८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नेको संख्या न्यून

रसुवा – रसुवामा राष्ट्रिय परिचयपत्र निर्माणका लागि विवरण दर्ता गराउनेको संख्या अत्यन्त न्यून छ। पाँच महिनाअघि परिचयपत्रका लागि विवरण दर्ता गर्न थालिएको थियो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले परिचयपत्र निर्माणका लागि विवरण दर्ता गर्न आउने सेवाग्राही खासै नभएका प्रतिक्रिया दिए। ‘त्यही विवरण दर्ता गर्छु भनेरै आउनेको संख्या कम छ,’ उनले भने, ‘पछिल्लो समय नागरिकता बनाउन आउनेहरूको मात्रै विवरण दर्ता भइरहेको छ।’

२०७६ साउन १५ गतेदेखि पुस २४ गतेसम्म एक हजार ६ सय ५३ जनाले विवरण दर्ता गराएका छन्। यो संख्या जिल्लामा नागरिकता बनाएकाको ३.३८ प्रतिशत हो। २०२० साउन १ गतेदेखि यही पुस २४ गतेसम्म जिल्लाबाट ४८ हजार नौ सय एकजनाले नागरिकता लिएका छन्। विवरण दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा दुई डेक्सको व्यवस्था गरिएको छ। ‘एउटा डेक्सबाट दैनिक ४० जनाको विवरण दर्ता गर्न सकिन्छ,’ प्रजिअ भण्डारीले भने। दैनिक ८० वटा विवरण दर्ता गर्न सकिने भए पनि २५ वटासम्मको मात्र भएको उनको भनाइ छ। एउटा विवरण भर्न १५ मिनेट लाग्छ। डेक्समा दुई जना प्राविधिक राखिएका छन्। विवरण भर्दा २०७० सालको मतदाता परिचयपत्रसँग ‘म्याच’ गराइन्छ।

जिल्लाका २७ वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको प्रजिअ भण्डारीले बताए। परिचयपत्र निर्माण गरेपछि नेपाली नागरिकको व्यक्तिगत तथा जैविक विवरणसहितको विवरण खुल्नेगरी विद्युतीय प्रणालीबाट तथ्यांक तयार गरिनेछ। परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले तोकेको निकाय वा अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्छ। परिचयपत्र प्राप्त गर्न चाहनेले केन्द्रले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्बिर, दुवै हातका १० औंलाका डिजिटल छाप, हस्ताक्षरलगायत व्यक्तिगत तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ।

प्रकाशित: २६ पुस २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App