coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहिबार काठमाडौंको माइतीघरमा आयोजना गरेको प्रदर्शनका सहभागी। तस्बिर : विजय राई/नागरिक

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। सरकार नागरिकका अधिकार संकुचन गर्न सक्रिय रहेको आरोप लगाउँदै संघले जनअधिकारलाई कुण्ठीत गर्ने कानुनहरू फिर्ता लिन आग्रह गरेको हो।

केपी ओली नेतृत्वको वर्तमान सरकार राज्यका सम्पत्ति व्यक्तिलाई पोस्न लागिपरेको आरोप लगाउँदै संघले बिहीबार राजधानीको माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा सूचना प्रविधि विधेयकमार्फत नागरिकलाई सरकारविरुद्ध बोल्न पनि प्रतिबन्ध लगाउन खोजेको धारणा राखेका छन्। सरकारविरुद्ध आक्रमक देखिएका संघका नेता तथा कार्यकर्ताले नेपाल ट्रस्ट, बालुवाटारको जग्गा निकटहरूलाई दिएको पनि आरोप लगाएका छन्। ‘यति यति पानी, बालुवाटारकी रानी, नेपाल ट्रष्ट खानी, त्यति लेख्यो भने ५ वर्ष जेल जानी,’ जस्ता प्लेकार्ड बोकेर सरकारी कदमको विरोधमा आयोजना गरेको संघको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, गगनकुमार थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए।

निर्वाचनबाट आएको सरकार जनतका अधिकार खोस्न उद्धत रहेको आरोप लगाउँदै तीनैजना सदस्यले सूचना प्रविधिसम्बन्धी पछिल्लो विधेयकले जनताको मुख थुन्न खोजेको जिकिर गरे। विधेयकको दफादफामा आफूहरू छलफल गर्न तयार रहेको धारणा राख्दै बोल्ने र लेख्नेलाई मार्ने व्यवस्था राख्न खोजेको हो भनेर सरकारसँग प्रश्न गरेका छन्।

सरकारको कदमले लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाएको भन्दै केन्द्रीय सदस्य जोशीले भने, ‘यो सरकार नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक अधिकार खोस्न लागिपरेको छ। त्यहीअन्र्तगत जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्नेगरी विधेयक ल्याइएका छन्।’

जनताको अधिकारमाथि धावा बोल्नेहरू विगतमा पतन भएको इतिहास ताजै रहेको स्मरण गराउँदै जोशीले भने, ‘नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्ने प्रयत्न धेरैले गरे। आजसम्म कोही सफल हुन सकेका छैनन्। जसले जनताको लोकतान्त्रिक अधिकार खोस्ने दुस्साहस ग¥यो त्यो भष्म हुन्छ भन्ने कुरा विगतको ज्ञानेन्द्र र महेन्द्रको हामीले देखेका छौं।’

कार्यक्रममा सांसद तथा कांग्रेसका अर्का केन्द्रीय सदस्य थापाले सरकार नागरिकको मुख थुन्न उद्धत रहेको आरोप लगाए। प्रधानमन्त्री बलियो भएर नभएर लुते भएर नागरिकको मुख थुन्नेगरी विधेयक ल्याएको जिकिर गर्दै थापाले भने, ‘विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भएर हो। प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानुन बनाउन खोज्नुभयो।’

सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिंगालबाहेक कोही बाँकी नरहने जिकिर गर्दै थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्ड(पुष्पकमल दाहाल)को जय भन्नेहरू टिक्छन्। अरु सबै सकिन्छन्।’

सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न आफ तयार रहेको बताउँदै उनले भने, ‘यस विधेयकविरुद्धमा बोल्न संसद्मा गगनहरू हुनुहन्छ। उहाँहरूको विरुद्धले मात्रै विधेयक रोकिँदैन। त्यसका लागि सडकको तागत आवश्यक छ।’

कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई अंक गणितको अहंकारमा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै प्रहार गर्न सक्रिय रहेको आरोप लगाए। अहंकारले २सय ४० वर्ष लामो राजतन्त्र समाप्त भएको धेरै वर्ष नभएको सुनाउँदै पौडेलले जनतालाई हेप्ने कोसिस नगर्न सरकारलाई सचेत गराए। ‘अंक गणितको बलमा जनतामाथि टेक्ने कोसिस नगर्नुस्। यो अंक गणितको आधारमा जनतालाई हेप्ने र लोकतन्त्र खोस्ने कोशिस नगर्नुस् ज्ञानेन्द्रकै हालत होला,’ उनले भने,‘ राजा ज्ञानेन्द्रलाई हामीले सबैथोक बन्द गर्नुभएको छ, यी सबैथोक बन्द गर्ने तपाईंको आवाज एक दिन हामी कहिल्यै नसुनिने गरी बन्द गछौं भनेर यहीं ठाउँबाट उद्घोष गरेका थियौं। आज ज्ञानेन्द्रको आवाज बन्द भयो तर त्यो प्रवृत्ति बन्द भएन।’

प्रधानमन्त्री ओलीजीको टाउकोमा श्रीपेच नभए पनि मस्तिष्कभित्र श्रीपेच लगाए जस्तै भएको आरोप लगाए। ‘आज राजाको नाम फेरिएको हो गणतन्त्र आएको होइन रहेछ। हिजोको राजाको ठाउँमा नयाँ राजाले प्रतिस्थापन गरेको रहेछ,’ उनले भने,‘हाम्रो लोकतन्त्रलाई हेर्ने नजर हिजोको राजको जस्तो थियो आजको राजको पनि त्यस्तै आयो। त्यसकाविरुद्ध फेरि लड्ने दिन आएको छ। हामी लड्न तयार छौं।’

प्रकाशित: २५ पुस २०७६ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App