८ वैशाख २०८१ शनिबार
अर्थ

२३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गरिँदै

कृषि ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी प्रदेशसभा सांसद लगायत।

खोटाङ – खोटाङका १० स्थानीय तहमा विभिन्न प्रकारका कृषि बालीको पकेट क्षेत्र तथा ब्लक विकास कार्यक्रमका लागि क्षेत्र निर्धारण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लास्थित दुई नगरपालिका र आठ गाउँपालिकामा अलैंची, सुन्तला, कफी, कागती, आलु, तरकारी लगायत कृषि बालीका २३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गर्नेगरी क्षेत्र निर्धारण गरिएको हो।

बराहपोखरी गाउँपालिकालाई कफी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई किबी, रावाबेंसी गाउँपालिकालाई कफी, जन्तेढुंगा गाउँपालिकालाई अलैंची, खोटेहाङ गाउँपालिकालाई आलु, केपीलासगढी गाउँपालिकालाई अलैंची, दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई सुन्तला र साकेला गाउँपालिकालाई आलु उत्पादनका लागि ब्लक क्षेत्र निर्धारण गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ संयोजकत्वको अनुदानग्राही छनोट समितिको बुधबार बसेको बैठकले करिब दुई हजार रोपनी क्षेत्र ओगट्ने ब्लकको क्षेत्र निर्धारण गरेको हो। कृषि व्यवसायको प्रवद्र्धनका लागि नगदे बालीको ब्लकको विकास गर्नका लागि प्रदेश सरकारले प्रतिब्लक ३५ लाख रकम उपलव्ध गराएको कृषि ज्ञान केन्द्रका अधिकृत हरिनारायण राईले बताए।

यस्तै, जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा लिची र कागती, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला र तरकारी, ऐसेलुखर्क गाउँपालिकामा अलैंची र आलु, रावाबेंसी गाउँपालिकामा लिची र किबी, जन्तेढुंगा गाउँपालिकामा आलु र तरकारीको दुई–दुईवटा पकेट क्षेत्र बनाउन क्षेत्र निर्धारण गरिएको छ।

खोटेहाङ गाउँपालिकामा तरकारी र कागती, केपीलासगढी गाउँपालिकामा आलु र किवी तथा बराहपोखरी गाउँपालिकामा मौरी र अलैंचीको दुई–दुई वटा पकेट क्षेत्र बनाइने कृषि ज्ञान केन्द्रले जनाएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भने किवी र तरकारीको तीनवटा पकेट क्षेत्र बनाइने कृषि ज्ञान केन्द्रका अधिकृत राईले जानकारी दिए।

पकेट क्षेत्र विस्तारका लागि परियोजना अन्तर्गत प्रतिपकेट क्षेत्र आठ लाख बजेट प्राप्त भएको छ। नयाँ पकेट तथा ब्लक विकास कार्यक्रम सञ्चालनका लागि दर्जनौं कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि उद्यमी, जलउपभोक्ता समितिबाट प्रस्ताव आएको अधिकृत राईले बताए।

यस आर्थिक वर्ष मकै उत्पादकत्व प्रवद्र्धन, मध्यपहाडी प्रांगारिक कृषि प्रवद्र्धन अभियान, कागती खेती मिसन कार्यक्रम, व्यवसायीक फलफुल तथा बगैंचा स्थापना सहयोग, सुन्तला जात बगैंचा व्यवस्थापन एबं सुदृढिकरण, मुख्या राजमार्ग लक्ष्यीत तरकारी उत्पादन कार्यक्रम, अलैंची निजी नर्सरी स्थापना, पुराना रोगग्रस्त अलैंची बगान प्रतिष्थापन, खेर गएका सार्वजनिक जग्गामा फलफुल खेती प्रवद्र्धन, बीउ विजन आत्मनिर्भर कार्यक्रम, चैते धान विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ।

यस्तै, धान, मकै र गहुँको सघन वाली विकास आयोजना, कोदो, फापर, जौ जस्ता रैथाने वाली उत्पादन प्रवद्र्धन युवा लक्ष्यीत च्याउ, मह र तरकारी उत्पादन, प्रांगारिक कृषि प्रवद्र्धन, नमूना कृषि फर्म स्थापना सहयोग, आलु भण्डारणका लागि रष्टिक भण्डार निर्माण, कृषि बजार तथा संकलन केन्द्र निर्माण, अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण सहयोग लगायतका कार्यक्रमका लागि बजेट प्राप्त भएको ज्ञान केन्द्रले जनाएको छ।
 

प्रकाशित: २५ पुस २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App