७ वैशाख २०८१ शुक्रबार
अर्थ

उखुको मूल्य ताेक्न उद्याेग राज्यमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

राैतहट– किसानले यस वर्ष उत्पादन गरेको उखुको मूल्य निर्धारणका लागि बिहीबार पाँचौं पटक उद्योग मन्त्रालयमा भएको वार्ता पनि निष्कर्षविहीन भएको छ । दिउँसो चार बजेदेखि सुरु हुने भनिएको वार्ता बेलुकी पाँच बजेदेखि मात्र सुरु भएको थियो। उद्योगमन्त्री नविन्द्रराज जोशी, उद्योग राज्यमन्त्री कञ्चनजंग बादे, उद्योग सचिव शंकरप्रसाद कोइराला, कृषि सचिव अन्नपूर्ण दाससमेतको उपस्थितिमा चिनी उद्योगी र किसान प्रतिनिधिबीच भएको वार्ता टुंगोमा पुग्न नसकेको हो।

यसअघि उद्योगी र किसानबीच काठमाडौँमा तीन पटक र बारामा एक पटक गरी चारपटकको वार्ता असफल भएको थियो। सरकारको मन्त्रीस्तरीय रोहबरमा उद्योगमन्त्रालयमा बिहीवार पाँचौपटकको वार्ता किसानको माग अनुसार उखुको मूल्य दिन चिनी उद्योगीहरुले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले  बताए ।
उद्योग सञ्चालक चिनी उद्योगीहरुले प्रतिक्वीन्टल उखुको मूल्य ५१३ रुपैया मात्र दिन सकिने बताए भने  किसानहरुले उखु उत्पादन कम भएको र चिनीको मूल्यको अनुपातमा प्रतिक्वीन्टल उखुको मूल्य ५ सय ५६ रुपैयाँ हुनु पर्ने अडानमा रहेपछि वार्ता टुंगोमा पुग्न नसकेको हो।

उद्योगी र किसानबीच कुरा नमिलेपछि यस वर्षको उखुको सही मूल्य तोक्न उद्योग राज्यमन्त्री कन्चनजंग बादेको नेतृत्वमा ९ सदस्यीय वार्ता टोलि गठन भएको हो।

राज्यमन्त्री बादेको नेतृत्वमा गठित समितिमा उद्योग सचिव कोइराला, कृषि सचिव दास, चिनी उत्पालक संघका अध्यक्ष शशिकान्त अग्रवाल, उद्योगी राजेश केडिया, उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीलगायत नौ सदसिय वार्ता टोली गठन भएको महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

विगतका वर्षमा उद्योगीले उखुको मूल्य तय नै नगरेर उद्योग सञ्चालनमा ल्याएपछि मनपरी गर्ने गरेको कारण यसपाली पहिला मूल्य निर्धारण हुनुपर्ने त्यसपिछ उद्योग सञ्चालनमा ल्याउन दिने अडान कायमै रहेको बताएका छन्। शुक्रबार उद्योग मन्त्रालयमा १० बजे अर्को वार्तामा बस्ने महासंघका अध्यक्ष मैनालीले बताए ।

वार्तामा उखु उत्पादक महासंघ नेपालका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको नेतृत्वमा मोरङदेखि कपिलवस्तुसम्मका उखु उत्पादक संघका अध्यक्षहरु र चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालको नेतृत्वमा चिनी उद्योगीहरुको सहभागिता रहेको थियो। उखु उत्पादक र चिनी उत्पादकबीच उखुको मूल्यसम्बन्धी वार्ता नमिल्दासम्म कुनै पनि उद्योगलाई उखु नबेच्ने अडान किसानहरुले लिएपछि उखुको मूल्य तत्काल तोक्नुपर्ने दबाब चिनी उत्पादकमाथि परेको छ।
गत वर्षको चिनीको मूल्यको अनुपातमा उखुको मूल्य कायम गरिएकोमा चालू वर्षमा बढेको चिनीको मूल्यको अनुपातमा उखुको मूल्य निर्धारण गर्नुपर्ने माग किसानहरुको रहेको र अहिले चिनीको उत्पादन भइनरहेकोले मूल्य बढेको तथा उत्पादन सुरु हुनासाथ चिनीको मूल्य घट्ने भएकोले चिनीको मूल्यको अनुपातमा उखुको मूल्य निर्धारण गर्न नसकिने चिनी उत्पादकको अडान रहेकाले दुवै पक्षबीचको पटकपटक भएको वार्ता असफल भएको छ ।

किसानले चिनी उद्योगलाई कुन मूल्यमा उखु बेचिरहेको हो भन्ने कुरा जान्न पाउनु उसको मौलिक अधिकार भएकोले मूल्य नतोकीकन कुनै पनि हालतमा उखु उपलब्ध नगराउने अडान लिएर वार्तामा बसेको महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

समयमा चिनी उद्योगहरु सञ्चालनमा नआउँदा किसान र उद्योगपति दुवैलाई घाटा हुने देखिएको छ। किसानको खुट्टी उखुको खेतमै तौल घट्न थालेको छ भने तौल कम भएको उखुबाट चिनी उत्पादन कम हुने हुन्छ। उद्योगमन्त्रालयमा जारी वार्तामा सहमतिमा पुगे भए दुवै पक्षलाई फाइदा हुने विश्वास गरिएको छ ।
 

प्रकाशित: ७ पुस २०७३ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App