१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपातले पहाडी जिल्ला अस्तव्यस्त

बैतडीको खोड्पेमा परेको हिउँ। तस्बिर : बिरा/नागरिक

सुदूरपश्चिम ब्युरो

धनगढी – सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण विद्युत्, सञ्चार, सडकलगायत अवरुद्ध हुँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ। इन्टरनेट अभावले बैंकिङ सेवा प्रभावित बनेको छ। गत मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो। गत साता बिहीबार २५ वर्षयताकै भारी हिमपात भएको थियो। त्यतिबेला जमेको हिउँ पग्लन नपाउँदै बुधबार राति र बिहीबार बिहान पुनः हिमपात भएको हो। बाक्लो हिउँ जमेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग ठप्प भएको छ। बझाङ, बाजुरा, बैतडीलगायत जिल्लाका सडकहरू पनि अवरुद्ध भएका छन्।

बैतडी संवाददाता बिरा गडालका अनुसार हिमपातले सुदूरपश्चिमका बैतडीलगायत पहाडी जिल्ला अस्तव्यस्त बनेका छन्। गत सातायता मौसममा आएको परिवर्तनसँगै चारपटक हिमपात र पटकपटक वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ। अत्यधिक चिसो बढेपछि घरबाहिर नसकिएको स्थानीयले बताएका छन्। दैनिक ज्यालादारीमा काम गर्दै गुजारा गर्नेहरू झन् मारमा परेका छन्। पहाडबाट तराई र तराईबाट पहाड जाने यात्रु चार/पाँच दिन सडकमै अलपत्र परेका छन्। ‘हिमपातले सडक अवरुद्ध हुँदा कठ्यांगिँ्रदो चिसोमा यात्रु बीच बाटामै अलपत्र परेका छन्,’ महेन्द्रनगरबाट तेस्रो दिन बैतडी पुगेको पुर्चौडी नगरपालिका–६ का पदमसिंह खडायतले बताए। डडेल्धुराको अगुल्टे र अनारखोलीमा हिमपातले बाटो अवरुद्ध भएपछि हिउँमै बस्न बाध्य भएको उनले बताए।

बैतडी सदरमुकाम गोठलापानीमा ६ वर्षपछि भारी हिमपात भएको स्थानीय खगेन्द्र भट्टले बताए। दशरथ चन्द राजमार्ग र बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताए। सडक खुल्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पानी परेकाले डोजरले हिउँ हटाउन नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए।

जिल्लाका धेरै ठाउँमा पानी र बिजुली बन्द भएपछि स्थानीय सास्ती बेहोर्न बाध्य छन्। बैतडी, बझाङ र डडेल्धुराको सीमामा रहेको बैतडीको मुख्य बजार खोड्पेमा बिजुली र खानेपानी आपूर्ति बन्द हुँदा एक सातादेखि हिउँ पगालेर पिउन थालिएको स्थानीयले बताए। बिजुली नहुँदा खोड्पेमा पानीको समस्या उत्पन्न भएको बजार व्यवस्थापन समिति अध्यक्ष हरिश विष्टले बताए। पाँच हर्सपावरको मोटरबाट तानेर खोड्पेमा पानी आपूर्ति गरिँदै आए पनि एक सातादेखि बिजुली नआउँदा खानेपानीको हाहाकार भएको स्थानीय कोसी होटलका सञ्चालक राकेश राईले बताए। खानेपानी नहुँदा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको होटल हरिहर प्लाजाका सञ्चालक वासु विष्टले बताए। खोड्पे बजारमा तत्काल विद्युत् सुचारु गर्न र ट्याक्टरबाट ल्याएर भए पनि खानेपानीको अभाव टार्न खोड्पेवासीले पाटन नगरपालिका र जिल्ला प्रशासनसित माग गरेका छन्। हिमपातले बिजुलीका पोल ढलेकाले विद्युत् सुचारु गर्न नसकिएको विद्युत प्राधिकरण बैतडी शाखाले जनाएको छ। यो वर्ष बैतडीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा चारपटक हिमपात भइसकेको छ ।

डडेल्धुरा संवाददाता पुष्कर भण्डारीका अनुसार मंगलबारदेखि लगातारको वर्षापछि जिल्ला सदरमुकाम खलंगा, बागबजार, तुफानडाँडा क्षेत्रमा बिहीबार बिहान साढे ४ बजेदेखि हिमपात भएको छ। हगुल्टे, साहुखर्क, भालुमारे, अनारखोली, महाभारत पर्वत श्रेणीको सबै क्षेत्र तेले लेक, गन्यापताल र भालुमारे अनारखोली, सुग्घाणा क्षेत्रमा यस वर्ष तीनपटक हिउँ परिसकेको छ। बिहीबार साढे १२ बजेसम्म वर्षासँगै हिमपात भएको हावापानी फिल्ड कार्यालयका प्रमुख श्याम सुनारले बताए। उनका अनुसार डडेल्धुरा सदरमुकाम खलंगाको बिहीबारको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियस थियो। अहिलेसम्म २४ दशमलव ९ मिलिलिटर वर्षा भएको छ भने जिल्ला सदरमममुकामा बिहीबार मात्रै डेढ फिटसम्म हिउँ परेको छ। शुक्रबारदेखि भने मौसममा केही सुधार आउनेछ। सोमबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना रहेको उनको भनाइ छ।

पटकपटक भएको वर्षा र हिमपातका कारण चहलपहल भइरहने जिल्ला सदरमुकाम बागबजार सुनसान छ। तराई–पहाड जोड्ने मुख्य सडक भीमदत्तराज मार्ग अवरुद्ध हुँदा सवारीका साधन र यात्रु अलपत्र परेका छन्। हिमपातपछि भीमदत्त राजमार्गको आलिताल गाउँपालिका–३ हगुल्टे, गन्यापधुरा गाउँपालिका–१ साहुखर्क र अमरगढी नगरपालिका–६ र ७ का भालुमारे र अजयमेरु गाउँपालिका–२ को अनारखोली क्षेत्रमा सडक अवरुद्ध भएको छ। विद्युत् र इन्टरनेट सेवामा समस्या आएको छ। छोटो दूरीका सवारीसाधनसमेत सञ्चालनमा आउन सकेका छैनन्। वर्षा र हिमपातको चिसोले हिउँदे खेती सप्रिने देखिए पनि व्यावसायिक रूपमा गरेको आलु खेतीमा भने असर पुगेको छ। चिसो बढेकाले आलुमा डढुवाको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले बुधबार सदरमुकाम क्षेत्रका चोकचोकमा आगो बालेको थियो।

यसैगरी बझाङ संवाददाता जगत खड्काका अनुसार हिमपातले गत साताको बिहीबारदेखि बझाङमा टेलिफोन र इन्टरनेट सेवा बन्द छ। एक सातासम्म इन्टरनेट पूर्ण रूपमा अवरुद्ध हुँदा बंैकिङ सेवा ठप्प छ। सञ्चार, बैकिङलगायत सेवा ठप्प हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। हिमपातले सडक अवरुद्ध भएको छ भने जाडोले विद्यालयसमेत बन्द भएका छन्। विद्युत्, सञ्चार र सडक अवरुद्ध हुँदा आठ दिनदेखि बझाङको अन्य क्षेत्रसँग सम्पर्क टुटेको छ।

प्रकाशित: २५ पुस २०७६ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App