पृथ्वीजयन्ती

चाकडीबाजको देवत्वकरण, मूर्खहरूको दानवीकरण

शनिबार, २६ पुष २०७६, १३ : २७ प्रा. दिनेशराज पन्त

अभिलेखका आधारमा नेपालको पहिलो प्रामाणिक काल हो, लिच्छविकाल। अहिलेसम्म लिच्छविकालका करिब दुई सय ५० वटा अभिलेख पाइएका छन्। ती अभिलेख, तात्कालिक चिनियाँ यात्री र चिनियाँ दूतहरूको वर्णन, संस्कृत वाङ्मयका विभिन्न ग्रन्थ इत्यादिका आधारमा नेपाल लिच्छविकालदेखि नै ठूलो थियो, झन्डै–झन्डै अहिलेकै जत्रो थियो। यसको अर्थ पूर्व मेची, पश्चिम महाकाली तथा उत्तर हिमाल र दक्षिण प्रदेशसम्मको भू–भाग ठ्याक्कै यति थियो भन्न खोजिएको होइन, कतै बढी, कतै घटी थियो होला। यो त तात्कालिक अवस्थामा लिच्छवि अभिलेख पाइएका ठाउँ र चिनियाँ यात्रीले वर्णन गरे अनुसारका क्षेत्रफलका आधारमा भनिएको हो।

लिच्छविकालपछि केन्द्रका शासकहरू कमजोर हुँदै गए। पश्चिम १ नम्बर नुवाकोटसम्म आफ्नो राज्य पुग्दा पनि सम्पूर्ण नेपाल नुवाकोटसम्मै राज्य गरेँ भनेर गर्व गर्ने केन्द्रको राज्य कायमै थियो। नेपालको दक्षिण पूर्वी भेगमा नान्यदेवले खडा गरेको सिम्रौनगढ राज्य, जसमा वर्तमान भारतका केही भाग पनि पर्थे। अहिले पनि सिम्रौनगढमा त्यस राज्यका भग्नावशेष पाइन्छन्।

त्यस्तै, पश्चिम भेगमा नागराजले खडा गरेको सिञ्जा राज्य शक्तिशाली भयो। त्यस राज्यले कुनै बेला वर्तमान चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर प्रदेशलाई पनि आफूभित्र पारेको थियो। यसले वर्तमान भारतको उत्तराञ्चल राज्य अन्तर्गतको कुमाउ–गढवाललाई पनि कुनै बेला आफूभित्र पारेको थियो, तर कालान्तरमा यी राज्य क्रमशः टुक्रिँदै गए।

विक्रमको १८औँ शताब्दीमा पुग्दा यस भेगमा ५२ वटा भन्दा बढी स–साना राज्य खडा भए, जसअन्तर्गत बाइसे, चौबिसे, काठमाडौं, पाटन, भक्तपुर, मकवानपुर, चौदण्डी र विजयपुर (सेन राज्य) आदि पर्थे। तात्कालिक सामग्री, ती राज्यले निकालेका लालमोहर, स्याहामोहर, शिलालेख, विद्वान्ले सारेका विभिन्न ग्रन्थ, वंशावलीका विभिन्न संस्करणबाट यो पत्ता लागेको हो। चौबिसे राज्य भनिएकामा कहिले यसभन्दा कम र कहिले बढी पनि हुन्थे। यस्तै, अवस्था बाइसे राज्यमा पनि थियो। राज्यको संख्या घटबढ हुनुको कारण चाहिँ झगडा थियो, यसकारण हारजित चलिरहन्थ्यो, एक राज्य अर्को राज्यमा गाभिने क्रम चलिरहन्थ्यो। बाइसे र चौबिसे राज्य भनेको रुढ शब्द हुन्।

वि.सं. १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले गोरखा राज्य खडा गरे। यो अरु राज्यको तुलनामा कमजोर अवस्थामा थियो। गोरखा राज्यको इतिहास अनुगमन गर्दा ‘योग्यम् योग्याय दातव्यम्’ नीति लिएको देखिन्छ। अर्थात् ठीक मानिसलाई ठीक ठाउँमा राख्नुपर्छ, मानिसलाई उसको योग्यताअनुसारको काम दिनुपर्छ, योग्यताभन्दा सानो वा योग्यताभन्दा बढी काम दिनुहुँदैन, यही सिद्धान्त लागू गरेकै कारण गोरखाको उन्नति हुँदै गयो।

पृथ्वीनारायणले नाक काटिदिएको घटनालाई पुष्टि गर्ने विभिन्न सामग्री हामीसँग छ। उनले नाक नकाटिदिएको भए राम्रो हुन्थ्यो। हामीले यो पनि बुझ्नुपर्छ कि मान्छे गुणैगुणैले सम्पन्न हुँदैन।

पूर्ण शाह, राम शाहले गोरखा राज्यको क्षेत्रफल बढाएका थिए। अरू राजाले त्यसलाई थामे। कति राजाको विद्रोहलाई समन गर्नैमा समय सकियो। यो क्रम नरभूपाल शाहसम्मै चल्यो। यसरी पृथ्वीनारायणले राज्य जोगाउन गरिएको संघर्ष, एकीकरणका लागि गरिएको प्रयत्न सुन्दै र देख्दै आए। उनले शासनको बागडोर सम्हालेसँगै राज्य बढाउन लागे र थोरै समयमा धेरै काम गर्नेमा उनी पर्छन्।

पृथ्वीनारायण र पुनर्एकीकरण
पृथ्वीनारायणको जन्म १७७९ पुस २७ गते भएको थियो। उनी गोरखाका राजा नरभूपाल शाहका जेठा छोरा हुन्। शाहका विभिन्न आमाबाट जन्मिएका पाँच दाजुभाइ थिए। उनको दिव्योपदेशमा ‘हामी पाँच पाण्डुवाको अवतार भयाका थियौँ’ भनिएको छ। पृथ्वीको जेठीआमा चन्द्रप्रभाबाट सन्तान भएनन्। त्यसबेला ठ्याहा (विवाहित रानाीबाट जन्मिएका) र मठ्याहा (अविवाहितबाट जन्मिएका) गरी दुई थरीका दाजुभाइ थिए। रणरुद्र शाहले पनि पृथ्वीनारायणको एकीकरणलाई ठूलो मद्दत गरेका थिए, उनी नरभूपालका अविवाहितपट्टिका छोरा हुन्।

नरभूपालको मृत्युपछि १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भए र योजनाबद्ध ढंगले नेपाल एकीकरणको काम सुरु गरे। मैले चाहिँ यसलाई केही वर्षदेखि नेपालको पुनर्एकीकरण भन्ने गरेको छु। प्राचीनकालको नेपालको इतिहास बिर्संदै जाँदा काठमाडौं उपत्यकाका राज्यहरुलाई मात्रै नेपाल भन्न थालियो। पृथ्वीनारायणलाई पनि नेपाल ठूलो थियो भन्ने थाहा थिएन। किराँत, लिच्छविकालको अध्ययन गर्दा नेपाल ठूलै थियो भन्ने प्रमाणित हुन्छ। तसर्थ यसलाई पुनर्एकीकरण भनिएको हो।

तात्कालिक अरु राजाहरूले झैँ ठूलो राज्य बनाउने उद्देश्यले पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरे। पछि एकीकरण गर्दै जाँदा दाजुभाइलाई राज्य भागबन्डा गर्दा सानो हुने र एकीकरण रोक्दा पनि सानो हुने बुझेर अखण्ड राज्यको परिकल्पनाले एकीकरण अभियानलाई निरन्तरता दिए। त्यस्तै, बाह्य हस्तक्षेपबाट बचाउन पनि सिंगो र शक्तिशाली राज्य आवश्यक ठानेर एकीकरण अभियान चलाएको बुझिन्छ।

पृथ्वीनारायणले वि.सं. १८०१ असोजमा नुवाकोट जिते। नुवाकोट कान्तिपुर राज्यअन्तर्गतको प्रदेश थियो। नुवाकोटसम्म मल्ल राज्य र त्रिशूलीपारि गोरखा राज्य थियो। यहीँबाट नेपाल एकीकरणको शिलान्यास भएको हो। पृथ्वीनारायणले वि.सं. १८१९ मा एक–डेढ महिनामै मकवानपुर राज्य जिते, किनभने सेनहरू विलासले जर्जर भइसकेका थिए।

त्यसपछि धेरै संघर्ष गरेर, युद्ध गरेर अझ १८२५ आश्विन १३ गते इन्द्रजात्राको दिन पारेर उनले काठमाडौं जिते। इन्द्रजात्राको दिन कुमारीको रथमा काठमाडौंका राजा जयप्रकाश मल्ल घुमिरहेका थिए। उनले लड्न नसक्ने ठाने। त्यसपछि उनले तलेजु मन्दिर छेउमा बारुद छरे। बारुद पड्किएर तुलाराम पाँडेलगायत केही गोरखाली मारिए। उनीचाहिँ वागमती तरेर पाटन गए। पाटनमा तेजनरसिंह मल्ल राजा थिए। धेरै कालदेखि अर्थात् योगनरेन्द्र मल्लको मृत्युपछि पाटनमा ६ थरी प्रधान (मन्त्री)हरुको हालिमुहाली चलेको थियो। त्यसबेला भएका राजाहरु प्रधानहरुका खेलौनाजस्ता थिए।

पाटनका प्रधानहरुले पृथ्वीनारायणसँग हात बढाएको देखी जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुर गए। पृथ्वीनारायणलाई भक्तपुर जित्न गाह्रो भयो। यसो हुनुमा विभिन्न कारण छन्। पहिलो कारण, तीन राजा एक ठाउँमा थिए। दोस्रो कारण, पृथ्वीनारायणका मीतबुवा रणजित मल्ल थिए। त्यसैले पृथ्वीनारायणले कुराकानीबाटै भक्तपुर जित्ने कोसिस गरे। यसमा उनी सफल भएनन्।

तेस्रो कारण, त्यसबेलाका सहरहरु किल्ला परिवेष्ठित थिए। ती किल्लाहरुमा सहर वा राजधानी पस्ने ढोका हुन्थे। ढोका बन्द गरेपछि शत्रु पस्न सक्दैनथ्यो। वि.सं. १८२२ तिर पृथ्वीनारायणको सेना शोभा भगवती, विजेश्वरीको आसपास आइसकेको थियो। पृथ्वीनारायण धेरै धनजनको क्षति नहोस् भन्ने चाहन्थे, नुवाकोट जितेको २५ वर्षपछि मात्रै काठमाडौं सहर जितियो।

कीर्तिपुर लडाइँ
कीर्तिपुरको लडाइँमा नेवार समुदायको नाक काटिएकै घटना खुब चर्चामा छ। केही नेवार समुदायले पृथ्वीनारायणलाई खलनायकका रूपमा हेर्छन्। अन्य केही समुदाय पनि पृथ्वीनारायणलाई दानवीकरण गर्न उद्यत् छन्। पृथ्वीनारायणका अन्धप्रशंसकले भने ‘नाक काटेको भनेको इज्जत गएको भन्ने अर्थ हो, नाक काटिएको होइन’ भन्ने कुरा गर्छन् तर पृथ्वीनारायण इतिहासलाई लुकाउन चाहँदैनथे। यसैले पृथ्वीनारायणका दरबारिया कवि ललितावल्लभले बनाएको ‘पृथ्वीन्द्र वर्णोदय’ काव्यमा पृथ्वीनारायणले केही कीर्तिपुरेका नाक काटिएको कुरा प्रस्टसँग लेखेका छन्।

वि.सं. १८२२ चैत्र ३ गते कीर्तिपुर जितेका पृथ्वीनारायणले १८२२ कै चैत्र २७ गते केही कीर्तिपुरेको नाक काटे भनी तात्कालिक तिथ्यावलीमा प्रस्टसँग लेखिएको छ। नाक नकाटिदिएको भए राम्रो हुन्थ्यो, हामीले यो पनि बुझ्नुपर्छ कि मान्छे गुणैगुणैले सम्पन्न हुँदैन।

पृथ्वीनारायण उपत्यकाको विजयपछि  पश्चिमतिर लागे र सुरुमा लमजुङ, तनहुँ आदिमा उनको विजय भयो। उनको जित अस्थायी भयो। चौबीसेहरुको संयुक्त सेनाले कालु पाँडेका छोरा वंशराज पाँडेलाई थुने। चौबीसे राज्य अन्तर्गतको सतहुँमा १८२८ पुस ५ गते शिवराम सिंह बस्न्यातका माहिला छोरा केयर सिंह बस्न्यात मारिए। बाँकी रहेका गोरखाली सेना भाग्दै गोरखामा फर्कन बाध्य भए। पृथ्वीनारायणले बाउबाजेले कमाएको राज्यभन्दा एक अंगुल पनि जित्न सकेनन्। पश्चिममा असफल भएपछि उनी पूर्वतिर लागे। उनले पूर्वतिर अपेक्षाकृत चाँडै नै विजय हासिल गरेर चौदण्डी र विजयपुर राज्यलाई आफ्नो राज्यमा मिलाए। उनले पूर्वका राज्यहरु सरलतासँग जितेर टिस्टासम्म पुगे।

पूर्वतिरको विजय हासिल गरेपछि पश्चिमतिरको अभियान चलाउन उनी नुवाकोटमा गए। वि.सं. १८०१ देखि १८२५ सम्म उनी नुवाकोटलाई आफ्नो राज्यको राजधानी बनाएर बसे। उनी राजा भएपछि गोरखामा दुई वर्ष पनि बसेनन्। नुवाकोट राजधानी हो भनेर उनले भाइभारदारलाई पठाएको पत्रहरु निकै पाइन्छन्।

काठमाडौंलाई नै राजधानी बनाउनुको पहिलो कारणमा यसलाई सामरिक दृष्टिले महत्वपूर्ण ठाने। उनी काठमाडौंको कला–संस्कृतिबाट प्रभावित थिए। किरात, लिच्छवि, मल्ल राजाले यसलाई नै राजधानी बनाएको प्रभाव उनमा देखिन्छ। काठमाडौंमा उनी वि.सं. १८२५ देखि १८३१ सम्म ६ वर्ष बसे। एकीकरणकै दौरानमा उनको मृत्यु भएको हो।

विदेशी शक्तिको सामना
पृथ्वीनारायणले एकीकरण अभियानका क्रममा दुई विदेशी शक्तिको सामना गरे। वि.सं. १८१९ मा उनले मुसलमानी सेना मिरकासिमको सेनासँग लडाइँ गरे। यो सेना मकवानपुरका राजा दिग्बन्धन सेनको गुहारमा गुरिङ खाँको नेतृत्वमा आएको हो।

अङ्गे्रज उदाउँदो शक्ति थियो। काठमाडौंका राजा जयप्रकाश मल्लको गुहारमा अङ्ग्रेज सेना आएको हो। पृथ्वीनारायणले निकै चातुर्य ढंगले अङ्गे्रज सेनालाई हराए। उनी १८२४ आश्विन १५ गते सिन्धुलीको पौवागढीमा पराजित भएका भए हामी नेपाली भएर बाँच्न पाउँदैनथ्यौँ।

पृथ्वीनारायणपछि राजेन्द्रलक्ष्मी, बहादुर शाह र भीमसेन थापाको परिश्रमले काँगडाको महत्वपूर्ण किल्ला छाडेर चम्बाभन्दा परसम्म नेपालको सीमा कायम ग-यो। एकीकरण नसक्दै वि.सं. १८२४ मा पृथ्वीनारायणले अङ्ग्रेज सेनालाई हटाए तर उनकै सन्तानले १८७१–७२ को युद्धपछि तीन खण्डको एक खण्ड भूभाग गुमाएर सन्धि गर्नुप-यो। पृथ्वीनारायणमा जुन नीतिज्ञता थियो, अन्य भाइभारदारमा थिएन। पृथ्वीनारायणको पालामा अङ्ग्रेज र नेपालीको हातहतियारको शक्तिमा जति अन्तर थियो, १८७१–७२ को युद्धताका त्यो अन्तर निकै बढिसकेको थियो। उनीहरू पढ्दै गए र अत्याधुनिक हातहतियार बनाए, हाम्रा मान्छेले पढेनन्। पछिल्ला लडाइँमा त अङ्ग्रेजहरु मकवानपुरको आसपासमै आइपुगे। अंग्रेजहरुले सुरुमा बुटवल र स्युराज मागेका थिए। अमरसिंह थापा आदि पाका भारदारले त्यसलाई बुझाउँ र हामी बढी तयारी गरी अंग्रेजसँग लडौँ भनेका थिए तर उनीहरुको कुराको सुनुवाई भएन र त्यस युद्धमा नेपालीले कूटनीतिक चालबाजी चाल्न सकेनन्, सुगौली सन्धि गर्नुप-यो।

पृथ्वीनारायणको दिव्योपदेशमा राज्य सञ्चालनसम्बन्धी अनेक ज्ञान पाइन्छन्। उनी महत्वपूर्ण कुराको मात्रै चर्चा गर्थे। उनले आफ्नै बुबाको नाम समेत दिव्योपदेशमा उल्लेख गरेका छैनन्। उनीमा दूरदर्शिता थियो। उनले राज्य भाग लगाएनन्। उनी कूटनीतिमा सिपालु थिए। लडाइँ गर्ने होस् वा अन्य राज्यसँगको सम्बन्ध होस्, उनी जहाँ पनि कूटनीतिक बल प्रयोग गर्थे। उनको परराष्ट्र नीति अझै पनि सान्दर्भिक छ। उनले चीन र भारतलाई जसरी हेरे, त्यो अवस्था अझै छ। उनले किल्ला व्यवस्थापन पनि निकै कुशल ढंगले गरेका थिए। उनको सैन्य व्यवस्थापन कला प्रशंसनीय छ। उनले उत्तर–दक्षिणको बाटोको कुरा गरी नेपाललाई वाणिज्यको दृष्टिले पनि सम्पन्न बनाउने कुरा गरेका छन्। उनी पारिवारिक मोहबाट टाढा थिए। त्यस्तो हुँदो हो त आफू ठूलो राज्यको राजा हुन्थे र अरु भाइलाई बाँडिदिन्थे। उनले परिवार, नाताभन्दा माथि उठेर ‘ठीक मानिसलाई ठीक ठाउँ’ भन्ने नीति लिएको पाइन्छ।

जनताको प्रतिक्रिया
पृथ्वीनारायणको शासनकालमा जनताले सुख पाएको अनुभूति गरे। ठिमीका चन्द्रमान जोशीको संग्रहमा रहेको तिथ्यावलीमा उनका पूर्खाले आधा नेवारी र आधा नेपालीमा लेखिएको टिपोट पाइएको छ। त्यसको सार यस्तो छ, ‘रणजित मल्ल राजा हँुदा यति महँगो थियो, पृथ्वीनारायण शाह राजा भएपछि यति सस्तो भयो।’ यसरी पृथ्वीनारायणको शासनमा जनताले आनन्दानुभूति गरेको देखिन्छ।

पृथ्वीनारायणको महŒव उनकै जेठा छोरा प्रतापसिंह शाहले बुझेनन्, हामीले पनि बुझेनौँ। जुनसुकै शासन पद्धति आओस्, नेपाल चाहिन्छ भन्नेले पृथ्वीनारायणलाई सम्झनैपर्छ। मल्ल राज्यमा बाबुपछि जेठो छोरो नै राजा हुनुपथ्र्यो भन्ने थिएन। यक्ष मल्लको मृत्युपछि सुरुमा उनका सबै छोरा राजा भए। यक्ष मल्लका दौहित्र (छोरीका छोरा) पनि राजा भए। बलिया दाजुभाइले क्रमशः दुर्बल दाजुभाइलाई पन्छाउँथ्यो। प्रताप मल्लले मनपरेकी रानीपट्टिका छोरा महिपतेन्द्र मल्ललाई राजा बनाउन भनी व्यवस्था गरेका थिए। भारदारबीच विवाद भयो। कोही जेठो र कोहीले राजाले भनेकोलाई राजा बनाउने प्रस्ताव गरे। प्रताप मल्ल मरेपछि तीन महिना राजगद्दी खाली भयो। १२ वर्षका नृपेन्द्र मल्ल राजा भए। त्यसपछि मन्त्रीको चकचकी बढ्यो। नृपेन्द्र १८ वर्षमा मरे। त्यसपछि राजा भएका पार्थिवेन्द्रलाई बिख खुवाएर मारियो। मन्त्री लक्ष्मीनारायण जोशीले महिपतेन्द्र मल्लको टाउको काटे। मल्ल राज्यमा यस किसिमको अवस्था थियो।

उतिबेला कुपण्डोल पाटन राज्यमा पथ्र्यो, त्यहाँका मान्छेले थापाथलीको ऐश्वर्य हेर्न पाउँदैनथे। किनभने थापाथली काठमाडौं राज्यमा पथ्र्यो। पाटनका राजालाई काठमाडौं वा भक्तपुरका राजासँग रिस उठेकाले रातो मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा कुटेको तथ्य पाइन्छ। त्यस्तै, सतबीज छर्न आउँदा, बिस्केट जात्रा हेर्न आउँदा अर्को राज्यका जनता कुटिन्थे। पृथ्वीनारायणले यो थितिलाई हटाएर सहज वातावरण बनाए।

पहिले पनि शाह राजाले हाम्रा पितापूर्खाको नाममा खानुपर्छ भने। चाकडीबाज विद्वान्ले पृथ्वीनारायण शाहलाई देवत्वकरण गरिदिए भने मूर्खहरूले दानवीकरण गरे। पहिले पृथ्वीनारायणको बारेमा सबै कुरा राम्ररी बुझ्नुपर्छ, त्यसपछि मात्र उनको सही मूल्यांकन गर्न सकिन्छ।

पृथ्वीनारायणको फौजले अङ्ग्रेजलाई हरायो, तर १८७१–७२ मा हामीले किन हा-यौँ ? पृथ्वीनारायणका बारेमा त सयौँ अनुसन्धान हुनुपर्छ। राज्यले नै गर्नुपर्छ भन्ने छैन, स्वतन्त्र नेपाली भएर बाँच्न चाहन्छौँ भने हामीले उनीबारे राम्ररी बुझौँ। सञ्चारमाध्यमले पनि यथार्थ सूचना दिनुपर्छ। पृथ्वीनारायणमा के कमी थियो र हामीले दुःख पायौँ ? उनमा के वैशिष्ट्य थियो र हामीले नेपाली भन्न पायौँ ? उनका बारेमा ठुल्ठूला किताब निकाल्नुपर्छ। बिदा दिँदै वा नदिँदैमा सम्मान हुने वा नहुने होइन। पृथ्वीनारायण विवादित बनाउने पात्र नै होइनन्।

हामी पृथ्वीजयन्तीको उपलक्ष्यमा पृथ्वीनारायणलाई सम्झन्छौँ, यो राम्रो कुरा हो। उनको अभियान सफल नभएको भए, वा बाह्य आक्रमणको प्रतिकार गर्न नसकेको भए हामी नेपाली हुन पाउँदैनथ्यौँ। किनभने अर्को कसैले यसलाई जित्थ्यो। आज हामी जुन रूपमा स्वतन्त्र भएर बाँच्न पाएका छौँ, यसमा पृथ्वीनारायणको योगदान भएकाले उनी स्मणीय छन्। उनी इतिहास हुन्। उनका पालाका सबै कुरा ग्रहणयोग्य नहुन सक्छन्। त्यसैले विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठान, संस्कृति मन्त्रालय, शिक्षा मन्त्रालय र जनस्तरबाटै उनको अनुसन्धान हुनुपर्छ। उनको कुन खुबीले नेपालको पुनर्एकीकरण भयो ? यी कुराको मूल्यांकन र अनुसन्धान गरेर वर्षभरि नै अभियान चलाउनुपर्छ र प्रामाणिक कुराबाट जनतालाई सुसूचित गराउनुपर्छ।






यसमा तपाईको मत

अन्य समाचार

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

Ncell Footer Ad