८ वैशाख २०८१ शनिबार
समाज

लाजले पाठेघर खस्ने समस्या लुकाउँदै

बैतडी - मेलौली नगररपालिका–२, कुजागाडकी आनादेवी भाटले गत महिना जिल्ला अस्पताल बैतडीमा २५ वर्षपछि पाठेघरको शल्यक्रिया गरिन्। पाठेघर खसेको लामो समयसम्म लाजकै कारण उनले उपचार नगराएकी हुन्।

धेरै वर्षसम्म कसैलाई नभनी रोग लुकाएकी भाटले जटिल अवस्था आएपछि मात्रै उपचार गराएकी हुन्। उनी जस्तै पाठेघरको समस्या भोग्दै आएका महिला वर्षोसम्म लाजकै कारण रोग लुकाएर बस्दै आएका छन्। पाठेघरको उपचारको लागि आउने अधिकांशका  ५० वर्ष कटेका आउने गरेका छन्।

लामो समयसम्म रोग लुकाएर बसेका महिला जटिल शल्यक्रिया गर्ने अवस्था आएपछि मात्रै उपचार गर्न आउने गरेका छन्।  जिल्लामा सञ्चालन गरिने पाठेघर खसेका महिलाको स्वास्थ्य शिविरमा अकिांश अन्तिम अवस्थामा आउने गरेका छन्। त्यो भन्दा अघि लाजकै कारण समस्या लुकाएर बस्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

गर्भावस्था र सुत्केरी अवस्थामा हुने लापरवाही र पाठेघर खसी सकेपछि समयमै उपचार नपाउँदा महिला प्रभावित भएका छन्। लाजकै कारण समयमै उपचार नगराउँदा पहाडी क्षेत्रमा पाठेघर खस्ने समस्या बल्झिदै गएको छ। समयमै उपचार नगराउँदा शल्यक्रिया गर्नुपर्ने अन्तिम अवस्था भएपछि मात्रै स्वास्थ्य संस्थामा आउने गरेको जिल्ला अस्पतालका डा. बशन्तराज जोशीले बताए। दुखाइले सहन नसक्दा मात्रै जचाउन आउने गरेको  उनको भनाइ छ।

समस्या सार्वजनिक गरे अपहेलित हुने डरले रोग लुकाउन बाध्य भएका छन्। लामो समयपछि मात्रै अस्पताल जाने चलनले पाठेघर खस्ने समस्या जटिल बन्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। सानै उमेरमा सन्तान जन्माउने, जन्मान्तर नराख्ने, असुरक्षित गर्भपतन, सुत्केरी र गर्भवति अवस्थामा बोझिलो काम लगायत कारणले यो समस्या कम हुन नसकेको हो। सुत्केरी भए लगत्तै भारी बोक्ने गाह्रो काम गर्ने चलनले पनि यो समस्या बढदै गएको स्वास्थ्यकर्मी बताउँछन्।

पाठेघर खसेका ग्रामीण महिला अझै खुलेर आफ्नो समस्या राख्ने अवस्थामा पुगेका छैनन्। उनीहरु पाठेघर खसेको लामो समयसम्म लुकाएरै राख्ने गर्छन्। सहनै नसकिने अवस्थामा वा रोगले जटिल रूप लिएपछि मात्र जचाँउन आउने गरेको जिल्ला अस्पतालका डा. जोशीले बताए। ग्रामीण क्षेत्रमा  सञ्चालित स्वास्थ्य शिविरमा रिंग पेसरी राख्ने गरेको छ। स्वास्थ्य संस्थामा समेत यो सेवा उपलब्ध छ। समान्य पाठेघर खसेको अवस्थामा रिगंले काम गरे पनि जटिल अवस्थामा भने शल्यक्रिया गर्नुपर्ने हुन्छ।

शल्यक्रिया गाउँमा संभव हुँदैन टाढा गएर उपचार गर्न स्थानीयलाई समस्या हुने गरेको छ। जिल्लाभित्र पाठेघरका बिरामी धेरै छन्। लाजकै कारण रोग लुकाएर बस्ने गरेको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनले भने ‘स्वास्थ्य संस्थामा उपचारको लागि आएका महिला पुरुष स्वास्थ्यकर्मीका अघि आफ्नो समस्या राख्न लजाउँछन्।’

पाठेघर खसेको वर्षोसम्म घरपरिवारलाई समेत लाजकै कारण भन्दैनन्। आफ्नै श्रीमान्लाई समेत यसबारे कुरा गर्न डराउने महिला जटिल समस्या आएपछि मात्रै जचाँउन आउने गरेको स्वास्थ्यकर्मी बताउँछन्। पाठेघर खस्ने समस्या ग्रामीण क्षेत्रमा बढी छन।

यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकालीओराली गर्नुपर्ने, भारी बोक्नु पर्ने, बच्चा धेरै जन्माउनु पर्ने, अशिक्षा लगायतका कारण  यो समस्या घट्न सकेको छैन। जन्मान्तर कम, बढी सन्तान र उमेर नपुगी जन्माउनु, गर्भवस्था र सुत्केरी अवस्थामा उचित खानपानको अभाव र गहुँगोे भारी बोक्ने लगायत शारिरीक बल पर्ने बोझिलो कामले पाठेघर खस्ने समस्या दिनानुदिन बढन थालेको छ। लाजले समयमै उपचार नगराउदा यस्तो समस्या जटिल बन्दै गएको हो।

प्रकाशित: २६ पुस २०७६ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App