८ वैशाख २०८१ शनिबार
अन्य

दोलखा घुम्ने निम्तो

दोलखा अर्थात् प्रकृति, संस्कृति र इतिहासको संगम। दोलखामा ७ गाउँपालिका र दुई नगरपालिका छन्। गाउँपालिकाहरूमा कालिन्चोक, मेलुङ, विगु, गौरीशंकर, वैतेश्वर, शैलुङ र तामाकोशी हुन्। त्यस्तै दुई नगरपालिका छन्–भीमेश्वर र जिरी।

गौरीशंकर हिमालको उज्यालोमा मुस्कुराइरहेको दोलखा जैविक विविधताको सुन्दर फूलबारी पनि हो। जहाँ विभिन्न जातजाति मिलेर बसेका छन्। त्यहाँ पर्यटनको प्रचुर सम्भावना छ। 

दोलखामा प्रख्यात रोल्वालिङ क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र, कालिन्चोक, भीमेश्वर, जिरी उपत्यका, शैलुङ, च्छोरोल्पा ताल लगायत असंख्य सम्पदा छन्। प्रकृतिका कतिपय अमूल्य रत्नहरू ओझेलमै छन्।

पर्यटकीय हिसाबले भीमेश्वर, कालिन्चोक र जिरी चम्किसके। शैलुङ, बिगु, च्योर्दोङेश्वर, पाँचपोखरी आदि चम्कने क्रममै छन्। यसरी धेरै ठाउँलाई चम्काउन बाँकी नै छ। कतिपय ठाउँमा पर्यटनलाई चाहिने आवश्यक पूर्वाधार जस्तै बिजुली, पानी, सडक, सञ्चार, होटल आदिको सुविधा छ। कतिपय ठाउँमा पूर्वाधार विकासका काम भैरहेका छन्।

आन्तरिक तथा बाह्य दुवै खाले पर्यटक दोलखामा रमाउन सक्छन्। दोलखामा चम्किसकेका गन्तव्यमा हेर्दा आन्तरिक पर्यटककै भीड देखिन्छ। आखिर दिगो पर्यटनको आधार आन्तरिक पर्यटक नै हुन्।

हामीले आन्तरिक र बाह्य दुवै खाले पर्यटनमा जोड दिनुपर्छ। मुलुकले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका बेला दोलखाली तन्नेरी लिलाराम खड्काको नेतृत्वमा ‘जाऔं है दोलखा अभियान’ सुरु हुँदैछ। 

 

खड्का ‘प्रगतिशील युवा सशक्तिकरण केन्द्र’ मार्फत् विगत एक दशकदेखि विशेषतः रमणीय उपत्यका जिरीको पर्यटन प्रवद्र्धन र विकासमा क्रियाशील रहँदै आएका छन्। उनले गृह जिल्लाको समग्र पर्यटनमा योगदान पु-याउन ‘जाऔं है दोलखा’ अभियानको अगुवाइ गरेका।

पछिल्लो समय उनीहरूले खोलेको संस्था ‘पर्यटन प्रवद्र्धन मञ्च नेपाल’को व्यानरमा  अभियान सञ्चालन हुँदैछ। ‘स्थापित गन्तव्यहरूका साथै’, अभियानका संयोजक समेत रहेका खड्का भन्छन्, ‘ओझेल परेका सम्पदाहरू पनि उजागर गर्नेछौं।’ 

‘जाऔं है दोलखा’ मुलतः प्रचारात्मक अभियान हो। यसले दोलखाबासीमा आफ्नोपनप्रति गौरब गराउँदै पर्यटन चेतना बढाउनेछ। साथै सांस्कृतिक जागरण ल्याउन मद्दत गर्नेछ। यसबाट पर्यटक समेत बढ्ने आशा गरिएको छ।  

दोलखाका गाउँपालिका, नगरपालिका, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, यातायात व्यवसायी संघ, पत्रकार लगायत सबैको हातेमालोमा अभियान सञ्चालन गरिने खड्का बताउँछन्। अभियानको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० रहनेछन्।

खड्काका अनुसार चाँडै अभियानको शुभारम्भ काठमाडौंमा गरिनेछ। शुभारम्भमै दोलखाको पर्यटकीय सम्भावना झल्काउने बुकलेट, पोष्टर, ब्रोसर, झोला लगायत प्रवद्र्धनात्मक सामाग्री सार्बजनिक र वितरण गरिनेछ।

वर्ष दिनसम्म चल्ने अभियानमा डेढ दर्जन कार्यक्रम गरिनेछन्। अभियानले काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, रामेछाप लगायत विभिन्न ठाउँमा दोलखाको प्रचार गर्न बोर्डहरू राख्नेछ। त्यसैगरी काठमाडौंबाट दोलखा र काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा प्रचारात्मक स्टिकर टाँसिनेछ।

अभियानको अर्को कार्यक्रम ‘दोलखा काव्य–यात्रा हुनेछ’। मुलुकका स्थापित कवि, लेखक तथा पत्रकारलाई जिरी, शैलुङ, कालिन्चोक, भीमेश्वर लगायत ठाउँमा घुमाइनेछ। उनीहरूको कलमबाट दोलखा चम्किने आशा गर्न सकिन्छ। 

यही वर्ष च्छोरोल्पाबाट नागीडाँडा हुँदै जिरी बजार झर्ने पदमार्गका साथै गौरीशंकर बेस क्याम्पको समेत अध्ययन भ्रमण गरिनेछ। त्यस्तै जिरी हुँदै जटापोखरी र पाँचपोखरी पुग्ने पदमार्गको पनि अध्ययन गरिनेछ। 

त्यसबाहेक क्यालेण्डर प्रकाशन, फोटो प्रदर्शनी, झरनाहरूमा क्यानोनिङ खेलको सम्भाव्यता अध्ययन, तामाकोसीमा राफ्टिङ, साइक्लिङ पर्यटनको संभावनाको खोजी गरिनेछ। अभियानमै दोलखाका पर्यटनकर्मीलाई तालिम, पत्रकारलाई पुरस्कार वितरण, वृत्तचित्र निर्माण, दोलखा चिनाउने पुस्तक प्रकाशन लगायतका कार्यक्रम गरिनेछ। 

अभियान चलाउन पैसा चाहिन्छ। कसैले बजेट दिएकाले खड्काले अभियान  चलाउन लागेका होइनन्। मातृभूमिप्रतिको माया र कर्तव्यबोधले उनी अघि बढ्दै छन्। ‘कार्यक्रमको शुभारम्भमा लाग्ने खर्च म आफैं बेर्होछु’, खड्का भन्छन्, ‘बाँकी कार्यक्रमका लागि दोलखाली लगायत सरोकारवाला सबैले सहयोग गर्नेमा पूर्ण आशावादी छु।’
राम्रो अभियानमा हिँडेकामा तन्नेरी लिलारामको समूहलाई शुभकामना !

जन्मभूमिको माया
लिलाराम खड्का,संयोजक, जाऔं है दोलखा


पर्यटकीय हिसाबले हाम्रो दोलखाको भविष्य उज्वल छ। हामीले आजैदेखि आफ्नो ठाउँको सम्भावना पहिचान गरेर उजिल्याउन सक्यौं भने मात्र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्छौं। यही सोचेर जन्मभूमिको ऋण तिर्न हामीले जाऔं है दोलखा अभियान सुरु गरेका हौं। दोलखाबासी लगायत सबैको हातेमालोमा अभियान सफल बनाउने छौं।
सम्पर्क : ९८४९३०३९२०

प्रकाशित: २६ पुस २०७६ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App