coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रतिस्पर्धी व्यवसाय गर्न नयाँ प्रविधि

काठमाडौं- नयाँ प्रविधिको प्रयोगले व्यवसायको हरेक क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाएको छ। यसबाट जुत्ता चप्पल उत्पादन पनि बाहिर रहन सक्दैन। तर, परम्परागत शैली र नयाँ प्रविधि आत्मसाथ गर्न नसक्दा नेपाली जुत्ताचप्पल व्यवसायीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्। त्यसमाथि गत वर्षको भूकम्प र नाकाबन्दीले नेपाली जुत्ता चप्पल उद्योगलाई असर गरेको छ।

छालाजुत्ता चप्पलमा आत्मनिर्भर र निर्यात बढाउन कच्चा पदार्थ र प्रविधिमा सुधार गर्नुपर्ने व्यवसायीले उठाउँदै आएको आवाज हो। दक्ष जनशक्तिको अभाव र नयाँ प्रविधिको आत्मसाथ गर्न नसक्दा व्यवसायीले चाहे अनुसारको प्रगति हुन नसकेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविन कुमार श्रेष्ठले बताए।

'अहिले धेरै उद्योग नयाँ प्रविधिमा आउन सकेका छैनन्,' श्रेष्ठले भने, 'केही उद्योगले नयाँ प्रविधि ल्याए पनि धेरै परम्परागत रुपमै चलेका छन्।' यसको कारण सरकारको सहयोग नहुनु, आवश्यक तालिमको व्यवस्था नहुनु रहेको श्रेष्ठको भनाइ छ। त्यसमाथि देशमा विभिन्न समयमा आइपर्ने समस्याले पनि यस उद्योगलाई थिचिरहेको छ। 

आत्मनिर्भरको बाटोमा रहेका नेपाली छाला जुत्ता चप्पलले स्वदेशको मागमध्ये भूकम्प अघिसम्म झन्डै ६५ प्रतिशत पूरा गरिरहेको थियो। दूर्भाग्य, गत वर्षको भूकम्प र नाकाबन्दीले व्यवसाय नै ओरालो लाग्ने अवस्था आएको छ। 'अहिले हामीले मागको झन्डै ४०–४५ प्रतिशतमात्र पुर्‍याउन सकेका छौं,' एसोसियसनका निवर्तमान अध्यक्ष होमनाथ उपाध्यायले भने, 'भूकम्प, नाकाबन्दी र चोरीपैठारीले स्वदेशी उत्पादनलाई असर गरेको छ।'

पछिल्लो सयम भारतको खुला सीमानाकाले गर्दा चोरीपैठारी बढेको छ। खुला विश्व बजार भएकाले आयात निर्यात भइरहने हुँदा आयात रोक्न नसके पनि स्वदेशलाई चाहिने जुत्ता नेपालमै उत्पादन गर्न सक्ने क्षमता भने रहेको व्यवसायी बताउँछन्।

स्वदेशमा उत्पादन भइरहेका जुत्ता चप्पलको निर्यात पनि बढ्दै गएको छ। नेपालबाट खासगरी किरण सुज म्यानिफ्याक्चरका गोल्डस्टार जुत्ता निर्यात धेरै भइरहेको छ। उपाध्ययका अनुसार यी जुत्ताहरू वार्षिक सवा अर्ब रुपैयाको भारत लगायत अन्य देशमा निर्यात भइरहेका छन्। 'छालाका जुत्ता चप्पल निर्यातको लागि हामीले अझै केही मेहनत गर्नुपर्ने देखिन्छ,' उपाध्यायले भने, 'डिजाइनिङ र लुक्समा पनि ध्यान दिन जरुरी छ।'

जुत्तासँगै छालाबाट बनेका ज्याकेट, पर्स, ब्याग, बेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन्। नेपाली जुत्ता, चप्पलहरू भारत, चीन, भुटान लगायतका देशमा निर्यात भइरहेका छन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा २ अर्ब ३६ करोड ३१ लाख १२ हजार रुपैया बराबरको 'फुटवयर' निर्यात भएको तथ्यांक छ।

ठूलो संख्यामा नेपाली जुत्ता निर्यात हुने गरेको भए पनि छालाबाट उच्चस्तरका केही जुत्ताको मागलाई पूरा गर्न नसकिएको अवस्था छ। बजारको मागलाई अझै पनि केही पूरा गर्न बाँकी नै छ। बजारमा खोजिने उच्च डिजाइनिङ, लेडिज जुत्ता चप्पलको माग बारिहबाट पूरा गर्नु परिरहेको अवस्था छ। 'उपभोक्ताले खोजे अनुसारको जुत्ता चप्पल उपलब्ध गराउन नसकेको अवस्था पनि छ,' श्रेष्ठले भने, 'यसका लागि प्रविधि, गुणस्तर र तालिमको आवश्यकता छ।'

पछिल्लो समय जुत्ता चप्पल उत्पादनसँगै यसलाई चाहिने कच्चा पदार्थ पनि तयार हुँदै गएकाले केही वर्षभित्रै छाला जुत्ता चप्पल उद्योगमा आत्मनिर्भर हुने व्यवसायीको भनाइ छ। जुत्ता चप्पल उद्योगसँग हामीलाई चाहिने सहायक कच्चा पदार्थ उत्पादन उद्योग पनि स्थापना हुँदैछन्,' अध्यक्ष श्रेष्ठले भने, 'अहिले स्वदेशमा चाहिने सोलमा आत्मनिर्भर भइसकेका छौं।' कच्चा पदार्थ उत्पादन गर्ने उद्योगहरू थपिँदै गएको उनी बताउँछन्।

जुत्ता बनाउन चाहिने तीन–चार थरीका सोलमध्ये पिभिसी, पियु सोल नेपालमै बन्न थालेका छन्। जुत्तामा सबैभन्दा धेरै प्रयोग हुने पियु सोल उत्पादन गर्ने उद्योग नेपालमै स्थापना हुन थालेको उद्योगीको भनाइ छ। जुत्ता प्याक गर्ने बक्स र जुत्तामा प्रयोग गरिने कटन क्यानभास पनि काठमाडौंकै कपडा प्रयोग गर्न थालिएको छ।

जुत्ता चप्पल बनाउनको लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थको आवश्यकता पर्छ। त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ नेपालमा पाइने र अरु सबै बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको छ। 

कच्चा पदार्थ, प्रविधि र दक्ष जनशक्तिलाई सुधार गर्ने हो भने नेपाली जुत्ता चप्पल उद्योगले ठूलो फड्को मार्ने व्यवसायी बताउँछन्। जुत्ता चप्पल बनाउनका लागि चाहिने छाला, सोल, केमिकल लगायत कच्चा पदार्थ भारत, पाकिस्तान, चीनबाट ल्याइन्छ। उच्चस्तरका कच्चा छाला प्रशोधन मेसिन, डिजाइनिङ प्रविधिलाई उद्योगीसँग सरकारले पनि प्राथमिकतामा राख्नु पर्ने व्यवसायीको भनाइ छ। आधुनिक मेसिन, छाला प्रशोधन गर्ने ठूला मेसिन स्थापना गर्न ठूलो लगानी गर्न सक्ने अवस्था नभएकाले सरकारको पहल गर्नुपर्ने व्यवसायी बताउँछन्। 'धेरै व्यवसायीले रिस्क लिन चाहँदैनन्,' श्रेष्ठले भने।'   

त्यस्तै, जुत्ता चप्पल उत्पादन गर्ने दक्ष जनशक्तिको अभाव भएको व्यवसायीको भनाइ छ। दक्ष जनशक्ति उत्पादन गर्ने संस्कार नहुदा र तालिमको व्यवस्था नहुदा धेरै जनशक्ती बाहिरबाट ल्याउनु परेको श्रेष्ठले बताए। डिजाइनिङ लगायतका मूख्य काम गर्नको लागि भारत, बंगलादेशबाट दक्ष जनशक्ती आउँछन्। 'यो उद्योगमा जनशक्तीको अभाव भएकाले ट्रेनिङ सेन्टरको अवश्यकता छ,' श्रेष्ठले भने, 'सरकारसँग एक ट्रेनिङ सेन्टर खोल्न विशेष आग्रह गरिरहेका छौं।'

उपाध्ययका अनुसार देशभरमा हाल छाला जुत्ता तथा चप्पलका झन्डै २ हजार उद्योग सञ्चालमा रहेका छन्। यी उद्योगहरूले प्रत्यक्ष रुपमा १ लाख ५० हजार रुपैयाँभन्दा धेरैलाई रोजगारी दिइरहेका छन्। यस क्षेत्रमा १५ अर्ब रुपैयाँ लगानी भएको र वार्षिक ३५ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको उपाध्यायले बताए। त्यसमध्ये ८ सय ५० घरेलु उद्योगमा र २ सय ५० उद्योग कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका छन्। झन्डै ५ सयको हाराहारीमा घरघरमा स–सना जुत्ता चप्पल उत्पादन गरिरहेका छन्। अहिलेसम्म दुई वर्षअघिको तथ्यांक प्रयोग गरिरहेको र अहिले नयाँ तथ्यांकको अध्ययन भइरहेकाले कही महिनाभित्र नयाँ तथ्यांक आउने उपाध्यायले बताए।

प्रकाशित: ८ पुस २०७३ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App