coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पृथ्वीपथको प्रवर्द्धन

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई आत्मसात् नगर्ने व्यक्तिले आफूलाई नेपालीका रूपमा गौरवान्वित गर्न सक्दैनन्। यसै पनि उनको त्यो योगदान अवमूल्यन गर्नेहरू प्रशस्त देखिन्छन्। उनले जुन परिस्थितिमा नेपाल राज्य निर्माण यात्रालाई अघि बढाए, त्यो आफैंमा अद्वितीय छ। संसारभरि राष्ट्रनिर्माण अभियान चलिरहेका बेला गोर्खाको एउटा सानो राज्यबाट उठेर उनी नेपाल एकीकरण गर्न सफल भए। उनको त्यही योगदानले आज नेपाल राष्ट्रको उपस्थिति विश्व मानचित्रमा स्थापित गरेको छ। पृथ्वीनारायण शाहले १८२५ सालमा काठमाडौंमा विजय हासिल गरेपछि नेपाल राज्यको खाका बनेको हो। काठमाडौं उपत्यकामा विजय गर्नुअघि र पछि विजय अभियान विभिन्न व्यक्तिबाट अघि बढ्यो। सुगौली सन्धिपछि वर्तमान नेपालको सीमा निर्धारित भयो। पृथ्वीनारायण शाहले त्यति बेला राष्ट्रनिर्माण अभियान अघि नबढाएका भए नेपालको इतिहास भिन्न हुन सक्थ्यो। तर, नेपाल राष्ट्रलाई लिएर गौरव गर्दा पृथ्वीनारायणलाई बिर्सन सकिँदैन। बेलाबेलामा उनको त्यो अभियानको अवमूल्यन हुन खोज्छ। राष्ट्रनिर्माताको सम्मानमा विगतमा एकीकरण दिवस पुस २७ मा मनाउने गरिएको पनि हो। तर, जनआन्दोलन २०६२÷६३ पछि राष्ट्रनिर्माता पनि कोपभाजनको सिकार भएका छन्। उनलाई सम्झने र नेपाल राष्ट्रनिर्माणका लागि उनीप्रति कृतज्ञता व्यक्त गर्ने काम भइरहेका छैनन्। बरु, उनका सालिक भत्काउने काम यसबीच धेरै भए।

पृथ्वीनारायण शाहलाई सम्झना गर्ने एउटा दिवस जसलाई नेपाल एकीकरण दिवसका रूपमा सम्झना गर्ने परिपाटी बसाल्न आवश्यक छ। जेजस्तो कारण दिएर हिजो पुस २७ लाई पृथ्वी दिवसबाट हटाइएको छ, त्यसलाई पुनस्र्थापित गर्न वर्तमान केपी शर्मा ओली सरकारले ध्यान दिनुपर्ने हुन्छ। यसले वास्तवमै यो सरकारप्रति विश्वासको वातावरण सिर्जना गर्नेछ।

ढिलै होस्, उनको योगदानको पुनः चर्चा सुरु भएको छ। त्यति मात्र होइन, उनको स्मृतिलाई ताजा बनाउने अभियान पनि सञ्चालन हुन थालेका छन्। सरकारले पृथ्वी जयन्ती मनाउन छाडे पनि जनस्तरमा उनलाई सम्झने काम भइरहेको छ। नेपाली सेनाले चाहिँ यी राष्ट्रगौरवको सम्मानमा आफ्नो मुख्यालयमै सालिक स्थापना गरेको छ। त्यति मात्र होइन, पृथ्वीनारायणले नेपाल एकीकरण गर्दा हिँडेका बाटाहरूमा फेरि पदयात्रा थालेर सम्झनालाई घनीभूत बनाउने काम थालेको छ सेनाले। नेपाल एकीकरणमा संलग्न गुरुज्यूको पल्टनकै निरन्तरताका रूपमा त्यही वेशभूषामा सेना यसमा सरिक भएर भर्खरै राजधानी काठमाडौं आइपुगेका हुन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा आयोजित यो अभियानको सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा मात्र गरेका छैनन्, यसमा सरिक पनि भएका छन्। यसले फेरि एकपटक पृथ्वीनारायण शाहको सुझबुझको चर्चा हुन थालेको छ। वास्तवमा अहिलेको पुस्ताले त्यो इतिहासलाई नबुझी नेपाल राष्ट्र निर्माणको महŒवलाई आत्मसात् गर्न सक्दैन। पृथ्वीनारायणको पल्टनले उतिबेला गरेको यात्राजस्तै गरी गोर्खाबाट नुवाकोट, धादिङ हुँदै काठमाडौं खाल्डामा प्रवेश गरेको हो। एकीकरणको मसाल ¥यालीले सर्वसाधारणलाई समेत आकर्षित गरेको देखिएको छ। यसरी सेनाले अभियानकै रूपमा पृथ्वीनारायणलाई सम्झने कार्य गर्नु आफैंमा प्रशंसनीय कार्य हो। यो राष्ट्रिय सेनाले इतिहासप्रति गरेको सम्मान र गौरवबोध पनि हो। यतिबेला राष्ट्रिय सीमा खुम्च्याउन खोजिएको छ। कालापानीमा यतिबेला देश दुखिरहेको छ। यस्तो अवस्थामा एकीकरणप्रति गौरवबोध हुने कार्यक्रम आयोजना गर्नु अर्थपूर्ण छ।

वास्तवमा अन्य बिदाहरू कटौती गर्न सकिन्छ। तर, पृथ्वीनारायण शाहलाई सम्मान गर्ने एउटा दिवस जसलाई नेपाल एकीकरण दिवसका रूपमा सम्झना गर्ने परिपाटी बसाल्न आवश्यक छ। जेजस्तो कारण दिएर हिजो पुस २७ लाई पृथ्वी दिवसबाट हटाइएको छ, त्यसलाई पुनस्र्थापित गर्न वर्तमान केपी शर्मा ओली सरकारले ध्यान दिनुपर्ने हुन्छ। यसले वास्तवमै यो सरकारप्रति विश्वासको वातावरण सिर्जना गर्नेछ। यो वर्ष सन् २०२० जनवरीदेखि नेपालले नेपाल भ्रमण वर्ष आयोजना गरेको छ। भ्रमण वर्षका अनेकन आकर्षणमध्ये एक पृथ्वीनारायण र उनको एकीकरण अभियानसमेत हुन सक्छ। त्यति मात्र होइन, उनले गरेको एकीकरण अभियान नै नमूनाका रूपमा पर्यटकलाई आकर्षक हुने गरी पस्किन सकिन्छ। चीनले आफ्नो मुलुकका दार्शनिक कन्फ्युसियसलाई पर्यटनको आकर्षणका रूपमा विकास गरिरहेको छ। त्यति मात्र होइन, उनलाई आफ्नो सौम्य शक्ति (सफ्ट पावर) कूटनीतिको हिस्सा बनाएको छ। चीनले चाहेको आफ्ना राष्ट्रनिर्माता माओ जेदुङलाई यसको हिस्सा बनाउन सक्थ्यो। तर, त्यसो नगरी कन्फ्युसियसलाई अघि सारेको छ। पृथ्वीनारायण कूटनीति, अर्थनीति, राजनीति आदिका हिसाबले पनि उम्दा देखिन्छन्। उनको ‘दिव्योपदेश’ यसको साक्षी हो। नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’का रूपमा चित्रण गर्ने पृथ्वीनारायण शाहको दृष्टिकोणभन्दा भिन्न सबैलाई आश्वस्त पार्ने धारणा अहिलेसम्म आउन सकेको छैन। ‘घुस दिन्या र लिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उनको धारणा आजका लागि पनि उत्तिकै सान्दर्भिक छ। यस अर्थमा पनि पृथ्वीनारायण शाहलाई राष्ट्रका अमूल्य निधिका रूपमा सम्झिन कन्जुस्याइँ गर्नु हुँदैन। नेपाली सेनाले उनको सम्झनालाई घनीभूत गराउन थालेको यो अभियानले सबै क्षेत्रमा मूर्तरूप लिनुपर्छ।

प्रकाशित: २४ पुस २०७६ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App