काठमाडौं- संसद्मा दर्ता संविधान संशोधन प्रस्तावको विरोधमा सडक र सदनबाट आन्दोलन गर्दै आएका प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले सहमतिको प्रयास नगरेको भन्दै सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेका छन्।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहीबार बसेको विपक्षी नौ दलको बैठकले सहमतिको पहल गर्नुको साटो प्रधानमन्त्री पुष्पकमल दाहालले 'जे मनमा आयो त्यही बोल्न थालेको' भन्दै आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको जानकारी राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक संसदीय दलका नेता शिवलाल थापाले दिए।
प्रधानमन्त्री दाहालले भाषणमा सहमतिको कुरा गर्ने तर व्यवहारमा त्यसका लागि कुनै पहल नगरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो। 'प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले जे मन लाग्यो त्यही कुरा गर्नु दुःखद हो,' बैठकमा सहभागी एक नेताले भने, 'निकासका लागि कुनै पहल नगर्ने तर दोषजति सबै विपक्षीको टाउकोमा थोपर्ने सरकारको कामले ऊ सहमतिको पक्षमा नभएको प्रस्ट हुन्छ।'
विपक्षीलाई बेवास्ता गर्दै सरकार अघि बढे परिणाम गम्भीर हुने चेतावनी पनि विपक्षीले दिएका छन्।
गठबन्धनमा थपियो बहुजन शक्ति पार्टी
आठ दल सहभागी विपक्षी गठबन्धनमा थप एक दल थपिएको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको तर अन्तिम अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको बहुजन शक्ति पार्टी पुनः वर्तमान सरकारमा स्थान नपाएपछि विपक्षी गठबन्धनमा पुगेको हो।
विपक्षी गठबन्धनको बिहीबारको बैठकमा बहुजन शक्ति पार्टीका नेता बिश्वेन्› पासवान सहभागी भए। योसँगै विपक्षी गठबन्धनमा सहभागी दलको संख्या नौ पुगेको छ । विपक्षी गठबन्धनमा सांसद संख्या २०१ पुगेको छ।
संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका दलसँग एक तिहाई भन्दा बढी सदस्य पुगेपछि सरकार थप अप्ठेरोमा परेको छ। यसैगरी विपक्षी गठबन्धनले पुस १७ गते राजधानीमा गर्ने भनिएको विरोधसभा २२ लाई सारेको छ। तयारी नपुगेको भन्दै विरोधसभाको मिति सार्नु परेको नेताहरूले जनाएका छन्।
प्रकाशित: ८ पुस २०७३ ०३:०४ शुक्रबार