coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अदालतको ढोकामा क्याम्पस प्रमुख

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख र सहायक क्याम्पस प्रमुखले बेग्लाबेग्लै मितिका लागि जाडो बिदा तोकेर जारी गरेका सूचना।

इलाम – विद्यार्थी आन्दोलनपछि तालाबन्दी भइरहेको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख आफ्नो अधिकारमाथि हस्तक्षेप गरिएको भन्दै अदालतको ढोका पुगेका छन्। आफूले जाडो छुट्टीको सूचना निकालिसकेपछि सञ्चालक समितिले अर्काे मितिको सूचना पुनः निकालेको भन्दै प्रमुख रामप्रसाद गुरागाईंले इलामस्थित उच्च अदालतमा निवेदन दिएका हुन्।

प्रमुख गुरागाईंले यो वर्षको जाडो बिदा पुस १६ देखि माघ ८ गतेसम्म तोकिएको सूचना गत पुस १५ मा निकालेका थिए। आफ्नो कार्यकक्षमा आन्दोलनरत विद्यार्थीको तालाबन्दी भएका कारण उनले हस्तलिखित सूचना जारी गरेका थिए। तर, विद्यार्थीले ‘प्रमुखले घरबाट क्याम्पस चलाएको’ भन्दै प्रमुखले तोकेको बिदा अवज्ञा गरी कक्षा सञ्चालन गर्न दबाब दिएका थिए। विद्यार्थीको दबाबका कारण प्रमुखले तोकेको बिदा कार्यान्वयन हुन सकेको थिएन।

क्याम्पसकै लेटरप्याडमा पुस २२ देखि माघ १५ सम्म यो वर्षको हिउँदे बिदा तोकिएको सूचना पुस २० मा जारी गरिएको छ। एउटा सूचना आइसकेका बेला त्यही लेटरप्याडमा सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेलको हस्ताक्षर रहेको अर्काे सूचना आएपछि विद्यार्थी, प्राध्यापक, कर्मचारीलगायत अन्योलमा छन्। क्याम्पसबाट फर्कंदै गरेका विद्यार्थी कृष्ण चापागाईंले भने, ‘एउटा सूचनामा माघ ८ गते क्याम्पस खुल्ने भनिएको छ, अर्काेमा माघ १५। अब कुन दिनदेखि क्याम्पस आउनुपर्ने हो टुंगो छैन।’

प्रमुख गुरागाईंले हिउँदे बिदा यसअघिसम्म प्रमुखले नै तोक्ने गरेको र यो वर्ष पनि तोकेर सूचना निकालेको बताए। ‘मैले बिदाको सूचना निकालिसकेपछि सञ्चालक समितिले मेरो अधिकार हस्तक्षेप गर्दै अर्काे सूचना जारी गरेको पाइयो,’ उनले भने, ‘यो त प्रमुखको अधिकारमाथि ठाडो हस्तक्षेप भएकाले न्यायालयको ढोका ढक्ढक्याएको हुँ।’

उनले सहायक प्रमुख लुइँटेल र सञ्चालक समितिलाई विपक्षी बनाई निवेदन दिएका छन्। अदालतले आउँदो २७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको कानुन व्यवसायी मदन खड्काले जानकारी दिए। ‘गुरागाईंले आफू क्याम्पसमै रहेको र बिदाको सूचना निकालिसकेका बेला सञ्चालक समितिले अर्काे सूचना निकालेर अन्योल सिर्जना गरेको भन्दै निवेदन दिनुभएको हो,’ खड्काले भने, ‘कुन सूचनाचाहिँ ठीक हो भन्नेबारे आउँदो २७ गते छलफल हुन्छ।’

सहायक प्रमुख लुइँटेलले क्याम्पसमा जाडो बिदाका लागि कुनै सूचना नआएकाले आफूले सूचना निकालेको बताए। ‘क्याम्पस प्रमुखले जारी गरेको भनिएको सूचना क्याम्पसको मुख्य अड्डामा आएन, मुख्य सूचनापाटीमा पनि नटाँसिएपछि क्याम्पस बिदा नै भएन। पढाइ भइरह्यो, २१ गतेसम्म त परीक्षा नै चलिरहेको थियो,’ लुइँटेलले भने, ‘५० भन्दा बढी प्राध्यापकले बिदाको सूचनाबारे अन्योल भएको भन्दै निवेदन दिएपछि पुस २० मा सञ्चालक समितिको बैठक बसेर बिदाको निर्णय गरिएको हो।’ उनले यसअघिसम्म क्याम्पसमा यसरी तोकिने बिदाको सूचना समन्वयमै भइरहेको तर यो पटक सामाजिक सञ्जालमा प्रमुखको हस्ताक्षर भएको बिदा सूचना देखिए पनि क्याम्पसमा नआएको बताए।

विद्यार्थीले गरे क्याम्पस प्रमुखको ‘बिदाइ’
आन्दोलनरत विद्यार्थीले क्याम्पस प्रमुख गुरागाईंलाई बिदाइ गरेको भन्दै रंग–अबिर गरेका छन्। प्रमुख गुरागाईं आफूहरूका माग पूरा गर्न अक्षम रहेको र अब क्याम्पसमा उनको कुनै जिम्मेवारी नरहेको भन्दै विद्यार्थीले क्याम्पस परिसरमा रहेका प्रमुखलाई रंग–अबिर गरेका थिए।

‘हामीले विद्यार्थीको हक–हितका माग राखेर तालाबन्दी गरेको डेढ महिना बित्दा पनि कुनै सुनुवाई भएन,’ अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष दर्शन राईले भने, ‘प्रमुख सरले अब क्याम्पसमा जिम्मेवार छु भनेर बस्नुको अर्थ नभएकाले आन्दोलनको कार्यक्रमअनुसार नै उहाँलाई बिदाइ गरेका हौं।’ उनले आफ्नो संगठनले आधिकारिक रूपमै अहिलेसम्मका कार्यप्रति धन्यवादसहित गुरागाईंलाई बिदाइ गरेको बताए। ‘हामी अब प्रमुखलाई क्याम्पस प्रवेश निषेध गर्ने कार्यक्रम ल्याउँदैछौं,’ उनले भने, ‘आफूले वार्तामा बोलाएर आफैं नआउने, पटक–पटक वार्ता गरौं भन्दा वास्ता नगर्ने प्रमुखलाई क्याम्पस आउन दिँदैनौं।’

प्रमुख गुरागाईंले चाहिँ आफूलाई क्याम्पसका पूर्वविद्यार्थीले आएर एक्कासि रंग–अबिर गरेको बताए। ‘मलाई बिदाइ गर्न आउनेमा अहिलेका होइन, पूर्वविद्यार्थी थिए,’ प्रमुख गुरागाईंले भने, ‘रंगमा के मिसावट थियो थाहा भएन, रातभर असर ग¥यो। सुत्न सकिनँ।’ उनले विद्यार्थीलाई गत १३ गते नै वार्तामा बोलाउँदा विद्यार्थी नआएको बताए। ‘आन्दोलनरत विद्यार्थी मैले पटक–पटक बोलाउँदा वार्तामा आएनन्,’ उनले भने, ‘वार्तामा नआउँदा समस्या समाधान हुँदैन, म त अहिले पनि भन्छु, आउनुहोस्, बसेर छलफल गरौं, समस्याको निकास खोजौं।’

तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गत कात्तिक २४ मा क्याम्पस प्रशासनलाई १८ बुँदे मागपत्र बुझाएका थिए। नियमित, स्वच्छ र शान्त वातावरणमा पठनपाठन व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको मापदण्ड र कानुन मिचेर दोहोरो, तेहेरो सेवा–सुविधा प्रदान गर्नेगरी विभिन्न बहानामा करारमा गरिएको मनपरी नियुक्ति खारेज गर्नुपर्ने, क्याम्पस हाताभित्र नक्सापास नै नगरी भइरहेको भवन निर्माण कार्य तत्काल रोकी प्रावधान पु-याउनुपर्ने लगायतका माग विद्यार्थीले राखेका थिए। तर, माग पूरा नभएपछि उनीहरूले गत मंसिर पहिलो साता प्रमुखको कोठामा तालाबन्दी गरेका छन्।

प्रमुख गुरागाईं कात्तिक ३० मै काठमाडौं गएर पुस १२ मा मात्रै फर्किए। पुस १३ मा विद्यार्थीलाई वार्तामा बोलाउँदा विद्यार्थीले १४ गते क्याम्पसको प्रशासन, लेखा शाखालगायतमा समेत तालाबन्दी गरेका छन्। २ हजार हाराहारी विद्यार्थी अध्ययन गरिरहेको जिल्लाकै एकमात्र सरकारी क्याम्पसमा लामो समय तालाबन्दी भइरहेपछि शैक्षिक, प्रशासनिकलगायत सबै काममा अवरोध भइरहेको क्याम्पसले जनाएको छ। ‘प्राध्यापक–कर्मचारीको तलब जाडो बिदाको अघिल्लो दिन वितरण हुने गरेको थियो, यसपालि वितरण गर्न पाइएन,’ प्रमुख गुरागाईंले भने, ‘क्याम्पसको संरचना निर्माणको भुक्तानीदेखि दर्जनौं काम रोकिएका छन्।’

प्रकाशित: २४ पुस २०७६ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App