८ वैशाख २०८१ शनिबार
समाज

आगो निभाउने पाइपलाइन परीक्षण

काठमाडौं – दमकल जान नसक्ने ठाउँमा हुनसक्ने आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइपलाइनको परीक्षण गरिएको छ। काठमाडौं महानगरपालिका–२५ मांसगल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म विस्तार गरिएको फलामे पाइपबाट परीक्षण गरिएको हो। परीक्षणका क्रममा काठमाडौं दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिएका थिए। त्यस चोकबाट करीब एक सय मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो।

अग्नि नियन्त्रकले मांसगल्लीको मुखैमा भएको फलामे पाइप (इनलेट) मा पाइप जोडे। त्यसपछि कुद्दै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजरमा पाइप जोडे। यति गरेपछि दमकलमा भएको पानी एक सय मिटर परको सानो चोकमा पुग्यो। यो पानीको प्रयोग गरेर उनीहरूले घरको चौथो तलामा लागेको आगो निभाए। यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पु¥याएर पनि आगो नियन्त्रण गरिएको थियो। करीब दुई सय मिटर लामो यस प्रणालीकोबीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन्। आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ।

प्रयोगका समयमा चौथो तलामा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकले उद्धार गरेका थिए। उद्धार गरिएका बिरामीलाई भुइँमा पु¥याएर प्राथमीक उपचार गरिएको थियो, भने त्यसपछि स्टेचरमा राखेर चोकमा निकालिएको थियो। चोकमा एम्बुलेन्स तयार थिए। बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो। यो दृश्य शनिबार महानगरपालिका–२५ मांसगल्ली टोलमा पाइपलाइन परिक्षण गर्दाको अवस्था हो।

महानगरको अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाकाअनुसार दमकल स्टेसनबाट १ मिनेट ३० सेकेण्डमा दमकल घटनास्थल पुगेका थिए भने त्यसको ५ मिनेटभित्र आगो नियन्त्रण तथा खोज उद्धार कार्य समाप्त भएको थियो। यो प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमको ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ, संघ संस्था र उपभोक्ताको २ लाख ४० हजार ६ सय १२ रुपैयाँ गरी जम्मा ९ लाख ४० हजार ६ सय १२ रुपैयाँमा उक्त पाइपलाइन जडान गरिएको थियो।

आगलागीबाट हुने जोखिम न्युनिकरणका लागि नेपाल रेडक्रस सोसाइटीले काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाबिच समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आएको छ। परिक्षण कार्यक्रममा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम हो। हामीले हरेक नगरसभामा यसका बारेमा छालफल गर्द आएका छौं र आवश्यक नीति बनाउने गरेका छौं।’ दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुबै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीति बनाइएको उनले बताए।

प्रकाशित: २७ पुस २०७६ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App