५ वैशाख २०८१ बुधबार
खेल

प्रदेश स्तरीय भदौरे गणेश कपमा ११ जिल्ला

सिन्धुपाल्चोक- नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ३ नम्बर प्रदेश स्तरीय प्रथम भदौरे गणेश कप भलिबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।

चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा एक साता चल्ने प्रतियोगितामा प्रदेशका ११ जिल्लाले सहभागिता जनाएका छन्। प्रतियोगिताको पूर्वसन्धामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। भलिबल प्रतियोगितामा जिल्लामै सबैभन्दा बढी धनराशीको यो प्रतियोगितामा रसुवा र काठमाडौं बाहेक अरु जिल्लाले सहभागिता जनाएको आयोजक भदौरे गणेश सामुदायिक संस्थाका अध्यक्ष रविन गौतमले बताए।

‘प्रतियोगिताको सबै तयारी पूरा भएको छ। विभिन्न जिल्लाबाट खेलाडी आउने क्रम जारी छ,’ उनले भने। उनका अनुसार प्रतियोगिताका बिजेताले दुई लाख दुई हजार दुई रुपैयाँ, उपबिजेताले एक लाख एक हजार एक रुपैयाँ नगद पुरस्कार हात पार्ने छन्। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरिने छ। प्रतियोगिताका बिधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिइनेछ।

भ्रमण वर्षको प्रवद्र्धनमा टेवा पुर्‍याउँदै स्थानीय प्रयासबाट खेल क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौतमले जानकारी दिए। उनका अनुसार आयोजकले खेलाडीहरुलाई स्थानीय होमस्टेमा राख्ने व्यवस्था मिलाएको छ। ‘एक जिल्ला, एक होमस्टेका दरले खेलाडीहरु व्यक्तिको घरमा बस्ने छन्,’ यस्तो व्यवस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउने बताउँदै उनले भने।

नेपाने युथ क्लव सहआयोजक रहेको प्रतियोगितालाई ३ नं. प्रदेशको सामाजिक विकास मन्त्रालय, चौतारा साँगाचोकगढी नगरपालिका, यो नगरको वडा नं. ७ ले प्रवद्र्धन गरेका छन्। आउँदो माघ १ गते संक्रान्तिका दिन प्रतियोगिता समापन हुनेछ। प्रवद्र्धक नगरका प्रमुख अमानसिं तामाङले उद्घाटन गर्ने प्रतियोगिताको समापन सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नेछन्।

प्रतियोगिताको फाइनल पुग्ने दुई जिल्लाका खेलाडीलाई अन्तिम प्रतिस्पर्धाअघि गणेस्थान भ्रमण र दर्शन गराउने आयोजकको कार्यक्रम छ। भ्रमण वर्षको प्रचारलाई सघाउने भएकाले धार्मिक, साँस्कृतिकस्थल अवलोकनको कार्यक्रम राखिएको प्रवद्र्धक वडाका अध्यक्ष उमाप्रसाद दुलालले बताए।

प्रतियोगिता सम्पन्न गर्न झण्डै २४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन्। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालय र चौतारा नगरले पाँच/पाँच लाख र वडाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। बाँकी रकम चन्दा संकलनबाट जुटाइने छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सिन्धुपाल्चोकका एक खेलाडीलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार दिने चौतारास्थित ग्लोबल आइएमइ बैंक शाखाले घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रकाशित: २५ पुस २०७६ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App