coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

असी वर्षे जगतमर्दनको नयाँ एल्बम

काठमाडौं– उमेरले ८० नाघ्दै गर्दा गायक जगतमर्दन थापा झन तन्नेरी भए। उनको शुक्रबार सार्वजनिक भएको तेस्रो गीति एल्बमका गीतहरुले यही भन्छ। उमेर वितेर के भयो मन त कहिले बुढो नहुने रैछ। मेहनत गरे जुनसुकै उमेरमा पनि सक्रिय जीवन बिताउन सकिन्छ भन्ने एउटा उदाहरण गायक जगतमर्दन थापा नै हुन्। ३३ वर्षको सरकारी जागिरबाट रिटायर्ड भएका उनी युवा जोश जाँगरका साथ अहिले गीतसंगीत सिर्जनामा लागेका छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार उनको तेस्रो सांगीतिक एल्बम ‘माया लुकाई लुक्दैन’ बिमोचित भयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार तथा फिल्मकर्मी यादव खरेल, लेखक प्रकश सायमी, गीतकार रत्नशमशेर थापा सहितले उनको एल्बम विमोचन गरे ।
स्टुडियोको चहलपहल र रियाजको माहोलभन्दा फरक तालमा उनले प्रत्यक्ष आफ्ना नयाँपुराना गीतहरु जोशिलो स्वरमा सुनाए । २०५८ सालमा उनको पहिलो एल्बम ‘चालिस वर्षअघि चालिस वर्षपछि’ सार्वजनिक हुँदा उनको उमेर ६५ वर्षको थियो । त्यसपछि २०६८ सालमा दोस्रो एल्बम ‘मनको शान्ति’ ल्याउँदा ७५ वर्षका थिए । पाँच वर्षपछि अहिले ८० पुग्यो । तर गीतसंगीतको मोह कुनै ठिटौले उमेरको भन्दा कम छैन ।

यस तेस्रो एल्बममा उनका केही गीत पुराना रेकर्ड भएका समावेश छन् भने केही नयाँ गीत पनि छन् । जम्मा नौवटा गीतमा गायक स्वयं, मदन सिंह, प्रभुराज ढकाल, ओमविक्रम विष्ट, किरण कँडेल, प्रेमदास प्रकाश, तोकबहादुर लामाले संगीत भरेका छन् । त्यस्तै ६ वटा गीत गायक आपैंmले लेखेका हुन् भने बाँकी तीन गीत रत्नसमशेर थापा, सुनिल कोइराला र तोकबहादुर लामाले रचेका हुन् ।
८० वर्षमा पनि गीतसंगीतमा योगदान दिनुले उनी नेपाली संगीत र वाङ्मयका अथक साधक रहेको पुष्टि गर्ने सरुभक्तले बताए । ‘निरन्तर संगीत साधनालाई नयाँ पुस्ताले प्रेरणाको रुपमा लिनुपर्छ,’ उनले थपे ।
थापाका गीतमा नयाँ पुस्तासँगै सबै उमेरका मानिस सुहाउँदिलो गीत रहेको गीतकार यादव खरेलले सुनाए। ‘जागरिदारहरु ६० वर्ष भएपछि सकियो जीवन भनेर चारधाम गर्छन्,’ खरेलले भने, ‘थापा जो ८० मा पनि निरन्तर सिर्जनामा लागिपरेका छन् ।’
गीतकार रत्नशमशेर थापाले यो उमेरमा पनि जोश र जाँगर झिकेर यस्तो कार्यक्रम गर्नु ठूलो कुरा भएको भन्दै थापालाई हौस्याए । साहित्यकार प्रकाश सायमीले ‘भारतको कलकत्तामा लिलि सिंहसँग भन लौ तिमी नढाँटी गाएका थापाले अहिले पनि उत्तिकै जोशजाँगरका साथ काम गरिरहेको’ बताए ।
सातवटा गीत गायक थापाले गाउँदा उपस्थित दर्शकश्रोताले तालीसँगै थप हौसला दिए । प्रत्यक्ष वाद्यवाधनमा गीत गाएकाले पुरानो गायकीको कालखण्डको झल्को दर्शकहरुले मेटे । बुबाको गीतसंगीतको रुीच पूरा गर्न परिवारले सघाएको उनका आयोजक छोरा मोहितमर्दन थापाले बताए ।
उनले भनेझंै कार्यक्रममा थापाले गीत गाउँदा नातिनी आयुष्माले भायोलिन बजाइन् । नाती आयुष्मानले गिटार, छोरा मोहितले ड्रमसेट बजाएर साथ दिए । स्टेजमा देखिएका थापाका तीनै पुस्ता संगीतमा भिजेका देखिन्थे । धेरै वर्षपछि स्टेजमा गीत गाउने प्रयास गरेको थापाले बताए । २०१८ सालदेखि संगीतमा सक्रिय थापाले भारतमा ग्रामोफोनमा समेत गीत रेकर्ड गराउन भ्याएका छन् ।

 

प्रकाशित: १९ असार २०७३ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App