coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘निःशुल्क’ गाउँबस्ती घुमाउने चर्चित पदमार्ग

पोखरा - फेवाताल सिरानमा पर्छ–पञ्चासे क्षेत्र । पर्यटकीय र धार्मिक दृष्टिले यो क्षेत्र निकै नै महत्वपूर्ण मानिन्छ । त्यसैले बर्सेनि ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पञ्चासे क्षेत्रको पदयात्रामा जान्छन् । छोटो समयमा फरक अनुभूति लिन चाहने पाहुनाका लागि पञ्चासे क्षेत्रको पदयात्रा निकै नै महत्वपूर्ण रहेको पदयात्रा व्यवसायीको भनाइ छ । चराचुरुंगी, वनस्पति, अर्किट, जंगली जनावरसहित हिमाली क्षेत्रको दृश्यावलोकनका लागि पञ्चासे क्षेत्र पर्यटकमाझ चर्चित छ ।

पोखरानजिकैको अर्काे रुट हो– रोयलट्रेक । केही वर्ष अघिसम्म निकै नै चल्तीको यो रुटमा अहिले पनि विदेशीको आकर्षण उत्तिकै छ । रोयल टेकलाई पर्यटन व्यवसायीले ‘जेन्टल वाक’को रूपमा पनि प्याकेज बनाएर विदेशीलाई बेचिरहेका छन् । अन्नपूर्ण रेञ्ज, सूर्याेदय र सूर्यास्तसहित स्थानीय कला, संस्कृति अनुभव गर्न विदेशी यो रुटको पदयात्रा रुचाउँछन् ।

पोखरा नजिकैको अर्काे क्षेत्र हो– अस्ताम धम्पुस । सूर्याेदय र सूर्यास्तसहित होमस्टेमा रमाउन र हिमाली शृंखला अवलोकन गर्न पाइने यो रुट छोटो समयमा घुमेर पोखरा फर्किन सकिन्छ । पर्यटकले क्याम्पिङको समेत यो पदमार्गमा अनुभव लिन पाउँछन् । यही पदमार्ग हुँदै मर्दी र अन्नपूर्ण आधार शिविर (एबिसी)को पदयात्रा पनि जोड्न सकिन्छ ।

स्याङ्जा र तनहुँका भेगलाई जोडेर प्रवद्र्धन गरिएको अर्काे रुट हो– मिलेनियम ट्रेक । विभिन्न जातजातिको संस्कृति, हिमाली शृंखला, गुफा, अर्गानिक खाना, स्थानीय उत्पादनका कारण यो रुट पनि पछिल्लो समय विदेशी पर्यटकमाझ लोकप्रिय छ । दुईवटा जिल्लाका भित्री र ग्रामीण बस्तीबारे अध्ययन गर्र्दै प्रकृतिसँग रम्न चाहने पर्यटकका लागि पनि मिलेनिमय ट्रेक उत्तिकै चर्चित बन्दै गएको छ ।

त्यस्तै, पोखरा क्षेत्रकै सराङकोट हुँदै कास्कीकोटसम्म पनि पदयात्रा गर्न पाइन्छ । फेवाताललाई फन्को लाउँदै हिमाली शृंखलासँग लुकामारी गर्दै यो रुटमा पदयात्रा गर्न सकिन्छ । पोखरा बसाइ अवधि कम हुने पर्यटक यही रुटको पदयात्रामा जान्छन् । त्यसैगरी, म्याग्दीको नाँगीबाट पसगाउँ हुँदै लेसपारसम्मको पदमार्ग पनि विदेशी पदयात्रीमाझ चर्चित छ । मगर बस्ती, हिमाली क्षेत्रको फरक दृश्यसँग रमाउँदै स्थानीय उत्पादनको स्वाद लिँदै यो रुटमा हिँड्न पाउँदा विदेशी पर्यटक खुसी हुन्छन् ।

पञ्चासे, रोयल ट्रेक, अस्ताम–धम्पुस, मिलेनियम ट्रेक, सराङकोट–कास्कीकोट, नाँगी–लेसपार पोखरा नजिकका चर्चित पदमार्ग हुन् । बिनाशुल्क विदेशी पर्यटकले यी पदमार्गमा पदयात्रा गर्न पाउँछन् । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाइरँदा पदयात्रा व्यवसायी यी रुटलाई निःशुल्क घुम्न पाइने ‘रुट’ को रूपमा प्रचार गर्न सुझाएका छन् ।

अहिले पनि ठूलो संख्यामा विदेशी पर्यटक यी रुटको पदयात्रामा जान्छन् तर, कतैबाट पनि प्रवेश अनुमति लिन नपर्ने हुँदा ती रुटमा पुग्ने पदयात्रीको आधिकारिक तथ्यांक नरहने व्यवसायीको भनाइ छ । महँगो प्रवेश शुल्क तिरेर मात्र जान पाइने अन्नपूर्ण क्षेत्रभन्दा फरक तरिकाले निःशुल्क घुम्न पाइने क्षेत्रको रुपमा यी रुटको प्रवद्र्धन गर्न जरुरी रहेको व्यवसायीको भनाइ छ । खानपिन र गाइड तथा भरियाको शुल्कबाहेक अरू रकम खर्च गर्नु नपर्ने हुँदा सबैखाले पाहुनाका लागि यी रुट सस्तो पर्ने व्यवसायीको भनाइ छ ।

‘अन्नपूर्ण क्षेत्रभित्र वर्षमा जति विदेशी पदयात्राका लागि जान्छन्, त्यत्तिकै हाराहारीमा यी रुटमा पनि विदेशी जान्छन्,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका निवर्तमान अध्यक्ष दीपकराज अधिकारी भन्छन्, ‘यी रुटको पदयात्रामा जाँदा विदेशी पर्यटकले कुनै शुल्क तिर्नुपर्दैन भनेर मात्र हामीले प्रवद्र्धन गर्ने हो भने पनि पाहुना आकर्षण गर्न सकिन्छ । नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा यी रुटमा थप पाहुना भित्र्याउन सकिन्छ ।’

कम समयमा महत्वपूर्ण, रोमाञ्चक, आकर्षक पदमार्गको रूपमा पनि यी रुटले पाहुना तान्न सक्ने उनले बताए । ‘अन्नपूर्णभित्रका रुट साहसिक हुन् । गाउँबस्ती डुल्दै, प्रकृतिसँग रम्दै दृश्यावलोकनको अनुभव बटुल्न पाइने पोखरा नजिकका यी रुट उत्तिकै महत्वपूर्ण छन् । तर, यहाँ पुगेका पर्यटकको तथ्यांक कतै राखिँदैन,’ अधिकारीले भने । व्यवसायीका अनुसार पञ्चासेबाट देखिने हिमाली शृंखला निकै नै आकर्षक हुन्छ । धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमालसहित स्थानीय कृषि प्रणालीबारे बुझ्ने र वनजंगल, चराचुरुंगी, वनस्तपतिबारे अध्ययन गर्न चाहनेका लागि पनि पञ्चासे महत्वपूर्ण पदमार्ग रहेको व्यवसायीले बताए । तीन दिनमा पञ्चासे क्षेत्रको पदयात्रा पूरा हुन्छ । घना वनजंगल क्षेत्र पञ्चासे फेवातालको जलाधार क्षेत्र पनि हो ।

व्यवसायीका अनुसार विदेशीले रोयल ट्रेकको पदयात्रा निकै नै महत्वपूर्ण मान्छन् । सन् १९८१ डिसेम्बरमा तत्कालीन बेलायती राजकुमार चाल्र्सको समूह पोखरा नजिकैको अन्नपूर्ण स्काइलाइन ट्रेकमा पदयात्रामा गयो । राजकुमार चाल्र्सको क्याम्पिङ ट्रेकपछि पर्यटन व्यवसायीले अन्नपूर्ण स्काइलाइन ट्रेकको नामै परिवर्तन गरे ‘रोयल ट्रेक’ को नाममा । अहिले पनि यो पदमार्ग ‘रोयल ट्रेककै’ नाममा परिचित छ । राजपरिवारले पदयात्रा गरेको भन्दै धेरै विदेशी पर्यटक अहिले रोयल ट्रेकको पदयात्रा जान्छन् । सन् २००० सम्म यो पदमार्ग निकै नै चल्तीमा थियो । तर, मोटरबाटो विस्तारसँगै द्वन्द्व चर्किंदा मार्गले पाहुना अभाव झेल्दै गएको थियो । पहिलेजति धेरै पाहुना नपुगे पनि ट्रेक चार दिनमा पूरा हुने रोयल ट्रेकले विदेशीको मन जित्ने गरेको छ ।

अस्ताम–धम्पुस पदमार्ग क्याम्पिङ, होमस्टे र टि–हाउसको अनुभव लिन सकिने पदयात्राको रूपमा पनि परिचित छ । बढीमा तीन दिनमा अस्ताम–धम्पुसको यात्रा पूरा हुन्छ । आन्तरिक र विदेशी सबै पाहुना पोखराबाट नजिकको यो रुटमा पदयात्रामा जान सक्ने भएकाले पहुँचयुक्त पदयात्रा क्षेत्रको रूपमा पनि यसलाई विकास गर्न सकिने व्यवसायी बताउँछन् । गाउँबस्ती छुने मिलेनियम ट्रेक क्षेत्र पछिल्लो समय स्थानीयवासीको बसाइसराइसँगै रित्तिँदै गएको छ । तर, त्यस क्षेत्रमा पदयात्रा सञ्चालन हुँदा युवापुस्तालाई गाउँ फर्काएर पर्यटन क्षेत्रमा लगाउन सकिने पर्याप्त सम्भावना पनि यो रुटले लिएको छ ।

‘नेपाल भ्रमण वर्षमा केही नयाँपन खोज्नेका लागि छोटो अवधि र सस्तो मूल्यमा पूरा गर्न सकिने पदयात्रा रहेका छन् भनेर पनि हामीले यी रुटको ब्रान्डिङ गर्न सकिन्छ,’ टानका द्वितीय उपाध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘अहिले पनि पाहुना यी रुटमा जाँदा त्यहाँका बासिन्दाले केही आम्दानी पनि गरेका छन् । पाहुनालाई सेवा दिएबापत स्थानीयको आयआर्जन बढेको छ ।’ अन्नपूर्ण क्षेत्रभित्रका चल्तीका रुटमा पदयात्री आफैँ, जाने भए पनि निःशुल्क घुम्न सकिने यी रुटको प्रवद्र्धन अब गर्न जरुरी रहेको उनले बताए । ‘नितान्त गाउँलेको जीवनशैलीसँग पनि यी ट्रेकिङ रुटको सम्बन्ध छ ।

जसले बढीभन्दा बढी गाउँलेलाई लाभ दिएको छ,’ उनले भने, ‘अरू साहसिक रुटमा जान नभ्याउने पर्यटकलाई पोखरा आसपासका क्षेत्रमा पनि घुमाउन सक्ने हो भने त्यसले व्यवसायी र स्थानीय सबैलाई लाभ दिन्छ ।’ पदयात्रामार्गमा ठूला होटल नभए पनि क्याम्पिङ गर्न पाइने निकै रोमाञ्चक रुटमा पनि यी पदमार्ग गनिने पन्थीले बताए । पदमार्गका केही खण्डमा स्थानीयले होमस्टे चलाउन सक्ने र त्यहाँ पर्यटक पु-याउन सके ती होमस्टेलाई पनि राहत दिने उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सञ्चार अधिकृत ऋषि बरालका अनुसार सन् २०१८ मा अन्नपूर्ण क्षेत्रभित्र प्रवेश शुल्क तिरेर जाने पर्यटकको संख्या करिब एक लाख ८० हजार थियो । सन् २०१९ मा पनि यही हाराहारीमा विदेशीले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापको अनुमान छ ।

प्रकाशित: २४ पुस २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App