८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा छ महिनामा एक सय ३२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयको प्रगती विवरण प्रस्तुत गर्दै डिएसपी बामदेव गौतम। तस्बिर:दमन/नागरिक

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष विभिन्न अपराधिक क्रियाकलापमा संलग्न १ सय ४४ जना प्रतिवादीमध्ये १ सय ३२ जनालाई पक्राउ गरेको जनाएको छ। शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गर्दै प्रहरीले गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छुटेको र १४ जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षभित्र १ सय ३० वटा मुद्दा दर्ता भएकामा ७५ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ। दर्ता भएकामध्ये ५० वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको डिएसपी गौतमले बताए। चालु अवस्थामा ५ वटा मुद्दामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्दा ४४ वटा र प्रतिवादी फरार भएका मुद्दा ४ वटा रहेको जानकारी दिइएको छ।

चालु आर्थिक वर्ष अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा एक सय जरिवाना र २० वर्ष ४ महिना कैंद भुक्तान भएको डिएसपी गौतमले बताए। यस अवधिमा १ सय ८६ वटा ठाडो निवेदन परेकामा १ सय ६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्दाको काम बाँकी रहेको जानकारी दिइएको छ।

प्रहरीको ६ यूनिट विस्तार
चालु आर्थिक वर्षभित्रै खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरी चौकी र एक विमान सुरक्षागार्ड स्थापना, स्तरवृद्धि एवं स्थानान्तरण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खार्पा, प्रहरी चौकी हरमटार, प्रहरी चौकी दुर्छिम, प्रहरीचौकी यासोलाटार र बिमान सुरक्षागार्ड थामखर्कको स्थापना एवं स्तरवृद्धि गरिएको डिएसपी गौतमले जानकारी दिए।

३१ जना वेपत्ता
यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन्। ४२ महिला, ८ पुरुष, १२ बालिका र ३ बालक गरी ६५ जना हराएकामा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ। हराएकामध्ये २१ महिला, ३ पुरुष, ८ बालिका र २ बालक फेला परेको प्रहरीले जनाएको छ। वेपत्ता भएका भनिएकामध्ये अधिकांश दोश्रो विवाह गरेर जाने महिला रहेको डिएसपी गौतमले बताए। ‘सम्पर्कविहिन भएपछि हरायो भनेर प्रहरीलाई खबर गर्छन्, तर भेटियो भनेर जानकारी दिँदैनन्,’ डिएसपी गौतमले भने, ‘अंशमा दावी नगरोस् भनेर दोश्रो विवाह गर्ने महिलाविरुद्ध बढि यस्ता वेपत्ताको उजुरी परेको पाइएको छ।’

प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यय, दलका नेता, जनप्रतिनिधि, अधिकारकर्मी लगायतको उपस्थिति थियो।

 

प्रकाशित: २६ पुस २०७६ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App