७ वैशाख २०८१ शुक्रबार
खेल

‘डेन्जर’ खेलमा सानी पलिस्था

पलिस्था कक्षपति

काठमाडौं - नेपालमा अधिकांश पुरुष मात्रै सहभागी हुँदै आएको मुवाँथाइमा पछिल्लो समय महिलाहरू पनि सहभागी हुन थालेका छन्। ‘डेन्जर’ र ‘रिस्की’ खेल खेल्न मन पराउने महिलाको रुचिमा यसमा पर्न थालेको हो।

मुवाँथाइ मार्सल आर्ट्स गेम्स हो। यो खेल अन्य मार्सल आर्ट्सको तुलनामा बढी नै खतरनाक मानिन्छ। किक र पन्चका साथै एल्बोले पनि प्रहार गर्ने यो खेल विशेषतः थाइल्यान्डको राष्ट्रिय खेल पनि हो। नेपालमा मुवाँथाइ खेल भित्र्याउनेमध्येका एक हुन्, गणेशलाल कक्षपति। सन् २००७ मा थाइल्यान्डमा औपचारिक रूपमा प्रशिक्षण लिएपछि फुलकन्ट्याक्ट करातेका खेलाडी उनले मुवाँथाइ नेपाल भित्र्याएका थिए। नेपाल भित्रिएको छोटो अवधिमै यो खेल निकै चर्चित बनेको छ। हरेक महिनाजसो विभिन्न स्थानमा प्रतियोगिता हुन थालेका छन्। यससँगै महिला खेलाडीको संख्या पनि बढ्न थालेको छ।

मुवाँथाइमा लागेकी कान्छी खेलाडी हुन्, पलिस्था कक्षपति। गणेश कक्षपतिकी छोरी पलिस्था १२ वर्षकी मात्र भइन्। तर उनले सानो उमेरमै महत्वपूर्ण प्रतियोगिताको उपाधि जित्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन्। घरेलु प्रतियोगितामा लगातार सफलता हासिल गरेकी पलिस्थाले गत मार्च १६ मा थाइल्यान्डमा आयोजना भएको १६औं विश्व मुवाँथाई च्याम्पियनसिपमा एमेच्योर स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन्। पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गर्दै स्वर्ण पदक भित्र्याएकी थिइन्। यस पटक उनी सो सफलता दोहो-याउने लक्ष्यमा छिन्।

‘समय मिलाएर घरमै बुबासँग अभ्यास गरिहेको छु,’ पलिस्थाले भनिन्, ‘मिहिनेत गरेको छु। आत्मविश्वास बढेको छ। यस पटक पनि थाइल्यान्डमा गत वर्षकै सफलता दोहो-याउनेमा विश्वस्त छु।’ पलिस्थाको मुवाँथाई खेलमा प्रवेश भने अनौठो छ। २०७४ सालमा काठमाडौंमै आयोजना भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिप आयोजना हुँदै थियो । घरमै बुबासँग अभ्यास गरे पनि पलिस्थाले कुनै पनि औपचारिक प्रतियोगितामा भने खेलेकी थिइनन्। शनिबार विद्यालय छुट्टी भएकाले पलिस्था घरमै थिइन्। गणेशले एउटा प्रतियोगिता खेल्ने हो भन्दै उनलाई खेलस्थल पु-याए।

‘सुरुमा त मैले बुबाले जिस्काउनुभएको भन्ने सोचें,’ मुबाँथाई खेलमा प्रवेश गर्दाको क्षण सम्झँदै पलिस्थाले भनिन्, ‘यसअघि पनि बुबासँग खेल हेर्न जान्थें। त्यस दिन पनि त्यही होला भनेर सोचें। तर बुबाले एक्कासि भारतीय खेलाडीविरुद्ध खेल्नुपर्छ भन्नुभयो। के गर्ने गर्ने भयो। म निकै डराएकी थिएँ। तर रिङमा प्रवेश गरेपछि मैले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितें। त्यो क्षण म बिर्सन सक्दिनँ।’ तीन अन्तर्राष्ट्रिय पदक जितिसकेकी पलिस्था हरेक खेल रणनीतिक रूपमा खेल्ने गर्छिन्। विपक्षीको ‘मुभ’ हेरेर रणनीति बनाउन उनी खप्पिस रहेको प्रशिक्षक कक्षपतिले बताए।

पलिस्थाले खेलमा लागेको तीन वर्षमै तीनवटा प्रतियोगिताको उपाधि जितिसकेकी छन्। कीर्तिपुरको लेबोरेटरी माविमा कक्षा ६ मा अध्ययनरत पलिस्थाले मुवाँथाइ खेल्न थालेको मात्र तीन वर्ष भयो। उनी समय मिलेसम्म, घरमै बुबासँग  बिहानबेलुका अभ्यास गर्छिन्।’ घरकै सिकाइले रिङमा उत्रने मात्र होइन, पदक नै जित्ने साहस पलिस्थाले बनाएकी छन्। पलिस्थाले २०७४ सालमै  ललितपुरको वज्रवाराहीमा आयोजना भएको मुवाँथाइ च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितिन्। सो प्रतियोगितामा आफूभन्दा निकै बढी तौलका भारतीय खेलाडीलाई हराउँदै पलिस्थाले स्वर्ण पदक जितेकी थिइन्।

‘बुबाले खेलेको देखेर नै मलाई मुवाँथाइ खेल्ने रहर जागेको हो। त्यसपछि मैले बुबासँग घरमै सिक्न थालें,’ पलिस्थाले भनिन्, ‘अझै धेरै सिक्न बाँकी छ। म भविष्यमा मुबाथाई खेलकै सफल प्रशिक्षक बन्न चाहन्छु। म अन्य महिला खेलाडीलाई पनि यो खेल खेल्न सुझाव दिन्छु। यसले सेल्फ डिफेन्स सिकाउँछ। जुन आवश्यक पनि  छ।’ गणेशलालले पलिस्थामा खेलकुदप्रति निकै रुचि रहेको बताए। ‘खेलकुदप्रति निकै चासो छ। एक पटक सिकाएपछि सिकिहाल्ने उसको क्षमता छ’ गणेशलालले भने ‘पढाइका कारण खेलकुदलाई धेरै समय भने दिन सकेको छैन। ट्रेनिङका लागि अलि बढी समय दिने हो भने राम्रो खेलाडी बन्न सक्छिन्।’

‘एगे्रसिभ रूपमा खेल्ने क्षमता छ। विपक्षीको चाल बुझ्ने क्षमताका साथै त्यसलाई विफल तुल्याउने खुबी पलिस्थामा छ’ कक्षपतिले थपे,‘किक र पन्च पनि राम्रो भएकाले विपक्षीलाई रिङमा टिक्न हम्मेहम्मे पर्छ।’ पलिस्था आफैं भने खेलाडीभन्दा पनि प्रशिक्षक बन्न चाहन्छिन्। उनका बुबा मुवाँथाइका प्रमुख प्रशिक्षक रहेका कारण पनि उनको रुचि प्रशिक्षकमा छ। त्यसका लागि पहिले राम्रो खेलाडी बन्नुपर्ने कुरा उनले बुझेकी छन्। ‘पहिले राम्रो खेलाडी भए मात्र राम्रो प्रशिक्षक बन्न सकिन्छ,’ पलिस्था भन्छिन्, ‘अहिले राम्रो खेलाडी बन्ने कोसिस गरिरहेकी छु।’

नेपाल मुवाँथाइ संघका अध्यक्षसमेत रहेका गणेशलाल कक्षपति छोरीलाई सेल्फ डिफेन्स, अनुशासन र नेतृत्व विकासका लागि खेलकुदमा लगाउँदै आएको बताउँछन्। ‘अहिले जताततै सेल्फ डिफेन्सको चर्चा छ। मैले पनि छोरीलाई सेल्फ डिफेन्सकै लागि खेलकुदमा लगाएको हुँ,’ गणेशलालले भने ‘परिवारबाट पनि राम्रो साथ छ। त्यसैले पछि खेलाडी बन्ने कि नबन्ने उसकै रुचिमा भर पर्छ।’ ‘बुबाले एक्कासि भारतीय खेलाडीविरुद्ध खेल्नुपर्छ भन्नुभयो। के गर्ने गर्ने भयो। म निकै डराएकी थिएँ। तर रिङमा प्रवेश गरेपछि मैले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितें। त्यो क्षण म बिर्सन सक्दिनँ।’

प्रकाशित: २५ पुस २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App