८ वैशाख २०८१ शनिबार
अर्थ

जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

नेपाल जुत्ताको बजार विस्तार गरी उपभोक्तासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नको लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको छ। आगामी ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६० उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता–चप्पल राखिएको छ। छुट र वारेन्टीसहित कम्पनीका १ सय १५ स्टल राखिएको छ। प्रर्दशनीमा अवलोकन गर्नेको भीड लागेको छ। यसले स्वदेशी जुत्तामा उपभोक्ताको आकर्षण बढिरहेको देखाउँछ। कम्पनीकै स्टल भएकाले प्रयोगकर्ताले सस्तो र गुणस्तरीय सामान पाएको दाबी आयोजकको छ। नेपाली बजारको करिब ६५ प्रतिशत हिस्सा ओगटेका जुत्ता उद्योगले स्वदेशमा मात्र नभएर विदेशी बजारमा उत्पादन पुर्‍याएका छन्। करिब १५ अर्ब रुपैयाँ लगानी रहेको फुटवेयर उद्योगले वार्षिक करिब २ अर्बका जुत्ता, चप्पल निर्यात गर्दै आएका छन्। यहाँ आयोजना गरिएको मेला, नेपाली जुत्ता उद्योगको अवस्था, बजार, नीतिगत समस्याको विषयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पदाधिकारी लगायत सम्बद्ध व्यवसायीसँग नागरिकका दिलीप पौडेलले गरेको कुराकानीका आधारमा तयार गरिएको सामग्री :

प्रमाणित गुणस्तर

रविन कुमार श्रेष्ठ,

अध्यक्ष—फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल

(कार्यकारी निर्देशक–कोसेली छालाजुत्ता उद्योग)

हामीले १३ वर्षदेखि निरन्तर प्रदर्शनी आयोजना गर्दै आएका छौं। मेलामा उपभोक्तासँग उत्पादकले सिधै अन्तर्क्रिया गर्ने अवसर पाउँछ। यसले आगामी दिनमा कसरी योजना बनाएर अघि बढ्न सकिन्छ भन्ने सुझाव प्राप्त हुन्छ। यो प्रदर्शनीबाट उपभोक्तालाई निकै फाइदा पुगेको छ। हाम्रा ग्राहकहरु कहिले प्रर्दशनी हुन्छर जुत्ता किनौंला भनेर कुरेर बस्ने गर्छन्। प्रर्दशनीमा ६० उद्योगका करिब सवा सय स्टल छन्। नेपाली जुत्ताको राम्रो पक्ष भनेको विदेशी वस्तुलाई निरुत्साहित गर्दै स्वदेशमा आत्मनिर्भर हुने र विदेश निर्यात गर्ने ठाउँमा आएका छौं। अहिले मुलुकमा ११ गुणा व्यापार घाटा भएको अवस्थामा जुत्ता उद्योगले करिब २ अर्ब रुपैयाँको जुत्ता निर्यात गरेर केही सहयोग पुगेको छ। निर्यातको दर वृद्धि गर्दै जाने हो भने मुलुकलाई ठूलो फाइदा पुग्छ। नेपाली जुत्ता उद्योग संस्थागत र व्यक्तिगत रुपमा लगानीमा खुलेका छन्। सरकारले सार्वजनिक खरिद ऐनमा नेपाली वस्तुलाई १५ प्रतिशत महँगो भए पनि प्रयोग गर्न सक्ने प्रावधान राखेकोले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न लागेको देखिन्छ। नेपाली जुत्ता प्रयोग गर्ने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामति, स्कुले विद्यार्थीले नेपाली जुत्ता प्रयोग गर्छन्। सरकारले पोसाक भत्ता दिएर प्रोत्साहन गरेको छ। त्यसमा पनि जुत्ता अनिवार्य गरेमा अझै राम्रो हुन्थ्यो। हाम्रा उद्योग प्रविधियुक्त भएकाले गुणस्तरमा पनि क्वालिफाइड छन्। यहाँ गुणस्तर र नेपाली उद्योग क्वालिफाइड हुन कठिनछ। उद्योगले अधिकांश स्वदेशी कच्चा पदार्थनै प्रयोग गर्न थालेका छन्। नेपाली छालाको सोल बनाउने, लाइनिङ, केमिकल पनि प्रयोग गरेका छन्। मेरो आफ्नै कोसेली ब्रान्डका जुत्ता दुई दशकदेखि नेपाली बजारमा उपभोक्ताले रुचाएका छन्। स्कुल कलेजको सेग्मेन्टसहित सेफ्टी जुत्ता, पार्टी जुत्ता उत्पादन गर्दै आएका छौं।

फुटवेयर जोन स्थापना गर्नुपर्‍यो

मनोज श्रेष्ठ, संयोजक–राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला

(कार्यकारी अध्यक्ष, स्काई सू)

देशभर छरिएर रहेका उत्पादनप्रदर्शनी गर्नमेलाआयोजना गरिएको हो। उपभोक्ता र बिक्रेतालाई एउटै थलोमा अन्तर्क्रिया गराई दुवैतर्फबाट फिडब्याक लिन यसले सघाउ पुगेको छ। उपभोक्ता सुझावको आधारमा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं। जुत्ता प्रयोगकर्ताले एकै थलोमा विभिन्न ब्रान्डेड जुत्ता छानेर किनेका छन्।

समग्र नेपाली फुटवेयरको अहिले विस्तारै फस्टाएको छ। जुन एक दशकको इतिहासमा ०७१/७२सम्म ग्रोथ राम्रो थियो। गत वर्ष भारतको नाकाबन्दी, भूूकम्प र अस्थिर वातावरणले यो उद्योग सञ्कुचन भएको थियो। करिब ६५ प्रतिशत नेपाली उत्पादनले बजारको हिस्सा ओगटेको थियो। गत वर्ष ४२ प्रतिशतमा झरेको थियो। वार्षिक २ अर्ब रुपैयाँको जुत्ता निर्यात हुन्छ। चौमासिकमा सुधारोन्मुख रहेको छ। नयाँ सम्भावना छ। नेपालमा ५ करोड जोर खपत हुन्छ। यो उद्योगमा करिब १५ अर्ब लगानी भएको छ भने ५५ हजारले प्रत्यक्षसहित साढे २ लाख जतिले रोजगारी पाएका छन्। यसमा लगानीकर्ताको आकर्षण बढेको छ। भारत लगायत मुलुकमा निर्यात भएकोले लगानी अझै बढाउन सक्ने सम्भावना छ। सरकारले निर्यातजन्य वस्तुमा सूचीकृत गरेकोले फुटवेयर जोन स्थापना गर्नुपर्‍यो।

निर्यातका लागि केही मापदण्ड पूरा गर्नुपर्छ। ल्याब टेस्टगर्नुपर्ने भएकाले गुणस्तर प्रमाणीकरण गर्ने निकाय स्थापना गर्नु आवश्यक छ। मेरो उद्योगको उत्पादन स्काई ब्रान्डको जुत्ताले बजारमा प्रयोगकर्तालाई नयाँ के दिन सक्छ भनेर लागिरहेका छौं। स्काई सूले अहिले प्राकृतिक रेसालाई फुटवेयरको कच्चा पदार्थमा प्रयोग गर्न सुरु गरेको छ। अल्लो, सिस्नु, केराको रेसाप्रयोग गरेर जुत्ता उत्पादन गरिरहेका छौं। जुत्ता उद्योग असीमित अवसरको क्षेत्र भएकाले राज्यले पनि सघाउनु पर्छ।

जुत्ताका नयाँ सेग्मेन्ट ल्याएका छौं

महेश बाहेती, कन्ट्री हेड–म्याजिक फुटवेयर

प्रदर्शनीले हाम्रा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेको छ।यहाँ हामीले ६ वटा स्टल राखेका छौं। जयश्री कम्पनी, जयश्री पियु ,जयश्री पोलिमर्सका उत्पादन छन्। स्पोर्टस सूसहित स्कुलमा प्रयोग हुने जुत्ता बिक्री गरेकोले उपभोक्ताको राम्रो रेस्पोन्स पाएका छौं। उपभोक्तासँग सिधा अन्तर्क्रिया हुने थलो भएकाले हामीले सुझाव पाएका छौं। स्वदेशी मागलाई पूरा गर्नको लागि नयाँ–नयाँ सेग्मेन्ट ल्याएका छौं। हामीले म्याजिक सहित पियु, इभा, हवाई, पिभिसी चप्पल उत्पादन गरेर बजारमा उपभोक्तालाई सन्तुष्टि दिएका छौं। स्वदेशीमात्र नभएर विदेशी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं। नयाँ प्लान्ट थपेका छौं। विदेशबाट कच्चा पदार्थ ल्याएर निर्यात गर्न कठिन छ।हाम्रा उत्पादन भारत पनि निर्यात गरिरहेका छौं। प्रयोगकर्तालाई वारेन्टीको पनि व्यवस्था गरेका छौं। उच्च गुणस्तरको कच्चापदार्थ प्रयोग गरेकोले जुत्ता पनि गुणस्तरीय र टिकाउ रहेका छन्। विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यो क्षेत्रमा फड्को मार्नको लागि सरकारले उपयुक्त नीति नियम बनाउनु आवश्यक छ। आवश्यकता अनुसार जनशक्ति पाउने र सरकारले उपयुक्त वातावरण बनाए विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।

गुणस्तरीय र टिकाउ जुत्ता दिएका छौं

नवराज गौतम, प्रबन्ध निर्देशक–टाकुरा सू (सनराइज फुटवेयर प्रालि)

हामी विगत आठ वर्षदेखि मेलामा सहभागी भइरहेका छौं। अरुका भन्दा फरक युवा पुस्तालाई सुहाउने खालका टाकुरा ब्रान्डका जुत्ता ल्याएका छौं। हाम्रा हरेक उत्पादनमा एक वर्षको वारेन्टी दिएकाले मन जित्न सफल भएका छौं।उपभोक्ताको उत्साहजनक उपस्थिति रहेको छ। यहाँ आउनेले सबैले किनेका छन्। मेलामा किनेका जुत्ता मजबुत भएका छन्। नेपालमा उद्योग गर्ने वातावरण छैन। कच्चा पदार्थ ल्याउन  र कामदारमा समस्या रहेको छ। उद्योग चलाउनु रोग पाल्नु जस्तो भए पनि आशावादी छौं। दक्ष जनशक्ति पाउन कठिन रहेको छ। जुत्ता उद्योगमा ५० प्रतिशत आयातित कामदारबाट काम गराउनुपर्ने अवस्था छ। उनीहरु आएनन् भने काम गर्न कठिनाइ हुन्छ। मेलामा आकर्षणको रुपमा टाकुराको स्टलमा पाँच फिट लम्बाइ र साढे तीन फिट हाइट भएको जुत्ता राखेकाले सबै आकर्षित भएका छन्। हाम्रो  उत्पादनमा विगतमा प्रयोग गरेका उपभोक्ताले अहिले सिधै स्टलमा आएर जुत्ता किनेर जानुभएकाले पनि हामीलेगुणस्तरीय र टिकाउ जुत्ता बिक्री गरिरहेका छौं भन्ने प्रमाणित भएको छ। युवा पुस्तालाई आकर्षित गर्नविभिन्न मोडलका जुत्ता तयार गरेका छौं।

रुचि अनुसारका डिजाइन दिन सक्छौं

कृष्णकुमार फुँयाल, प्रबन्ध निर्देशक–क्रस रोड(लालीगुराँस फुटवेयर)

हामीले क्रस रोड ब्रान्डमा स्कुल, कलेज, जेन्स, अफिसिल जुत्ता उत्पादन गर्दै आएका छौं। करिब १५ वर्षदेखि जुत्ताबाट उपभोक्ताको मन जित्न सफल भएका छौं। स्वदेशी उत्पादन गर्ने सरकारको नीति स्वागतयोग्य छ। यो पूर्णतः कार्यान्वयन गर्न सके नेपाली फुटवेयर उद्योगलाई राहत पुग्छ। स्वदेशी बजारको मागपूरा गरेर निर्यात गर्न सक्ने सम्भावना पनि छ। सरकारले यहाँको जुत्ता उद्योगफस्टाउनपूर्वाधार र प्रविधिको विकासमा सघाउनु पर्छ। केही वर्षअघिसम्म जुत्ता–चप्पलको क्षेत्रमा विदेशीको बोलवाला थियो। परम्परागत रुपमा सीमित वर्गले व्यवसाय गर्दै आएकोमा अहिले उद्योगकै रुपमा विकास भएको छ।विदेशीबाट सीप, प्रविधि, उपकरण ल्याएर यहाँ प्रयोग गर्न सके नेपालको फुटवेयर उद्योगले फड्को मार्न सक्ने अवस्था छ। यहाँ दक्षजनशक्ति छैन। तालिम दिने संस्थाको कमी छ। छिमेकी भारतमा जुत्ता–चप्पलमा ठूलो डिजाइनरदेखि सबै प्रकार संस्था छन्। यी कामहरु हुनुपर्छ। हामीले पनि सिक्दैछौं। सरकारी तवरबाटविदेशमाअवलोकन गराउनुपर्छ। हामीले पाँच सय भन्दा बढी डिजाइनका गुणस्तरीय वारेन्टी दिएर उपभोक्ताको रुचि र माग अनुसारका विभिन्न मूल्यका जुत्ता दिएका छौं। व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ।

प्रकाशित: ८ पुस २०७३ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App