१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध कुचो लगाउँदा अवरोध : कार्की

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्न खोजेकै कारण आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन्। सर्वोच्च अदालत परिसरमै बिहीबार आफूलाई कालोमोसो दलिएलगत्तै कार्कीले विज्ञप्तिमार्फत भ्रष्टाचारविरुद्ध जहींतहींबाट अभियान सञ्चालन गर्ने जनाएका छन्। विज्ञप्तिमा उल्लेख छ, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासमा अवरोध गरे नागरिककै हैसियतमा भए पनि यो अभियान चलाउने छु।'

मुलुकमा पारदर्शिता तथा सुशासन कायम गरेर लोकतन्त्रप्रति जनताको विश्वास एवं भरोसा जगाउन राजनीतिक दलले नचाहेको आरोप लगाउँदै कार्कीले 'तलदेखि माथिसम्म फोहर देखिएपछि' कहीं न कहींबाट कुचो लगाउनैपर्ने जनाएका छन्। भ्रष्टाचारको जालो यत्रतत्र सर्वत्र रहेकेा जनाउँदै उनले सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचारविरुद्धको अभियान चलाउनु स्वाभाविक कर्म हुने बताएका छन्। 'म यतिबेला धेरै तथ्यपूर्ण रहस्यका पोका खोल्न चाहन्नँ तर जनताले मागेको र देशले चाहेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष पेस गर्न म हिचकिचाउने छैन,' उनले भनेका छन्।

भ्रष्टाचारविरुद्ध आफूले 'तलदेखि माथिसम्म सफाइ' गर्नका लागि निडरतापूर्वक चलाएको अभियानले जनतामा प्रशन्नता छाएको र भ्रष्टाचारी थर्कमान र निरुत्साहित बनेकेा दाबी गर्दै कार्कीले भ्रष्टाचारीलाई कारबाही गर्न नदिन षड्यन्त्र भइरहेको बताएका छन्। भ्रष्टाचार अन्त्यका लागि अभियान चलाइरहेका बेला आफूविरुद्ध गैरकानुनी आक्रमण भएको दाबी उनको छ।अख्तियार दुरुपयोग गरेको आरोपमा कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा विचाराधीन अवस्थामा छ। 'निर्दोष हुँदाहुँदै ममाथि अहिले गैरकानुनी प्रक्रियाबाट राज्यका अतिउच्च अंगमा पदासीन केही व्यक्तिले पूर्वाग्रह राखी गरेको प्रहारको मूल्यांकन गर्ने जिम्मेवारी पनि मैले इतिहासलाई नै छोडिदिएको छु, इतिहासको कुनै न कुनै कालखण्डमा ममाथि भएको यो गैरकानुनी आक्रमणको मूल्यांकन अवश्य हुने छ भन्ने विश्वास गरेको छु,' उनले भनेका छन्।

आफूविरुद्धको महाभियोग प्रस्ताव र मुद्दाप्रति लक्षित गर्दै कार्कीले 'गृष्म याममा शीतलता प्रदान गरेबापत् वृक्षले फेदैदेखि ढालिनुपर्ने, अँध्यारोमा प्रज्वलित भएर प्रकाश छरेबापत् दियोले फुट्नुपर्ने, फूलको स्याहार गरेबापत् मालीले कुटाइ खानुपर्ने' जस्तो अवस्था उत्पन्न भएको बताएका छन्।

सञ्चारमाध्यम, सञ्चारकर्मी, सञ्चार उद्यमीप्रति पनि कार्कीले असन्तुष्टि र आक्रोश पोखेका छन्।

प्रकाशित: ८ पुस २०७३ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App