७ वैशाख २०८१ शुक्रबार
कला

हरिओमको ‘ब्ल्याक भ्वाइस’ चित्र

काठमाडौं-मलाई मेरै रंग प्यारो छ
मेरो ठाउँ प्यारो छ
भेष प्यारो छ
मलाई मेरै देश प्यारो छ
म गर्व गर्छु मधेसी हुनुमा
गर्व गर्छु कालो रंगमा
धोती हुनुमा
संसारकै सम्मानित मिथिला कलामा
त्यसैले त म भाग्यमानी छु
हेप्ने मान्छेहरुलाई मुरीमुरी धन्यवाद

यो अभिव्यक्ति पढ्दा लाग्छ, उनी अर्थात् हरिओम मेहता कवि हुन् । तर उनी त चित्र कोर्ने कलाकार हुन् । उनका चित्रहरुका छेउमा टाँगिएको यो कविताले उनको चित्रको सार बोल्थ्यो । उनले बनाएका समसामयिक चित्रहरुको प्रदर्शनी ‘ब्ल्याक भ्वाइसेस्’ नेपाल आर्ट काउन्सिल बबरमहलमा शनिबार सकिएको छ । जहाँ उनले क्षेत्रीय पहिचानको पीडा चित्र र कविता दुवैमा पोखेका थिए ।
‘म तराईबाट काठमाडौं पढ्न आउँदा सिधै भन्थे तपाईं भारतीय हो ? कालो रंग नै भए पनि कमसेकम तपार्इं कहाँको हो भनेर सोध्न सकिन्थ्यो होला ?,’ हरिओमले भने, ‘नेपालमा मात्र हैन भारतमै जाँदा पनि ए पाँडे बहादुर नेपाली भनेर हियाउँथे।’
आफ्नै देश र विदेशमा समेत राम्रो पहिचान नपाएको भन्दै उनले पीडा पोखे । सर्लाही घर भएका उनले एउटा चित्रमा आफ्नै झल्को दिनेगरी नेपाली भएको सन्देश छरेका थिए । अर्को चित्रमा धोती र टोपीको सवाललाई रंगहरुबाट प्रष्ट्याएका थिए । ‘धोती भए पनि ढाका टोपी भए पनि त्यो नेपाली नै हो भन्ने सन्देश दिन खोजेको छु,’ उनले थपे, ‘रातो रंगमा सेतो र निलो रंगहरुले नेपाली राष्ट्रियता छचल्काएका छन्।’
उनले आफ्नो आधुनिक कलामा मिथिला परिवेशलाई पनि समेटे । ‘ऊबेला दाइजो कोसेलीका रुपमा छोरीलाई दिइन्थ्यो,’ उनले भने, ‘अहिले त्यो बिहे गर्न सम्पत्ति लिने मोलतोल बन्यो, त्यो चित्रमा कोरेको छु।’
भर्खरै अफगानिस्तानमा मारिएका नेपालीको पीडा समेट्दै उनी चित्रमा कफिनभित्र आएका लासहरु उतार्न पछि परेनन् । ओझेलमा परेका नेपालका विद्वान विद्यापति, राजा जनक, सीता र गजेन्द्रनारायण सिंह जस्ता व्यक्तिहरु पनि उनका क्यान्भासमा अटाए ।
राजनीतिक सामाजिक विषयमा प्रहार गर्दै उनले चित्रबाट नेपाली समाजका समस्याहरु पर्गेल्न खोजेको दर्शक राजकिरण बज्राचार्यले बताए । ‘जे बोल्छ चित्रहरुले नै बोल्छ,’ अर्का दर्शक सुदीप श्रेष्ठले भने, ‘समाजका मुद्धाहरु नै चित्रमा छन् ।’
गत आइतबार सुरु भएको उनको चित्रकला हेर्न बिहीबार प्रज्ञा सदन स्कुलका विद्यार्थी लिएर प्राचार्य दीपक पौडेल आएका थिए । यस्तो कला हेरेर विद्यार्थीमा पनि सिर्जनात्मकता मौलाउने उनी बताउँदैथिए ।
चित्रकार आफै पनि शिक्षक हुन् । कलामा स्नातकोत्तर गर्दै गरेका उनले कलाबाट जीवन धान्न भने नसकेको बताए । उनले यसअघि  २०६७ सालमा पहिलो र २०७१ सालमा दोस्रो एकल प्रदर्शनी गरिसकेका छन् ।
यसपालिको कलामा उनले एक्रेलिक रंगबाट चित्र बनाएका थिए । एकहप्ते प्रदर्शनीमा २३ वटा चित्र समावेश गरिएको थियो । चित्रको मूल्य दसदेखि २५ हजारसम्म रहेको थियो।

 

प्रकाशित: १९ असार २०७३ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App