१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सागरको कलामा ‘अष्ट रूप’

काठमाडौं – राजधानीको ठमेलस्थित दलाई–ला बुटिक आर्ट ग्यालरीमा चित्रकार सागर मानन्धरको १६ औं एकल कला प्रदर्शनी जारी छ। गत पुस १८ बाट सुरु भएको ‘अष्ट रूपु शीर्षक कला प्रदर्शनीमा मूर्त र अमूर्त खालका १३ वटा चित्रकलालाई नियाल्न सकिन्छ।

विभिन्न विषयमा चित्र कोर्न रुचाउने उनले यसपटकको प्रदर्शनीमा अष्ट भगवान्का वाहनहरूलाई मुख्य विषय बनाएर कोरिएका चित्र प्रदर्शनी गरेका छन्। अमूर्त खालका चित्रमा उनले विभिन्न कलरको रेखामार्फत भगवान्का वाहन र हंसलाई देखाएका छन्। एक्रेलिक र आयल कलरको प्रयोग भएका उनका चित्रमा अष्ट भगवान्का विभिन्न रूप, उनीहरूका अस्त्र र हंस देख्न सकिन्छ।

बाल्यकालमा आमाले प्रयोग गर्ने पूजाथाली देख्दा जिज्ञासु बन्ने उनी ठूलो भएपछि अष्ट रूप अर्थात अष्ट मातृकाबाट निकै प्रभावित भएको बताउँछन्। सामान्य रूपबाट हेर्दा उस्तै देखिने अष्ट रूपलाई गहिरिएर हेर्दा भगवान्का वाहन वा अस्त्रले फरक पार्ने उनको भनाइ छ। रुद्रायनीको वाहन बूल र कौमारीको वाहन मयूरलाई उनले सामान्य रूपबाट चित्रित गरेका छन्। कौमारीजस्तो शक्तिशाली भगवान् पनि मयूरमाथि चढेको देख्दा त्यसले आफूलाई निकै आकर्षित गरेको र कलामा समेटेको उनले बताए।

झट्ट हेर्दा अर्मूत देखिने उनका चित्रमा गहिरिएर हेर्दा भने अष्टमातृकाका वाहन र अस्त्रलाई नियाल्न सकिन्छ। अष्टमातृकाको वाहनलाई देखाउने क्रममा मयूरमा हुने विभिन्न कलरसँग आफू खेल्न खोजेको मानन्धरले बताए। ‘नेपाल मन्दिरै मन्दिरको देश भए पनि कुनै ठाउँमा भगवान्को आकार नै नभएको ढुंगालाई हामी पुजिरहेका हुन्छौं, उनी भन्छन्, ‘भगवान्को आकार नभएका ढुंगाको प्रतिनिधित्व गरेरै मैले अमूर्त चित्र कोरेको हुँ। विभिन्न सांकेतिक रेखाहरूलाई आधार बनाएर चित्र कोरेका उनले आफूलाई चित्र कोर्न निश्चित विषय अनिवार्य आवश्यक हुने बताउँछन्।

चामुण्डालाई बोक्ने मनुष्य रूपबाट उनले मनुष्यमा हुने भावनात्मक सम्बन्धलाई आयल कलरको प्रयोगमार्फत देखाएका छन्। चामुण्डाले लिने अस्त्र साथै हात्तीको सुँडलाई पनि उनले आफ्नो कलामा स्थान दिएका छन्। समयअनुसार अलगअलग विषयमा काम गर्न रुचाउने उनले कलर राख्ने तरिका, कलरको संयोजन र पूरा पेन्टिङको संयोजनबाट आफ्नो कलामा पनि फरकपना दिन खोजेका छन्। मानन्धरका अनुसार अमूर्त कलामा कलरको संयोजन बढी हुन्छ। कलरको संयोजन मिल्नासाथ चित्रको परिपाटी मिल्न पुग्छ। अमूर्त कलाको स्वरूप बढी हुने भएकाले त्यसलाई दर्शकले आफ्नो भावनाअनुसार बुझ्ने गर्छन्।

बुबालाई आफ्नो कामको प्ररेणास्रोत मान्ने उनका कलामा कलरको राम्रो संयोजन पाइन्छ। अघिल्लो पटक ‘खेतका कथाहरूु शीर्षकको कला प्रदर्शनी गरेका उनले कलामा सधैं नयाँपन र फरकपनालाई भित्र्याउने प्रयास गरिरहने बताए। प्रदर्शनी माघ १७ सम्म चल्नेछ।

प्रकाशित: २५ पुस २०७६ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App