४ वैशाख २०८१ मंगलबार
अर्थ

महत्वपूर्ण गन्तव्य घुम्न छुटाउछन् भारतीय पर्यटक

पोखरा भित्रिएका भारतीय पाहुनाको परिवारसँग रमाउँदै अरु विदेशी।

पोखरा - पर्यटन व्यवसायीका अनुसार पोखरामा वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिन्छन्। ती मध्ये आधाजति धार्मिक उद्देश्यले भित्रिएका भारतीय पाहुना हुन्छन्। धार्मिकबाहेक पदयात्रा, शैक्षिक, हनिमुन, पारिवारिक घुमघामका भारतीय पर्यटक पनि पोखरा आउँछन्। धार्मिक उद्देश्यले भित्रिएका पाहुना मुस्ताङको मुक्तिनाथ, काठमाडाैँमा पशुपतिनाथ र जनकपुरसम्म पुग्छन् भने अरु पर्यटक पोखरा र आसपासका क्षेत्र घुम्छन्।  

धार्मिक वा अरु जुनसुकै उद्देश्यले भित्रिए पनि सबैजसो भारतीय पाहुनाले पोखरा आसपासका क्षेत्र घुम्ने चाहना भने राख्छन्। त्यसैले सकेसम्म सीमित गन्तव्य घुम्न छुटाउँदैनन्। तर, आकर्षक र महत्वपूर्ण अधिक गन्तव्य भने ती पाहुनाले सधैंका लागि ‘मिस’ गरिरहेका हुन्छन्। पर्यटन व्यवसायीका अनुसार पोखरा क्षेत्रमा ३३ वटा पर्यटकीय गन्तव्यलाई सूचीकृत गरिएको छ। तर, अधिक भारतीय पर्यटकले बढीमा चारवटा मात्र गन्तव्य घुमेर फर्किन्छन्। घुम्न बाँकी गन्तव्यबारे न त कतैबाट जानकारी पाउँछन्, न सोधखोज नै गर्छन्। न त घुम्नैपर्ने महत्वपूर्ण गन्तव्य भनेर जानकारी दिने होर्डिङ बोर्ड, पर्चा, पम्ल्लेट कतै देख्छन्।

पोखरा भित्रिएका अधिक भारतीय पाहुनाले घुम्नैपर्ने महत्वपूर्ण गन्तव्य छुटाउनुको कारण हो– भारतीय पर्यटक ठूला आकारका सवारीसाधन रिजर्भ गरेर पोखरा भित्रिन्छन्। ती सबै सवारी पोखरा क्षेत्रका पर्यटकीय गन्तव्यसम्म आउजाउ गर्न सक्दैनन्। पोखरा क्षेत्रका साँघुरा सडकमा भारतीय ठूला सवारी नगएपछि पाहुना घुम्नै नपाई फर्किन्छन्। साना आकारका नेपाली सवारी भाडामा लिएर दृष्यावलोकनमा जाँदा अतिरिक्त शुल्क पर्ने भन्दै पाहुना तर्सिन्छन्। प्याकेजमा आएका पाहुना त झनै चढेर आएका सवारीबाहेक अरुमा डुल्नै मान्दैनन्।

त्यस्तै अतिरिक्त शुल्क पर्ने भन्दै नेपाली गाइड पनि भारतीय पाहुनाले लैजान चाहँदैनन्। आफैं चढेर आएका सवारीका चालकलाई गाइड बनाएर पाहुना घुम्न निस्कन्छन्। नेपाली गाइडबिना आफ्नै चालकका भरमा दृष्यावलोकनमा जाँदा गाइड बनेका चालकले नै जानाजान महत्वपूर्ण गन्तव्य छुटाइदिन्छन्। गाइड बनेका चालकले नै समय अपुग हुने र जान नसकिनेर भनेर अधिक गन्तव्यसम्म पाहुनालाई घुमाउन लैजाँदैनन्। उल्टै सबै गन्तव्यमा जान नसकिने भनेर पाहुनालाई भनिदिन चालकले व्यवसायीलाई नै अनुरोध गर्छन्।

‘पोखरा भित्रिएका अधिकांश भारतीय पाहुनाले यहाँका चारवटा गन्तव्य मात्र घुम्छन्। बाँकी गन्तव्य सधैंका लागि ‘मिस’ गर्छन्,’ पर्यटन व्यवसायी बच्चुराम तिवारीले भने, ‘३३ वटा गन्तव्यमध्ये चारवटा मात्र घुम्छन्। धेरैजसो पर्यटकले सबै गन्तव्य घुम्नै पाउँदैनन्।’ लामो समयदेखि भारतीय पर्यटकलाई सेवा दिइरहेका तिवारीका अनुभवमा पोखरा भित्रिएका भारतीय पाहुनाले डेभिजफल्स, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर र फेवातालबीचको बाराही मन्दिर मात्र घुम्छन्। बाँकी गन्तव्यमा जानै नससिने, आफ्ना सवारी नजाने, बाटो साँघुरो र अप्ठेरो रहेको, दुरी टाढा रहेको लगायत बहाना बनाएर पाहुनालाई घुम्नै नलैजाने गरेको तिवारीले बताए।

‘पाहुनाले आफ्नै चालकलाई गाइड बनाउँदा घुम्नै नपाएका हुन्। नेपाली गाइड र गाडी लैजाऊ भन्दा अतिरिक्त शुल्क पर्ने भनेर हच्किन्छन्,’ उनले भने, ‘आफैंले ल्याएका चालकले झन्झटिलो र साँघुरो सडकमा ठुला सवारी लैजान सकस पर्ने भन्दै पाहुनालाई अनेक बहाना पारेर टार्छन्। सकेसम्म चालकले कम समयमा थोरै गन्तव्य मात्र पाहुनालाई घुमाउन चाहना राख्दा उनीहरुकै पाहुना ठगिएका हुन्।’ होटलमा आएका पाहुनालाई नेपाली गाडीमा गाइडसहित घुम्न जाऊ भन्दा अतिरिक्त शुल्क पर्ने भनेर पाहुना हच्किने गरेको उनले बताए। ‘प्याकेजमा आएका पाहुनाले त झनै कतै घुम्न पाउँदैनन्। बढीमा र चर्चित चारवटा गन्तव्यसम्म सबैले पु-याउँछन्,’ उनले भने।

व्यवसायीका अनुसार गाइड बनेका भारतीय चालकले हल्लनचोक पु-याएर त्यहाँबाट देखिने सिरान क्षेत्रलाई फेवाताल र ड्यामसाइटस्थित पुछारमा पु-याएर त्यही फेवाताललाई बेगनासतालसम्म भन्ने गरेका छन्। ‘फेवातालको सिरान र पुछारलाई दुई तरिकाले पाहुनालाई बताउने गरिएको छ। भारतीय पाहुना भाररतीयकै कारण ठगिएका छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्वअध्यक्ष केदार शर्माले भने, ‘पोखरा पर्यटनको राजधानी भएकाले पनि सकेसम्म सबै गन्तव्यसम्म पाहुनालाई घुम्ने माहोल बनाउनुपर्छ। सबै गन्तव्यमा घुम्न पठाउने हो भने ती गन्तव्यको प्रचारप्रसार पनि हुन्छ।’

पोखरा क्षेत्रका सबै पर्यटकीय गन्तव्य घुम्न लैजाने हो भने एक–दुई दिनको बसाइ अवधि बढ्ने व्यवसायीको भनाइ छ। अहिले पोखरामा भारतीय बढीमा तीन रात बिताउने गरेका छन्। सबै गन्तव्य घुमाउने हो भने उनीहरुको बसाई अवधि बढ्ने अर्का पर्यटन व्यवसायी हरि भूजेल बताउँछन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्षसमेत रहेका भूजेलले भने, ‘पोखरामा भारतीय पर्यटकको बसाइ अवधि बढाउने हो भने उनीहरुलाई सबै गन्तव्य घुम्ने अवसर दिलाउनुपर्छ।’ भारतीय पर्यटक भारतीय चालक नै गाइड बन्दा ठगिएको उनले पनि बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार पोखरा भित्रिएका भारतीय पर्यटकलाई सबै गन्तव्य घुम्न सक्ने बनाउनकै लागि विभिन्न ठाउँमा सूचनामूलक होर्डिङबोर्ड, गन्तव्यबारे जानकारी दिने पर्चा पम्प्लेट राख्ने तयारी भएको बताए। ‘पोखरा आसपासका मुख्य पर्यटकीय गन्तव्यबारे जानकारी दिनेगरी ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने, होटलमा पर्चा पम्प्लेट उपलब्ध गराउने योजना छ,’ अध्यक्ष पोखरेलले भने, ‘हामीले सकेसम्म बढी जानकारी पाहुनालाई दिनुपर्छ। अहिले पोखरा भित्रिने सबैजसो पाहुनाले केही सीमित बाहेक गन्तव्य घुम्न पाएका छैनन्। त्यसो हुनुमा गन्तव्यबारे जानकारी दिने निकाय र सामाग्री नभएर पनि हो।’

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा गर्नका लागि पनि नयाँ र आकर्षक कार्यक्रम गर्न जरुरी रहेको अध्यक्ष पोखरेलले बताए। ‘सकेसम्म नयाँ गन्तव्य पनि यही वर्ष प्रवद्र्धन गर्नुपर्छ। त्यत्ति नभए पुराना गन्तव्यको समेत प्रचारप्रसार हुनेगरी जानकारीमूलक सामग्री तयार पार्नुपर्छ,’ उनले भने, ‘त्यसो भयो भने मात्र पोखरामा विदेशी पाहुनाको आगमन बढ्न सक्छ।’

प्रकाशित: २७ पुस २०७६ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App