८ वैशाख २०८१ शनिबार
विचार

राष्ट्र एकीकरणमा योगदान

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदान बिर्सेर नेपाललाई बुझ्न सकिँदैन। विक्रम संवत् १८०० भन्दा अगाडि दक्षिणतर्फ अंग्रेजी साम्राज्यबाट हिमतखण्डका धेरै राज्य हडप्न गिद्धे नजर लगाउन थालेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह विशाल नेपाल एककीरणको महायज्ञमा सपुत बनेर निस्के। हिमवत्खण्डका सम्पूर्ण हिन्दू राज्य नसके तापनि पृथ्वीनारायण शाहले ५४ जति हिन्दू राज्य एकीकरण गरे। हिमवत्खण्डका सम्पूर्ण हिन्दू राज्य एकीकरण गर्न  सक्थे होलान्, तर बिफरबाट ५२ वर्षमै पृथ्वीनारायणको देहवसान भयो, नुवाकोटमा।

गोर्खाका राजा पृथ्वीनारायणले बनारस भ्रमण गरेको अवस्थामा विश्वनाथ मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेष अवस्थामा थियो। त्यसले पृथ्वीनारायण साह्रै चिन्तित भए। उता इन्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृति नास गराएर इसाई धर्म लाद्न हिन्दूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउनेजस्ता अंग्रेजको अत्याचार देखेर पृथ्वीनारायणमा हिमवत्खण्डका हिन्दू राज्यहरू एकीकरण गर्ने प्रेरणा जाग्यो।

त्यसका लाििग उनले बनारसबाट हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगढ, केही हातहतियार र मुसलमान योद्धासमेत गोर्खा ल्याए। त्यही कारणले गर्दा एकीकरणपछि नेपालका हिन्दू–बौद्धबीच धर्मकर्म नमिले तापनि मुसलमान र हिन्दूबीच कहिले मनमुटाव भएन। विभिन्न जातजाति, धर्म, वेशभूषामा विभाजित जनतालाई पृथ्वीनारायणले एकीकरण गरेर एक नेपाली जातिमा परिणत गराए, अनेकतामा एकता कायम गरे। नेपाल साम्राज्यवादी शक्तिसँग संघर्ष गरेर स्थापना भएको राष्ट्र हो। नेपालभित्रका सबै फूल (जाति)  समान रूपमा फुल्न पाउन् भन्ने अवधारणा पृथ्वीनारायण शाहको थियो।

पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकता जीवन्त रहेको हो। हिमवत्खण्ड क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो।

भारतमा मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दू अस्मितामा आक्रमण गरेर प्रभाव जमाइरहेको अवस्थामा यस क्षेत्रको सार्वभौम बचाएर राख्न सक्ने एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुनु नेपालीको ठूलो भाग्य हो। उनले उसबेला सोचेका र देखेका कुरा अहिलेसम्म उत्तिकै सान्दर्भिक छन्। उसबेला पृथ्वीनारायणले एकीकरण गर्ने तदारुकता नदेखाएका भए नेपाल भन्ने देशको नामोनिसान रहने थिएन। यसर्थ राष्ट्र निर्माताबाट उसबेला मार्गदर्शन भएका विचार र बाटोलाई नै हामी सहमतिको आधार बनाएर हिँड्न सक्छौं। अहिले पनि जुनसुकै विचारका राजनीतिक दलले उनको दिव्योदेशलाई मूल नीति बनाएर अघि बढ्ने हो भने देशमा अन्योलको अवस्था आउने छैन।

पृथ्वीनारायणले यो भूमिको एकीकरण गरेका बेला टुक्राटुक्रामा विभाजित जर्मनी र इटाली सय वर्षपछि एकीकृत भएका थिए। नेपाल एकीकरण भएको सय वर्षपछि जापान राजाको नेतृत्वमा आधुनिक जापान बनेको थियो। नेपालको एकीकरण हुनुभन्दा २०–२५ वर्षपछि मात्र अमेरिका बेलायतको उपनिवेशबाट स्वतन्त्र हुन सकेको थियोे। यस्ता कैयौं देश अन्धकारमा रहेका बेला पृथ्वीनारायणकै कारण बेलायती साम्राज्य यस क्षेत्र हडप्न असफल भएको थियो। यसैकारण आज हामी विश्वसामु नेपाली भएर गौरवसाथ उभिन सफल भएका छौं। पृथ्वीनारायणको महानता के थियो भने उनी गोर्खाको राजा भएर पनि कान्तिपुरमा राजसिंहासनमा बसेपछि एकीकृत यो क्षेत्रलाई नेपाल अधिराज्य घोषणा गरेका थिए।

पृथ्वीनारायणबाट जसरी प्रजातान्त्रिक मान्यताबाट विशाल नेपाल एकीकरण भएको थियो, त्यसरी नै.नेपाललाई हिँडाउन सकियो भने त्यही प्रजातान्त्रिक बाटोले स्थायित्व लिन्छ। उसबेला पृथ्वीनारायणले विराज बखतीलाई मूलकाजी अर्थात् प्रधानमन्त्री बनाउने इच्छा गरेका थिए। तर जनताको इच्छा कालु पाण्डेप्रति रहेकाले मूलकाजीमा उनले कालु पाण्डेलाई नै नियुक्ति गरेका थिए। यसबाट उनी कति प्रजातन्त्रवादी रहेछन् भन्ने पुष्टि हुन्छ। तर दुःखको कुरो, कीर्तिपुरको लडाइँमा कालु पाण्डेको निधन भयो। उनको स्मरणमा काठमाडौंको दहचोकमा सालिक स्थापना गरिएको छ।

कालु पाण्डेको देहवसान भएपछि पृथ्वीनारायणका भाइ सुरप्रताप शाहको आँखा फुटेको थियो। त्यसपछि कान्तिपुरमा जयप्रकाश मल्लको संरक्षणमा रहेका केपुचिन पादरीसँग रहेका इसाई डाक्टरले सुरप्रताप शाहको आँखामा औषधोपचार गरेका थिए। यस हिसाबले पृथ्वीनारायण क्रिस्चियनहरूसँग सुरुमै सशंकित थिएनन्। तर कीर्तिपुर विजयपछि केपुचिन पादरीले कान्तिपुर आक्रमण असफल बनाउन र पृथ्वीनारायणलाई कीर्तिपुरबाटै लखेट्न इस्ट इन्डिया कम्पनीसँग अंग्रेजी फौज सहायता मागे र त्यही अनुरोधमा २४०० अंग्रेजी पल्टन आए। ती अंग्रेजी सेना सिन्धुलीगढी हुँदै आउन लागेका बेला पृथ्वीनारायणका गोर्खाली सेनाले तिनलाई हराउँदै लखेट्न सफल भए।

त्यस घटनादेखि नै पृथ्वीनारायण शाह उपत्यकामा अंग्रेजको दूत भएर इसाई धर्मको प्रचार गर्ने पादरीहरूप्रति अत्यन्त सशंकित भएका हुन्। काठमाडौं उपत्यका विजय गरेपछि उनले क्रिस्चियन धर्म प्रचारक केपुचिन पादरीलाई लखेटे र चर्चलाई सेनाले घोडाको तबेला बनाए। त्यही रिसमा पृथ्वीनारायण शाहलाई बदनाम गर्न उनले कीर्तिपुरेहरूको १७ धार्नी नाक काटेका थिए भनेर केपुचिन पादरीलाई उद्धृत गर्दै अंगे्रजी लेखक कर्कपेट्रिकले झुटा र कपोलकल्पित कुरा लेखेका हुन्। त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेकाले उनले त्यसरी नाक काट्ने आदेश दिएका थिएनन्। आफूले विजय गरेका राज्यका जनताको संरक्षण गर्नु नै उनको नीति थियो। अंग्रेजले यस क्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुरवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो।

त्यसबेला पृथ्वीनारायण शाहले ‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन्। फिरंगी भनेका ब्वाँसा हुन्। जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो। तर फिरंगी भनेका अर्कै हुन्’ भनेर यस क्षेत्रका ससाना राज्यका जनतालाई साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गरी एकताको सूत्रमा आबद्ध गराएका थिए। राष्ट्रिय एकीकरणका सन्दर्भमा नेपालको सीमाना पूर्वमा टिस्टा नदीसम्म पुगेपछि इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन्– ‘१८३१ साउनमा हामी किरात वंश सत्धर्ममा मन राखी गोर्खा वंशसँग एकै वंश भई मिल्नेछौं। साथै कुनै विदेशीले तिमीहरूको राजा को हो र कहाँ छ भनी सोधेमा हामीहरूको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खा वंशका हौं भनी जवाफ दिनेछौं।’ यसबाट पनि थाहा हुन्छ– नेपाल एकीकरण भएपछि कुनै पनि जाति÷थरका मानिसले परदेशी वा दोस्रो दर्जाको भएर शासक पक्षबाट पेलिएर, आँशुका धारा बगाएर बस्नु परेन। ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यका जनतामा असन्तुष्टि थिएन।

पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकता जीवन्त रहेको हो। हिमवत्खण्ड क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो।

प्रकाशित: २७ पुस २०७६ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App