coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मन्त्रालयमा प्रगति, गाउँमा उपलब्धि शून्य

दैलेख - भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले देखाएको प्रगति विवरण झूटो देखिएको छ। गाउँका किसानमाझ पुग्नुपर्ने कृषि आधुनिकीकरणका औजार गाउँमा पुगेका छैनन्। तर, मन्त्रालयको प्रगति विवरणमा भने कृषकलाई औजार बाँडिएको देखाइएको छ।

बजेट उपशीर्षक नम्बर ७०६३५३५१ को ६ नम्बर बुँदामा सहकारी संस्था, कृषक समूह, निजी फर्मका कृषकहरूलाई माग र आवश्यकताका आधारमा मापदण्ड र कार्यविधि तयार गरी कृषिसम्बन्धी औजार उपलब्ध गराउने उल्लेख छ। यही मापदण्डअनुसार लागत सहभागितामा अनुदान कार्यक्रममार्फत दुल्लु नगरपालिका–११ को क्षितिज कृषि सहकारी संस्था लिमिटेडलाई १६ वटा हाते ट्र्याक्टर वितरण भएको विवरणमा देखाइएको छ। त्यस्तै, त्यही सहकारी संस्थालाई थ्रेसर मेसिन र मकै छोडाउने मेसिन पनि दिएको प्रगति प्रतिवेदनमा उल्लेख छ। तर, दुईवटा हाते ट्र्याक्टर, एउटा थ्रेसर मेसिन र पाँचवटा धान केलाउने पंखा दिइएको छ।

प्रतिवेदनमै झूटो विवरण देखाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानमाझ विवरणअनुसारका औजार दिएको छैन। किसान प्रगति विवरणमा आफूहरूले पाएको औजार सुनेरै छक्क परेका छन्। आफूहरूले धान केलाउने पंखा पाँचवटा, हाते ट्र्याक्टर दुईवटा र थ्रेसर मेसिन एउटा मात्र कृषि ज्ञान केन्द्रबाट पाएको क्षितिज कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नगेन्द्रबहादुर भण्डारीले बताए। ‘हाम्रो नाममा धेरै मात्रामा कृषि यन्त्र गएको देखिन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘किसानका नाममा आएको सामग्री कता छ त्यसबारे सत्यतथ्य छिटो सार्वजनिक होस्।’ संस्थाले  किसानबाट अग्रिम ३० प्रतिशत रुपैयाँ जम्मा गरेर मात्र अनुदानमा सामान पाएको उनले बताए।

कृषि ज्ञान केन्द्र दैलेखका प्रमुख तिलक पाण्डेले मन्त्रालयको वितरण गलत भएको बताए। उनले आफूहरूले दुईवटा मात्र हाते ट्र्याक्टर वितरण गरेको उनले स्वीकार गरे। जिल्लाभरि पनि १६ वटा ट्र्याक्टर वितरण नभएको प्रमुख पाण्डेले जानकारी दिए। ‘मन्त्रालयमा टाइप मिस्टेक हुन सक्छ,’ प्रमुख पाण्डेले भने, यतिका धेरै त जिल्लाभरिमा पनि वितरण भएको छैन।’ कर्णाली प्रदेशका १० जिल्लामा मन्त्रालयबाट उपलब्ध गराइएका कार्यक्रम र बजेटबारे किसानलाई पारदर्शी रूपमा जानकारी गराइनुपर्ने सरोकारवालाले बताएका छन्।

प्रकाशित: २७ पुस २०७६ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App