७ वैशाख २०८१ शुक्रबार
समाज

पार्किङ र रुट परमिटको नाममा भारतीय पर्यटकलाई सास्ती

भैरहवा - स्थल मार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकामा अव्यवस्थित पार्किङ र अतिरिक्त शुल्कका कारण पर्यटकले सास्ती खेप्नु परेको छ। भारतीय गाडीसहित नेपाल  आउने पर्यटकले सवारीसाधन भन्सार सुविधा लिनु पर्छ। भन्सार सुविधा लिन सिद्धार्थनगर नगरपालिकाले व्यवस्था गरेको भन्सार अघिल्लतीरको पार्किङ स्थलमा अनावश्यक झन्झट र अतिरिक्त शुल्क तिर्नु परेको गुनासो पर्यटकले गरेका छन्।

   पार्किङ गरे वापत नगरपालिकाले प्रति घण्टा स्वदेशी सवारीसाधनमा  मोटरसाइकल १०, जीप कार भ्यान २५, मिनीबस ५० र बसको ७५ रुपैया शुल्क तोकेको छ। भारतीय सवारी साधनको मोटरसाइकल १०, जीप कार भ्यान ४०, टुरिष्ट मिनीबस १०० र टुरिष्ट बस पार्किङको १६०(भ्याट बाहेक) शुल्क तोकीएको छ। जसका लागि नगरपालिकाले वडा नं. १ बेलहियाका अर्जुन क्षेत्रीसँग ठेक्का सम्झौता गरेको छ।

नगरपालिकाले ठेकेदारसगँ गरेको १० बुदे सम्झौतामा नै पार्किङ स्थलमा शुल्क सम्बन्धी सूचना पाटी बनाई सबैले देख्ने गरी राख्नु पर्ने, पार्किङका कर्मचारीले परिचय पत्र अनिवार्य लगाउनु पर्ने, तोकिएकोे पार्किङ शुल्क मात्रै लिनु पर्ने अन्यथा जरीवाना गरीने उल्लेख छ। तर गाडी पार्कीमा तोकीएको भन्दा चर्को मुल्य लिइएको गुनासो पर्यटन व्यवसायी र भारतबाट आउने पर्यटकहरुले समेत गुनसो गर्देै आएका छन। त्यस्तै पार्किङ स्थलमा शुल्कको सूची पनि राखिएको छैन।  कर्मचारीसँग आइडि कार्ड समेत छैन।

भारतीय सवारीसाधन जीप कार पार्किङ गर्दा पार्किङ स्थलका कर्मचारीहरुले मनपरी ढंगले रकम लिएको गुनासो छ। भारतको गोरखपुरबाट परिवारसहित आएका अहमद मन्सुरीले सानो गाडी आधा घण्टा पार्किङ गरेर भन्सार गराउन गएको र गाडी निस्किने बेला पार्किङ शुल्क भारतीय १ सय रुपैया लिएको गुनासो गरे।

त्यस्तै भैरहवास्थित यातायात व्यवस्था कार्यालय अगाडि रुट परमिट लिन आएका यूपी ३५१२ नम्बरको गाडीका चालकले बेलहियामा पार्किङ गरेवापत ४० रुपैयाको रसिद दिएर कर्मचारीले ५० रुपैया मागेको बताए। बुद्ध नेपाल पार्किङ नामबाट जारी भएको रसिदमा ४० रुपैया तोके पनि ५० दिए चालकले भने। पार्किङ सगै बेलहिया देखि ४ किलोमिटर यता भैरहवा आएपछि रुट प्रमिट लिन पनि त्यस्तै  समस्या भएको उनले बताए। अस्थायी पटके इजाजत (रुट प्रमिट) वापत ५१० रुपैयाको रसिद दिए पनि ६१० रुपैया तिर्न परेको ती गाडी चालकले गुनासो गरे।

भैरहवा भन्सार कार्यालयले राति १० बजेसम्म भारतीय गाडीको भन्सार गरे पनि सीमा भन्दा ४ किलोमिटर भित्र भैरहवामा रहेको यातायात व्यवस्था कार्यालयले ८ बजे सम्म मात्र रुट प्रमिट दिने व्यवस्था छ। ८ बजेपछि आएको सवारीसाधन काठमाण्डौ जान परे काठमाण्डौमै २४ घण्टै प्रमिटको व्यवस्था गर्छन् अन्यका लागि यातायात कार्यालयका कर्मचारीलाई फोन गरेर बोलाएर अतिरिक्त शुल्क दिए मात्र रुट प्रमिट दिने गरेको पर्यटन व्यवसायीहरुले गुनासो गरे।
पार्किङ शुल्ककै विषयमा बेलाबेलामा विवाद भइरहन्छ। गलत ढंगले बढी रकम अशुली गर्दा पर्यटकहरुमा नेपाल प्रति गलत  सन्देश जाने स्थानीय बताउँछन्। कमाउ धन्दा बनाउदै आइरहेका कर्मचारीले पर्यटकहरूबाट अतिरिक्त रकम असुल्ने कामबाट नेपालकै दुस्प्रचार भइरहेको छ। रकम असुलिरहेको सूचना सम्बन्धित निकायलाई थाहा हुदाहुदै पनि यस्तो कर्तुत रोक्न ठोस कदम उठाइएको छैन। ठेकेदार  अर्जुन क्षेत्रीका अनुसार सिजनमा सय भन्दा बढी भारतीय सवारीसाधन पार्किङका लागि आउछन्। यसरी आउने पर्यटकबाट दैनिक रुपमा हजारौ अतिरिकत रकम लिने गरेको माथिको घटनाले पुष्टि हुन्छ।

नगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद विकले भने पार्किङको विषयमा पटक पटक गुनासो आएकोले ठेक्का व्यक्तिलाई जानकारी गराएको र सुधारका लागि भने पनि हालसम्म कार्यान्वयन गरेको बताउछन्। हालै मात्रै सरुवा भएर आएका यातायात व्यवस्था कार्यालय भैरहवाका प्रमुख बोमलाल भण्डारीले दैनिक बीसदेखि सयको हाराहारीमा सवारीसाधन आउने गरेको बताए। पर्यटक सिजनमा अलि धेरै पनि आउछन कर्मचारी कम भए पनि विहान ८ वजेदेखि साझ ८ वजे सम्म सेवा दिइरहेका छौ, ५१० रुपैयाको रसिद दिएर सेवा दिन्छौ। । सहायक स्तरको कर्मचारीले रुट प्रमिट दिने भएकोले अतिरिक्त शुल्क लिएको जानकारी अझैसम्म नआएको र अतिरिक्त रकम लिएको पाइए कारबाही गरिने उनले बताए।

प्रकाशित: २५ पुस २०७६ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App