६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

आबेको मध्यपूर्व भ्रमण रद्द

जापानी प्रधानमन्त्री सिन्जो आबे।

टोकियो (एजेन्सी) – जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने यसअघिको योजना रद्द गरेका छन्। उनले आगामी आइतबारदेखि मध्यपूर्वको भ्रमण गर्ने योजना बनाएको भएपनि सो कार्यक्रम रद्द गरेको सरकारी श्रोतले जनाएको छ।

प्रधानमन्त्री आबेले साउदी अरब, युएई, ओमानलगायतका देशको भ्रमण गर्ने योजना बनाएको भन्दै उनका प्रवक्ताले केही दिन अगाडी जानकारी दिएका थिए।

अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्यूनीकरणका लागि सहयोग गर्ने उद्धेश्यले मध्यपूर्वको भ्रमण गर्न लागेको प्रधानमन्त्री आबेले बताएका थिए।

जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सबै पक्षलाई आग्रह गर्दै तनाव न्यूनीकरणका लागि प्रयास गरिरहेको जानकारी दिएका थिए। ‘मध्यपूर्वमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कूटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु,’ उनले भनेका थिए। इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको जापान अधिकारीहरुले जनाएका छन्। इराकमा रहेका आफ्ना सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले समेत पुष्टि गरिसकेको छ। यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र हमलाले कुनै हताहती नभएको र कमै मात्रामा क्षति भएको बुधबार ह्वाइट हाउसबाट बताएका थिए।

पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरमा इरानले स्थानीय समयअनुसार बिहान २ बजे क्षेप्यास्त्र प्रहार गरेको थियो। अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो। गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्र प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले दाबी गर्दै आएको छ।

इराकको राजधानी बग्दादस्थित विमानस्थलनजिकै गत शुक्रबार इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ। इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिइरहेको छ। साथै, वासिङ्टनले इरानमाथि थप प्रतिबन्धसमेत घोषणा गरिसकेको छ।

प्रकाशित: २५ पुस २०७६ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App