coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'विप्लव'लाई पार्टीमा आउन प्रचण्डको आग्रह

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द 'विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन्। शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गरेका हुन्।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले भने, 'भोली स्वयं विप्लव पनि आउनुपर्छ। आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन र अरुलाई पनि फाइदा गर्दैन्। मलाई भरोसा छ, अरु साथीहरु पनि आउँछन् जो अहिले पनि सानोसानो चुलो चौकी राखेर बसिराख्नुभएको छ। त्यसबाट केही हुँदैन भनेर त बुझ्नुभएको छ होला। सबैलाई देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ।’

अध्यक्ष दाहालले बाँकी रहेका सबैलाई अप्ठ्यारो नमानी आउन अपिल गरे। गरिहाले, हिँडिहाले भनेर आफैंलाई अनि देशलाई हानी पुर्‍याउने काम नगरि छिटो पार्टीमा आउन उनले सबैलाई आग्रह गरे।

पार्टी प्रवेशपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताए। 'सहजै विप्लव छोडेर आउने पक्षमा म थिएन। तर विप्लवको त्यो राजनीतिक साहस, नैतिकता र इमानदारिता देख्न सकिन। हिरासतपछि मेरो एकान्त बास भयो। मलाई भेट्न कोही मान्छे पनि आएन्’, उनले भने, 'वार्तामा आउ आफ्ना कुरा राखौ भन्दा मान्ने अवस्था भएन। आफूले गरेका कुरा र कामहरुको ओनरसिप लिन सक्ने अवस्था नदेखेपछि विप्लव छोडे।’

पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २६ पुस २०७६ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App