coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मध्यमाञ्चल र पुलिसको विजयी सुरुआत

धरान- मध्यमाञ्चल र नेपाल पुलिस क्लबको पुरुष फुटबल टोलीले सातौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टर मैदानमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० ले हरायो। पश्चिमाञ्चललाई राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले नेतृत्व गरिरहेका छन् भने नेपाली फुटबलका चर्चित खेलाडी विमल घर्तीमगर र हेमन गुरुङ खेलिरहेका छन्। बिहीबार पश्चिमाञ्चलले अपेक्षाअनुरुप खेल प्रर्दशन गर्न सकेन र पहिलो खेलमै हार सामना गर्नु पर्‍यो।

मध्यमाञ्चलको जितमा निरबहादुर आले, रुमेश बर्तौला र श्यामबाबुले समान १/१ गोल गरे।

१९ औं मिनेटमा निरबहादुरको गोलबाट अग्रता लिएको मध्यमाञ्चलका लागि ३२औं मिनेटमा रुमेशले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। ३९ औं मिनेटमा श्यामबाबुले गोल गरेपछि मध्यमाञ्चलले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो।

१८ औं मिनेटमा पश्चिमाञ्चलका विश्व अधिकारीको प्रहार मध्यमाञ्चलका गोलकिपर दिपेश यादवले सफलतापूर्वक रोके। ३५ औं मिनेटमा हेमन गुरुङको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। 

यसैगरी अर्को खेलमा पुलिसले पूर्वाञ्चललाई २–१ ले पराजित गर्‍यो। जितपछि पुलिस र मध्यमाञ्चलले समान ३/३ अंक जोडेका छन्। प्रतियोगिता लिग कम नकआउटको आधारमा भइरहेको छ।

बिहीबार पुलिसले पहिलो हाफमै २–० को अग्रता लिँदै खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको थियो। १९ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। भोला सिलवालको पासमा सुमनले गोल गरेका थिए। ३१ औं मिनेटमा बुद्ध लामाले गोल गरी पुलिसको अग्रता दोब्बर पारे। दोस्रो हाफमा भने पूर्वाञ्चलले लयमा फर्कने कोसिस गरेको थियो। ६९ औं मिनेटमा पूर्वाञ्चलका दिपक राईले गोल गरे।

पूर्वाञ्चलले दोस्रो हाफमा गोल गर्ने केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन। बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) का नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रतियोगिता उद्घाटन गर्दै नेपाली फुटबलमा नयाँ युग सुरु भएको बताए। प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल सशस्त्र प्रहरी एपिएफ र मध्यपश्चिमाञ्चलले खेल्नेछन्। अर्को खेलमा सुदुरपश्चिमाञ्चल र नेपाल आर्मी प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ पुस २०७३ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App