७ वैशाख २०८१ शुक्रबार
राजनीति

सहमतिका लागि अग्रसरता लिन देउवालाई सुझाव

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्। सभापति देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बिहानको खानासहितका भेटका लागि पुगेका जिल्ला सभापतिहरूले पार्टीभित्र देखिएको सम्वादहीनताको अन्त्यका लागि थप पहल लिन आग्रह गरेका हुन्।

सभापति देउवाले पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका घोषणासहितका निर्णय लिएपछि नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताको आह्वानमा पुस २१ गते देखि पार्टी केन्द्रीय कार्यालयमा निकट जिल्ला सभापतिसँग उनीहरूले छलफल गरेका थिए। छलफलमा सहभागी संस्थापनइतर जिल्ला सभापतिलाई आफ्नै निवासमा खानासहित छलफलका लागि बोलाएका देउवाले आफूलाई नबोलाएको गुनासो गरेका थिए।

पार्टीभित्र देखिएको विवाद आफू छलफलबाट समाधान गर्न तयार रहेको र चार वर्ष देखि पहल पनि गर्दै आएको गुनासो देउवाले जिल्ला सभापतिहरूसँग गरेका थिए। ‘तपाईहरूले मलाई किन बोलाउनु भएन ? बोलाएको भए म छलफलका लागि त्यहीँ(पार्टी कार्यालय) आउन तयार थिए,’ देउवासँगको भेटमा सहभागि धादिङ सभापति रमेश धमलाले भने, ‘पार्टीका जिल्ला सभापतिकै केन्द्रीय कार्यालयमा भएको भेलामा बोलाएको भए त्यसमा सबैका कुरा पनि सुन्न र आफ्ना कुरा पनि प्रष्ट्याउन पाउने थिए।’

आफू चारपटक प्रधानमन्त्री र पार्टीको सभापतिसमेत भइसकेको भन्दै देउवाले कांग्रेसलाई चुनावमा जित्नेगरी संगठन निर्माणका विषयमा पनि सोच्न आग्रह गरेका छन्। ‘संगठन निर्माणमा काम गर्ने पाइन। यतातिर पनि सोचांै। म सहमतिको बाधक होइन,’ देउवालाई उद्धृत गर्दै धमलाले भने, ‘अन्तिमसम्म प्रयास गरे निर्णयमा पुग्ने बेला ब्याक भएपछि म के गरांै ?’

त्यसपछि जिल्ला सभापतिहरूले थप पहल लिन सभापति देउवालाई आग्रह गर्दै अझ लचिलो हुन सुझाएका थिए। ‘पार्टीभित्र देखिएको सम्वादहीनताको तत्काल अन्त्यका लागि तपाईं(पार्टी सभापति)ले अझै लचिलो भएर पहल लिन हामीले आग्रह ग-यौं,’ धमलाले भने, ‘सहमतिका लागि आफूले निरन्तर पहल गर्दा वाक्क भएको छु। तर पनि पहल गर्छ।’

सभापति देउवाले आफूलाई मात्र गाली नगर्न र वास्तविक अवस्था बुझ्न पनि आग्रह गरेका थिए। जवाफमा उनीहरूले दुवै पक्षबाट भएका गल्तीहरू सुधार गरेकोर जानुपर्छ भन्नेमा जिल्ला सभापतिहरू रहेको धारणा राखेका थिए। विगतका घटनाक्रमका विषयमा लामो व्याख्या गरेका देउवाले आफूलाई मात्र गाली नगर्न पनि आग्रह गरेका थिए। पार्टीको सर्वसहमति निर्णयबाट नियमावली पारित गरेको सोहीअनुसार विधानका धारा निलम्बन भएको सुनाउँदै संगठन हितविपरीत कुनै निर्णय भएको भए आफू सच्याएर जान तयार रहेको जिल्ला सभापतिलाई आश्वस्त पारेका थिए।

जिल्ला सभापतिहरूले सहमतिबाटै पार्टीको नियमावली पारित भए पनि त्यसप्रति उनीहरूले असनतुष्टि जनाएका थिए। पार्टीका प्रमुख भ्रातृ संगठनहरूले आफ्नो काम नगरेर पार्टीको सदस्यता वितरण गर्ने अधिकारप्रति अपत्ति जनाएका छन्। त्यसले पार्टीलाई समाप्त पार्ने भन्दै तत्काल सच्याउन आग्रह गरेका हुन्।

मुलुकको भौगोलीक अवस्थाका कारण हाल सार्वजनीक गरिएको १४ औं महाधिवेशनको कार्यतालिका व्यावहारिक नभएको भन्दै त्यसलाई पनि संशोधन गर्न आग्रह गरेका छन्। पार्टीको क्रियाशील सदस्यताको छानबिन गर्न विश्वासीलो समिति गठन गर्न आग्रह गरेको सुनाउँदै धादिङ सभापति धमलाले पार्टीका शीर्ष नेताहरूले निर्माण गरेको नेपाल तरुण दलको केन्द्रीय समितिमा एउटाले अर्कालाई कारबाही गर्ने कुरा हुनसक्दैन। कारबाही गरे बनाउने तपाईंहरूले गर्ने हो।’

पार्टीका भ्रातृ संगठनलाई कामकाजी बनाउन र सक्रिय बनाउन नेतृत्वले तत्काल पहल लिन पनि सुझाएका थिए। तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका संस्थापनइतरका जिल्ला सभापतिको भेलाले पारित गरेको दुई पेज लामो निष्कर्ष बुझाएका थिए।

भेलाले पार्टीभित्र भागबन्डाको अन्त्य गर्दै १४ औं महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। भागबन्डा र विवादले पार्टीलाई कमजोर बनाएको भन्दै विधि र विधानअनुसार संगठन सञ्चालन गर्नुपर्नेमा जोड दिंदै सानातिना मतभेदलाई थाती राखेर सरकारका पछिल्ला गतिविधिविरुद्ध एकजुट हुन नेतृत्वलाई सुझाएका थिए।

१४ औं महाधिवेशन सुनिश्चित गर्न पार्टी सभापति देउवासहित सबै नेताहरू लचिलो हुनुपर्ने धारणा राख्दै जिल्ला सभापति विधानका विभिन्न धाराहरू अनावश्यक रूपमा निलम्बन गर्ने निर्णय तत्काल सच्याउन आग्रह गरेका छन्। भ्रातृ संगठनहरूलाई सक्रिय बनाउनुपर्नेसहितका निष्कर्ष निकालेका छन्।

प्रकाशित: २५ पुस २०७६ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App