिन ती युवकबाट ज्यादै प्रभावित भए । उनले डार्बिनलाई भने, ‘म जीव बन्ने प्रक्रियाका बारेमा अध्ययन गर्न चाहन्छु । बेलाबेलामा मैले गरेको खोजमा तपाईं टिप्पणी गरिदिनु न ।’
उनको प्रस्तावलाई डार्बिनले स्वीकृति दिए ।

यसपछि खुसीखुसी वालेस द्विपहरुको समूहमा अध्ययनका लागि गए । उनलाई जीवजन्तु कहाँबाट आउँछन् भन्ने थाहा थिएन । यो प्रश्नको जवाफ डार्बिनले डेढ दशकअघि नै फेला पारिसकेका थिए तर त्यतिञ्जेल उनले संसारलाई सुनाएका थिएनन् । उनले लेखेको जीव विकासको क्रमका बारेका अनेकन आलेख छरपष्ट थिए ।

डार्बिनको जन्म सन् १८०९ मा भएको थियो । चर्चको पादरी र चिकित्सक बन्ने उनको प्रयास सफल भएको थिएन । उनी त्यत्तिकै निराश जीवन बिताइरहेका बेला सन् १८३१ मा उनलाई ‘बिगल’ नामक जहाजमा बस्न र संसार डुल्न प्रस्ताव आयो । उनी यसका लागि तुरुन्त राजी भए । र, यही उनको स्वीकारोक्तिले जीव विज्ञानको इतिहास परिवर्तन भयो ।

बिगल जहाजका कप्तान रोबर्ट फिट्जरायलाई एकजना साथी चाहिएको थियो र अलि जिज्ञासु मन चाहिएको थियो । यताउति सोध्दा रोबर्ट फिट्जरायले डार्बिनको नाम सुने । त्यसो त परिवारले डार्बिनलाई यस्तो खतरनाक यात्रामा जान स्वीकृति दिएको थिएन तर उनी झगडा गरेरै यात्राका लागि निस्के ।

छ महिनाभित्रै यात्रा पूरा गर्ने लक्ष्य राखिएको बिगलयात्रा पाँच वर्षसम्म जारी रह्यो । यी पाँच वर्षमा दक्षिण अमेरिका, अस्ट्रेलियाजस्ता नछोइएका कयौँ ठाउँका कयौँ जीवका बारेमा उनले अध्ययन गरे ।
बेलायत फर्किएपछि उनलाई लाग्यो, मैले जीवनकालमा जे देखेँ, त्यो पृथ्वीले उनलाई रहस्य उजागर गर्न दिएको अनुपम अवसर हो ।

यात्राका क्रममा महासागरमा डार्बिनले अनौठा र अदभूत अनि सुन्दर जीवजनावरहरु देखे । तर उनले के बुझ्न सकेनन् भने ईश्वरले यति सुन्दर रचना बनाएर समुद्रमा किन हालिदिए ? किन जमिनमा छाडिदिएनन् ? समुद्रमा तिनको सराहना कसले पो गर्छ र ?

उनको यात्रा रोकिएपछिका कयौँ किलोमिटरसम्म एक्लै घुम्ने, देखिएका जनावरहरुको अध्ययन गर्ने गर्थे । जहाँ जान्थे, त्यहाँ फेला परेका जन्तु अन्य ठाउँमा फेला परेका जन्तुसँग किन फरक छ भनी विश्लेषण गर्थे । त्यहाँ उनले ढुंगामा विभिन्न जीवाश्म फेला परे । ती जीवाश्म र त्यहाँका जनावरबीच तादाम्य देखिन्थ्यो ।

तिनको आकार बेग्लै भए पनि शरीरको ढाँचा भने उस्तै हुन्थ्यो । अध्ययन गर्दै गर्दा उनलाई महसुस भयो, अहिले देखिएका जीवहरुभन्दा लाखौँ वर्ष पहिलेका जीवसँग कुनै न कुनै सम्बन्ध थियो । यो सम्बन्ध थाहा पाएपछि उनी स्तब्ध भए ।

उनी घुमेका सबैभन्दा महत्वपूर्ण ठाउँ भनेको दक्षिण अमेरिकाको पश्चिमी तट थिए र खासगरी गालागापोस द्विप थियो । त्यहाँ पुगेर डार्बिनले देखे– हरेक द्विपका चराहरु लगभग एकै किसिमका देखिन्छन् तर तिनमा सामान्य फरक पनि हुन्छन् । कुनै द्विपका चराको अनुहार चुच्चो र लामो हुन्थ्यो त कुनैको पातलो र छोटो ।

कुनै द्विपमा रहेका चराहरुको छातिको रङ एकै किसिमको हुन्थ्यो । त्यहाँका स्थानीयहरुले कछुवामा बनेको विशेष किसिमको डिजाइन देखेर ती कछुवा कुन द्विपका हुन् भनी बताइदिन्थे । अर्थात्, हरेक द्विपमा बस्ने कछुवाको बेग्लाबेग्लै डिजाइन !

यस्ता कयौँ फरकपना देखेपछि र ध्यानपूर्वक अध्ययन गरेपछि त्यसैमा घोत्लिन थाले, आखिर यस्तो परिवर्तन किन आउँछ ? त्यसपछि बिस्तारैबिस्तारै उनमा केही विचार स्थापित हुन थाल्यो ।
जुन द्विपमा खानका लागि बउि पाइन्थ्यो, त्यहाँका चराहरुको थुतुनो छोटो र कडा थियो । जहाँका चराहरुका लागि फूलभित्र खाना खोज्नु पथ्र्यो, त्यहाँका लामो चुच्चो भएको चराहरु पाइन्थे ।

यस हिसाबले द्विपमा ती चराहरुको आवश्यकताअनुसार शरीरमा परिवर्तन आएको थियो । उनले सोचे, केही त पक्कै भएको हुनुपर्छ कि सबै द्विप नजिकै थिए होलान् र त्यहाँ एकै किसिमका चराहरु बस्थे होलान् । समयसँगै जब द्विप छुट्टिदै जान थाले र खानाको आवश्यकताअनुसार उनीहरुको शरीरमा पनि परिवर्तन आउन थाल्यो । जस्तो कि, जुन द्विपमा खानका लागि बीउ सहजै पाइन्थे, त्यहाँका चराको सोहीअनुसारको चुच्चो तयार भयो, जुन ठाउँमा बीउ खोज्न मिहिनेत गर्नुपथ्र्यो, तिनको चुच्चो तिखारियो ।

जहाँ बीउ फेला पर्थे, त्यहाँका चराहरुको चुच्चो अन्यको तुलनामा सशक्त भयो होला । मजबुत चुच्चो हुनेहरु बलिया पनि हुने भए । तिनले सहजै खाना पनि खान सक्ने भए । जुन चराको चुच्चो कमजोर भयो, ती भोकले मरे होलान् । यस कारण सशक्त थुतुनो भएका चराले आउँदो पिँढीलाई पनि आफ्नोजस्तै सशक्त थुतुनो भएको सन्तान जन्माए होला र त्यसपछिका चुच्चे चराहरुको नियमित रुपमा जन्मिन थाले होलान् ।

यस्तो क्रम जब हजारौँ वर्षसम्म चल्यो र चलिरह्यो, बिस्तारै कमजोर थुतुनो भएका चराहरु विलुप्त भए । यही कारणले हरेक द्विपमा आफू अनुकूलका चराहरु हुर्किए बढे र अन्य लुप्त भए । यो कुरा कुनै एउटा चराको मामिलामा मात्र लागू भएन, संसारका हरेक प्राणीको सन्दर्भमा लागू भयो होला ।
डार्बिनको यस किमिसको सोचलाई नै ‘थ्योरी अफ नेचुरल सेलेक्सन’ अर्थात् ‘प्राकृतिक चयनको सिद्धान्त’ भनियो । मूल रुपमा उनको यो विचार सन् १८३० को दशकको अन्त्यसम्म स्थापित भइसकेको थियो । उनले आफ्ना डायरीहरुमा यसबारे कयौँ कुरा लेखेका थिए ।

तर डार्बिनले आफ्नो यो विचार कसैसँग सुनाएनन् । आखिर उनले यी विचारलाई प्रकाशन गर्नुको साटो किन यस्तो गरे होलान् ? त्यो बेला यस्तो विचार निकै खतरनाक मानिन्थ्यो । यो त्यो बेलाको चर्चको उपदेश र सामान्यज्ञानको विरुद्ध थियो । त्यसैले यस्तो विचार जसले राख्थे, तिनीहरुमाथि अत्याचार हुने सम्भावना बलियो हुन्थ्यो ।

अर्को, डार्बिनले यसबारेमा एउटा बेग्लै ठूलो किताब लेखिरहेका थिए । सो किताबमा आफूले फेला पारेका अनेकन सबुत प्रमाण हालेर सबैले बुझ्ने भाषामा संसारलाई बताउने उनको चाहना थियो । यसका लागि उनलाई पर्याप्त समय चाहिएको थियो ।

तेस्रो कारण चाहिँ, डार्बिन आफ्नी पत्नीलाई अतिशय प्रेम गर्थे । उनकी पत्नी धार्मिक प्रवृत्तिकी थिइन् । आफ्ना निजी धारणाले पत्नीका धार्मिक विचारलाई ठेस पुर्‍याउन उनी चाहँदैन थिए ।
यसको परिणाम के भयो भने प्राकृतिक चयनको सिद्धान्तका बारेमा डार्बिन र उनका दुई जना साथीबाहेक अरु कसैलाई पनि थाहा थिएन ।

अर्कोतर्फ, वालेसले डार्बिनको खोज र जानकारीबाट अञ्जान रही त्यही काम दोहोर्‍याइरहेका थिए । डार्बिनले गालागापोस द्विपमा पुग्दा जस्ता विचारले ओतप्रोत भए, सोही किसिमको विचार वालेस एसियाली द्विपहरुमा पुग्दा आयो । वालेसलाई लाग्यो, ‘ओहो, यो संसार त क्रमिक विकासको उपहार पो रहेछ !’ खोजीका क्रममा जब उनी उत्तरको नजिक नजिक पुगे, उनलाई आफ्नो विचार सही-गलत के हो भन्ने बुझाइदिने मानिस चाहियो । यसका लागि उनले विश्वास गरेका एक मात्र व्यक्ति डार्बिन नै थिए ।

यसअघि पनि उनले अन्यलाई आफ्ना विचार लेखेर नपठाएका होइनन् तर कसैले पनि उनलाई गम्भीरतापूर्वक लिइदिएनन् । निराश भएर उनले डार्बिनलाई सम्झिए ।
डार्बिनलाई उनले आफ्नो मनमा लागेका कुरा, देखेका कुरा लेख्दै बेलायत पठाउन थाले र उत्तेजनापूर्वक डार्बिनको जवाफ पर्खन थाले ।

आफ्नै जस्तो खोज, आफ्नैजस्तो धारणा र उदाहरण वालेसले फेला पारेको देखेपछि डार्बिन छक्क मात्र परेनन्, स्तब्ध नै भए । उनलाई विश्वास नै लागेन, बेलायतबाट हजारौँ किलोमिटर टाढा रहेका वालेसले त्यही निष्कर्ष निकालेका थिए, जुन डार्बिनले धेरै वर्षअघि निकालेका थिए । यो देखेर डार्बिन आत्तिए । कयौँ वर्षको मिहिनेतको सारा श्रेय वालेस एक्लैले नलैजाऊन् ! यसका लागि के गर्ने त ? यसका लागि उनले आफ्ना नजिकका साथीहरुलाई बोलाए र वालेसको चिठ्ठी देखाए । चाल्र्स लयेल र जोसफ हुकर नामक यी दुई साथी प्राकृतिक संघर्ष र चयनको सिद्धान्तका बारेमा जान्दथे । दुवै लयेल र हुकर दुवैले चिठ्ठी पढिसकेपछि ढुक्क भए, समस्या गम्भीर छ ।

पछि वालेसले पनि थाहा पाए, यही कुरामा डार्बिन दुई दशकसम्म लागिपरेका रहेछन् । यसपछि दुवैबीच विवाद भयो । यस विवाद समाधानका लागि लयेल र हुकरले सुझाव दिए, ‘दुवै जनाले एउटा वैज्ञानिक सम्मेलन आयोजना गर्ने र एकै दिन आफ्ना अध्ययन निष्कर्ष सबैका सामुन्ने राख्ने ।’
यस कुरामा डार्बिन र वालेस राजी भए । सन् १८५९ मा दुवै जनाको अध्ययन निष्कर्ष पढियो । पढिएको दिन दुवै जना त्यहाँ उपस्थित थिएनन् ।

वालेस हजारौँ किमि टाढा आफ्नो अध्ययन जारी राखिरहेका थिए भने डार्बिनले भर्खरै ज्यान गुमाएकी छोरीको मृत्युको शोक मनाइरहेका थिए । अध्ययन निष्कर्ष पढिएको अर्को वर्ष डार्बिनको पुस्तक ‘अन द ओरिजिन अफ द स्पिसिज’ बजारमा ल्याए ।

यो पुस्तक छापिएको डेढ सय वर्ष पूरा भइसकेको छ तर पनि उत्तिकै रुचिका साथ यसलाई पढिन्छ ।
यस पुस्तकमा डार्बिनले विस्तारपूर्वक प्राकृतिक चयनको सिद्धान्त के हो भनी बताउँछन् । डार्बिनको सरल भाषाका कारण उनको पुस्तकलाई सबैले रुचाए । सर्वसाधारणले पनि रुचिपूर्वक पढे । त्यो बेलाको बेस्टसेलर पुस्तक बन्न पुग्यो यो । यो पुस्तक पढ्नका लागि जीव विज्ञानको विशेषज्ञ हुनु जरुरी थिएन । यही विशेषताले उनलाई चर्चामा ल्यायो ।

डार्बिन र वालेसको सिद्धान्तका मूल रुपमा तीन स्तम्भ थिए । पहिलो, विविधता । एकै क्षेत्रमा कुनै पनि रुप (जस्तो आँखा, कान आदि)को विविधता किन हुन्छ । भनाइको अर्थ, एउटै ठाउँका मानिसहरु पनि कोही होचा र कोही अग्ला किन हुन्छन् ?

दोस्रो, प्रतिस्पर्धा । हरेक क्षेत्रफलमा रहेको संशाधनले सीमित जनसंख्यालाई मात्र सम्हाल्न सक्छ । जनसंख्या बेहिसाब तरिकाले बढ्न थाल्यो भने सबै जना त्यहाँ अटाउने कुरा भएन । केहीले त ठाउँ छाड्नै पर्छ । जो बलिया छन्, तिनले ठाउँमा कब्जा जमाउँछन् र कमजोर हुनेहरुले ठाउँ छाड्छन् । त्यसैले जनसंख्याबीच हुने प्रतिस्पर्धाका कारण अर्को ठाउँ जन्मन्छ ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ । मानौँ, एउटा जंगलमा एक सयवटा बाघ छन् तर अब त्यहाँ थप दुई सयवटा डमरुहरु जन्मिए । तीमध्ये अब दुई सय नै बाँचेर हुर्कन सक्तैनन् । तिनीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो, चयन । प्रतिस्पर्धाका कारण दुई सयमध्ये सय वटा बाघ मात्र बच्नेछन् । जो बलियो छ, उनीहरुले ठाउँँ पाउँछन् । जो बलियो छैन, उनीहरु या त मारिने छन् या त त्यो ठाउँ छाडेर अन्तै जानुपर्नेछ ।
जब यस्तो हजारौँ वर्षसम्म अलग–अलग ठाउँमा अलग–अलग तरिकाले हुन थाल्यो, नयाँ जीवजन्तु बन्न थाले ।

डार्बिनको यो विचार जसै पुस्तकाकारमा आयो, उनले चर्को विरोध र आलोचना खेप्नुपर्‍यो । यस्तो अवस्थामा तेस्रो व्यक्तिको प्रवेशले यो सिद्धान्तलाई अझ बढी रोचक बनाइदियो ।

तपाईंलाई याद होला, जो वालेसका साथी थिए र दक्षिण अमेरिका गएका थिए, उनको नाम बेटसन थियो । उनी यत्रो घटना घटिसक्दा पनि दक्षिण अमेरिकामा नै बसिरहेका थिए । त्यसो त डार्बिनको सिद्धान्त उनले त्यही नपढेका होइनन्, त्यसबारे थाहा नपाएका होइनन् बरु उल्टै उत्साहित भए । उनले डार्बिनको सिद्धान्तलाई नयाँ उचाइमा पुर्‍याउन ठूलो योगदान दिए । उनले त्यहीँबाट अनेकन किसिमका सबुतप्रमाणहरु डार्बिनको सिद्धान्तको पक्षमा पठाउन थाले ।

बेटसनले पठाएका कयौँ प्रमाणमध्ये एउटा ज्यादै उल्लेखनीय मानिन्छ । बेटसनले देखे, दक्षिण अमेरिकी जंगलमा कयौँ प्रकारका पुतलीहरु छन् । तीमध्ये केही विषालु छन् त केही विषरहित । पछि वाटसनले के पाए भने भने, विषालु पुतलीलाई जनावर तथा कीटहरुले खाएनन् तर विषरहित पुतली भने अरुको आहारा बने ।

यसबीच केही रमाइलो घटना उनले देखे, जुन पुतली विषालु थिएनन्, तिनको नयाँ सन्तान विषालुझैँ जन्मन थाले । नवजात पुतलीको रुपरङ विषालुजस्तै हुन थालेपछि तिनको ज्यान जोगिन थालिहाल्यो । यसरी रुपरङका कारण विषालु र विषरहित पुतली बच्न थाले तर अन्य रुपरङका पुतलीहरु भने मारिन थाले ।

जब बेटसनले यो किस्सा लेखेर डार्बिनलाई पठाए, डार्बिनले भने, ‘प्राकृतिक चयनको सिद्धान्तलाई सरल तरिकाले बुझाउने यो जत्तिको उम्दा उदाहरण मैले कतै देखिनँ ।’ बेटसन दक्षिण अमेरिकामा निकै वर्षसम्म बसे । फर्केर आउँदा उनले करिब दस हजार जीव र तिनका बारेमा विवरण लेखेका थिए । तीमध्ये कतिपय त बेलायतीहरुले कहिल्यै देखेका त के सोचेका पनि थिएनन् ।

उता वालेसले सधैँ यो स्वीकार गरे कि भलै डार्बिन र उनको पर्चा एकै दिन संसारसामु पस्किएको होस्, निष्कर्ष त डार्बिनभन्दा पहिले म नै पुगेको थिएँ । त्यसैले यो सिद्धान्तको आविष्कारक मलाई नै मानिनु पर्छ ।

वैज्ञानिक जीवनमा यस्ता निकै कम मानिस हुन्छन् जब एक वैज्ञानिकले अर्को वैज्ञानिकलाई खुला हृदयले श्रेय दिएका होऊन् । पछि वालेसले डार्बिनको कामको प्रशंसा गर्दै पुस्तक लेखे र त्यो उनको पहिलो र अन्तिम पुस्तक थियो । पुस्तकको नाम थियो– डार्बिनिज्म ।

डार्बिन यस किसिमको सम्मान पाएर निश्चय नै खुसी हुन्थे होलान् तर किताब बजारमा आउनु केही वर्षअघि नै उनको निधन हुन पुग्यो । हुन त डार्बिनलाई थाहा थियो, केही यस्तो जरुर छ जसले आमाबाको लक्षण तिनका सन्तानमा आउँछ र कस्तो किसिमले र किन भन्नेबारे जान्दैनथे ।
यसको निकैपछि मात्र जुन कुराको खोज डार्बिनलाई थियो, त्यो खोज अरुले नै गर्‍यो । जसलाई ‘डिएनए’ भनी चिनिन्छ । पछि डिएनएका बारेमा जेम्स वाट्सनले पत्ता लगाएपछि यसबारे अझ गहिरो जानकारी प्राप्त हुन थाल्यो ।

त्यसअघि नै अस्ट्रियाका ग्रेगर मेन्डेलले मटरको बिरुवाका साथ १८६० को दशकमा कयौँ परीक्षण गरेका थिए । उनले निष्कर्षमा भनेका थिए, ‘आमा–बाको लक्षण तिनका सन्तानसम्म कसरी पुग्यो, त्यसको गणित मैले बुझेँ ।’ तर उनले पनि अचुक तरिकाले खास के कुरा हो भन्ने व्याख्या गर्न सकेका थिएनन् । उनले पनि त्यसबारे ठ्याक्कै भन्न नसक्दा प्राकृतिक चयनको सिद्धान्तलाई सहारा दिन सकेनन् र डार्बिनले झेलेको आलोचनालाई मत्थर पार्न सकेनन् ।

डार्बिनले आफ्नो जीवनकालमा पनि मेंडेलको निष्कर्ष पढ्न पाएनन् । मेंडेल अंग्रेजीमा लेख्दैनथे र उनको काम गणितमा बढी थियो । उनले पत्ता लगाएका कुरा गणितीय अल्झोमै अल्झिरह्यो र लुप्तजस्तै भयो ।

सन् १९०० ताका मेंडेलको निष्कर्ष अकस्मात प्रकाशमा आउन थाल्यो र उनको महत्ता वैज्ञानिक जगतले बुझ्न थाल्यो । उनले दशकौँ पहिले यत्ति महत्वपूर्ण खोज गरेका रहेछन् भनी बुझे ।
दुर्भाग्य, त्यो बेला पनि मेंडेल जीवित थिएनन् । त्यो बेलासम्म प्राकृतिक चयनको प्रक्रिया निकै सुस्त हुन्छ र यसमा हजारौँ वर्ष लाग्छ भन्ने सोचिन्थ्यो तर त्यो होइन भन्ने मेंडेलले त्यतिबेला नै पत्ता लगाएका थिए ।

यस कुराको सबैभन्दा महत्वपूर्ण प्रमाण थियो, जीवाणुको एन्टिबायोटिकप्रतिको प्रतिरोध । जब बीसाैँ शताब्दीको सुरुवातमा एन्टिबायोटिक आविष्कार भयो, सबैले अब जीवाणुमार्फत हुने रोगको अन्त्य भयो भन्ने सोचेका थिए तर केही वर्षभित्रै जीवाणुहरुले एन्टिबायोटिकसँग जुझ्न सिकिसकेका थिए । यतिबेला केही वर्षमै एन्टिबायोटिकभन्दा शक्तिशाली जीवाणु जन्मिएका अनेकन प्रमाण फेला परिसकेका छन् । यसको मूल कारण डार्बिन र वालेसको प्राकृतिक चयनको सिद्धान्त नै हो ।

सुरुमा जुन जीवाणु एन्टिबायोटिकले मारिए भनेर हामी मख्ख परिरहेका थियौँ, तिनको प्रजननका बेला जन्मिएका नयाँ जीवाणुले आफूभन्दा फरक किसिमका सन्तान जन्माउन थाले, जो ती एन्टिबायोटिकसँग जुझ्न सक्थे ।

अब जो नयाँ किसिमका जीवाणुसँग जुझ्न सक्तैनन् र तीभन्दा शक्तिशाली एन्टिबायोटिक औषधि लिँदैनन्, तिनीहरु समाप्त हुँदै जानेछन् । यो प्राकृतिक चयनको सिद्धान्तको उदाहरण हो, जुन हामीले यतिबेला भोग्दै आइरहेका छौँ ।

डार्बिन र वालेसपछिका यी ढेस सय वर्षमा जीवन विज्ञानले निकै प्रगति गरिसकेको छ र हामीले यसबीचमा कयौँ फरकहरु र नयाँ विशेषताहरु पत्ता लगाइसकेका छौँ, तिनलाई हामीले डार्बिन र वालेसलाई भन्न पाएका भए, उनीहरु चकित भएर हाम्रा कुरा सुन्थे होलान् ।

 

प्रकाशित: २७ पुस २०७६ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App