७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाडीको बिक्री घट्योः व्यवसायी, दीर्घकालिन असर हुन्नः राष्ट्र बैंक

फाइल फोटो

काठमाडौं– नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ।

राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो। 

त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको छ। पछिल्लो केहि दिन यता सवारीसाधनको विक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए। 

उनले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्न समेत नसकिएको बताए। नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको  दुलालले बताए। 

यता नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गा लगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउने गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको बताए।

यसले कर्जा लिने व्यक्तिले भविश्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने प्रवक्ता भट्टको भनाइ छ। उनले सवारी साधनको व्यवसायमा सुरुमा समस्या देखिएपनि भविश्यमा राम्रै फाइदा पुर्‍याउने बताए।

‘अर्थतन्त्रमा स्थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउन सक्छ’ उनले भने,‘पछि समान्य हुने भएकाले यसले दीर्घकालमा कुनै असर पार्दैन।’

व्यवसायीहरुले चालु आर्थिक वर्षमा सवारी साधनको विक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अभैm व्यापार घट्ने बताएका छन्। यसले समग्र अर्थतन्त्रमा असर पार्ने नाडाका अध्यक्ष दुलालले बताए। 

प्रकाशित: २४ पुस २०७६ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App