coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब घरमै बसेर लाइसेन्सको आवेदन

काठमाडौं- दुई साताअघि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुग्दा कीर्तिपुरका अमर डंगोल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिने लाममा भेटिए। डंगोल अघिल्लो दिनै बेलुका १० बजेदेखि नै लाममा बसेका थिए।

लाममा डंगोल एक्लो थिएनन्, उनीजस्तै अघिल्लो दिनदेखि नै बसेका सयौं भेटिन्थे। आवेदन दिने धेरै भएपछि दुई दिनदेखि लाइन बस्नु बाध्यता नै बनेको थियो। आइतबारबाट भने यस्तो बाध्यता हट्ने भएको छ। लाइसेन्स आवेदनका लागि कार्यालय नपुगी अनलाइनबाटै फारम भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ।

अनलाइन आवेदन सेवा सुरु भएसँगै कार्यालयमा लाग्ने भीडमा ८० प्रतिशत कमी हुने।

‘सेवाग्राहीको सास्तीलाई ध्यान दिई अनलाइन आवेदन लिने तयारी गरेका हौं,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘अर्को साताबाट आवेदन दिन लाइन बस्नुपर्ने बाध्यता हट्नेछ।’ उनका अनुसार आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अनलाइन आवेदन प्रणालीको उद्घाटन गरेसँगै लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ।

यसअघि मंसिर १४ गते यातायात व्यवस्था कार्यालय बागमतीको अनुगमनको क्रममा लाइसेन्सका लागि सास्ती देखेपछि मन्त्री लेखकले १० दिनभित्रै अनलाइन आवेदनको व्यवस्था गर्न निर्देशन दिएका थिए। विभागले सोही अनुसार काम थालेर सिंहदरबारमा रहेको गभरमेन्ट इन्टिगे्रटेड डाटा सेन्टर (जिआइडिसी) मा बिहीबार नै सिस्टम जडान गरिसकेको छ। अनलाइन आवेदन सुरु भएसँगै कार्यालयमा आवेदनको लागि लाग्ने भीडमा ८० प्रतिशत कमी हुने विभागले जनायो। आवेदकले नै आफैंले नहतारिई फारम भर्ने हुँदा गल्तीसमेत नहुने अनुमान गरिएको छ।

अहिले कार्यालयमा लाइसेन्सका लागि आवेदन दिन दैनिक ७ सयको हाराहारीमा सर्वसाधारण पुग्ने गरेका छन्। त्यति नै संख्यामा बिचौलिया पनि हुँदा कार्यालयमा ठूलै भीड लाग्दै आएको छ। अनलाइन आवेदनसँगै बिचौलिया हाबीसमेत हट्ने प्रवक्ता पाण्डेले दाबी गरे।

लाइसेन्सको अनलाइन फारम पहिलो चरणमा बागमती अञ्चलमा मात्रै लागू हुनेछ। अनलाइन फारम सेवा स्मार्ट कार्ड प्रणाली लागू भएका कार्यालयमा मात्रै रहने विभागले जनायो। बाँकी कार्यालयमा पनि केही महिनाभित्रै स्मार्ट कार्ड प्रणाली लागू गरी अनलाइन आवेदनको व्यवस्था गरिने विभागले जनायो।

उपत्यकामा थप यातायात कार्यालय छिट्टै

उपत्यकाका तीन ठाउँमा थपिने यातायात कार्यालय चाँडै नै सञ्चालनमा ल्याइने विभागले जनाएको छ। विभागका अनुसार भक्तपुरको सल्लाघारीमा कार्यालयको सम्पूर्ण व्यवस्था भइसकेकाले आउँदो बुधबार उद्घाटन गरिनेछ। त्यसैगरी चावहिल र कंलकीमा घर भाडाको सम्झौता सकिएर अन्य काम हुँदै गरेकोले अर्को सातातिर सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनायो।

प्रकाशित: ८ पुस २०७३ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App