coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लगानीको वातावरण अझै बनेन : उपाध्यक्ष गोल्छा

बुटवल- बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला मंगलबार सकिएको छ। मेलाको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिए पनि लगानीको वातावरण बन्न नसकेको बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको मनोबल बढाएर लगानी आकर्षण गर्न सरकारलाई उनले सुझाव दिए।

मुलुकमा पर्यटन विकासको राम्रो सम्भावना रहेकाले पर्यटकको बसाई लम्याउन ठोस पहल गरीनुपर्ने र त्यसका लागि लुम्बिनी बिशेष टुर प्याकेज बनाउनु पर्नेमा उनले जोड दिए। त्यस्तै उद्योगधन्दा विकासका लागि लगानीकर्तालाई सहज र सुलभ रुपमा जमिन उपलब्ध गराउनु पर्ने बताए। साना तथा मझौला उद्यमीका समस्या सम्बोधन गर्दै सहजकर्जा प्रवाहको व्यवस्था मिलाउन र करको समस्या समाधानका लागि सरकारलाई आग्रह गरे। कृषि उद्यमशिलताको विकास गर्दै निर्यातजन्य व्यापार बढाउन कृषिमा आधुनिकिकरण तथा प्रविधीको प्रयोग तर्फ जोड दिनुपर्ने बताए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बिभिन्न व्यवधानकाबीच पनि मेला सफल भएको जानकारी दिए। मेलाले सिँगो बुटवलको बजारलाई नै चलायमान बनाएको बताउँदै उनले देवीनगरमा सञ्चालन गरिएको मेलाले यहाँको पहिचान स्थापित गर्न सफल भएको दावी गरे। प्रदेश सभा सदस्य कृष्ण न्यौपाने, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजु, महासचिव दिनेशप्रसाद श्रेष्ठ लगायतले बोल्दै सबैको साथ र सहयोगका कारण मेला नयाँ स्थानमा सञ्चालन गरिए पनि सफल भएको बताए।

पुसको ९ गतेदेखि सञ्चालन गरिएको मेलामा उत्कृष्ट स्टल धनीहरुलाई पुरस्कृत गरिएको थियो। १५ दिनसम्म चलेको सो मेलामा ५ सय स्टल सहभागी थिए। मेलामा लक्ष्य अनुसार दर्शकको सहभागिता र कारोवार भएको मेला सचिवालयले जनाएको छ।

प्रकाशित: २४ पुस २०७६ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App