८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

इरानी क्षेप्यास्त्र आक्रमणबाट ध्यस्त इराकको अल असदस्थित अमेरिकन हवाई सैन्य शिविरको स्याटलाइट दृष्य। तस्बिर : सिएनएन

काठमाडौं – अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ। उक्त एयरबेसमा नेपाली शान्ति सेना पनि खटिएका छन्।

इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ वटा मिसाइल प्रहार गरेको इरानले नेपाली सैनिक खटिएको सिटी अफ इर्बेलस्थित एयरबेसमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। त्यस्तै अद असद एयर बेसमा १७ वटा मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। ‘नेपाली शान्ति सैनिक खटिएकै एयरबेसमा इरानले मिसाइल आक्रमण गरेको छ तर नेपाली शान्ति सैनिक सुरक्षित छन्,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने। उक्त एयरबेसको एउटा क्षेत्रमा अमेरिकी सैनिकले सुरक्षा दिइरहेको र अर्काे क्षेत्रमा नेपाली शान्ति सैनिक रहेको पाण्डेले जानकारी दिए। इराकमा प्रमुख सेनानी (कर्नेल) को नेतृत्वमा ७७ जना शान्ति सैनिक खटिएका छन्।

अमेरिकी सुरक्षा फौजले शुक्रबार ड्रोन आक्रमणबाट इराकमा इरानी सैन्य फोर्सका कमान्डर जनरल क्वासिम सुलेमानीको हत्या गरेको बदलामा इरानले अमेरिकी सैन्य बेसमा आक्रमण गरेको हो। अमेरिकी सैन्य बेसमा इरानले निरन्तर मिसाइल आक्रमण गरेपछि नेपाली सेनाले अनमिन मिसनअन्तर्गत किर्कुक र इर्बेलस्थित युएन बेसमा तैनाथ नेपाली गार्ड युनिटलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। संयुक्त राष्ट्रसंघ मातहत रहेका उनीहरुलाई राष्ट्रसंघले ‘नो मुभमेन्ट’को निर्देशन दिएको छ। अहिले हाम्रा सैनिक सुरक्षित अवस्थामा छन्। उनीहरुलाई थप सुरक्षा सजकता अपनाउन निर्देशन दिएका छौं,’ पाण्डेले भने।

मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

त्यस्तै सेनाले लेबनान र सिरियामा तैनाथ नेपाली शान्ति सेनाका युनिटलाई समेत सुरक्षा सतर्कता अपनाउन र परिस्थितिको अनुगमन गर्दै मिसन हेडक्वार्टर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ। अमेरिका र इरानबीचको तनावका कारण नेपाली शान्ति सैनिक खटिएका मुलुकमा सुरक्षा खतरा देखिएकाले सेनाले सुरक्षा सजगता अपनाउन शान्ति सैनिकलाई निर्देशन दिएको हो।

यसैबीच नेपाल सरकारले पनि मध्यपूर्वमा रहेका नेपालीलाई सचेत रहन आग्रह गरेको छ। मध्यपूर्वमा सम्भावित द्वन्द्वलाई ध्यान दिँदै सरकारले नेपालीहरुको सुरक्षाका विषयमा चासो देखाएको हो। सरकारले मध्यपूर्वमा रहेका कूटनीतिक नियोगमार्फत त्यहाँ रहेका नागरिकसँग निरन्तर सम्पर्क राख्न र परिस्थितिको निरन्तर जानकारी गराउन निर्देशन दिएको छ। अमेरिकाले इराकमा इजरायली सैनिक जनरलको हत्या गरेलगत्तै सरकारले आकस्मिक बैठकमार्फत त्यस क्षेत्रको परिस्थिति मूल्यांकन गरेर निरन्तर परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहन निर्देशन दिएको थियो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव तथा दुवै मन्त्रालयका सचिव र खाडी हेर्ने महाशाखा प्रमुखको उपस्थितिमा बसेको बैठकले परिस्थिति बिग्रेमा नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल गरेको थियो। खाडी क्षेत्रमा रहेका दूतावासमार्फत त्यहाँको परिस्थिति र नेपालीको अवस्थाबारे निरन्तर सूचना आदानप्रदान भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए। ‘हामी अहिले मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका छौं,’ पौड्यालले भने।

सरकारले कूटनीतिक नियोगहरुलाई निरन्तर नेपाली नागरिकसँग सम्पर्क गर्न र त्यहाँ रहेका नेपालीलाई पनि सम्बन्धित मुलुक हेर्ने नियोगमा सम्पर्क राख्न आग्रह गरेको छ। सरकारले मध्यपूर्वमा उत्पन्न परिस्थितिबाट नेपाली प्रभावित भएको जानकारी हालसम्म नआएको जनाएको छ। ‘सरकारले त्यहाँ रहेका नागरिकलाई चनाखो हुन आग्रह गरेको छ, हालसम्म कुनै पनि नेपाली प्रभावित भएको खबर छैन,’ पौड्यालले भने।

अमेरिकाले थप कारबाही अघि बढाएमा अमेरिकी सैन्य बेस रहेका इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) मा पनि आक्रमण गर्ने चेतावनी इरानले दिएको छ। इजरायल र युएईमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन्। इरानको पछिल्लो धम्कीपछि मध्यपूर्वमा रहेका नेपाली कामदारका लागि खतरा बढेको छ। मन्त्रालयले सम्भावित जोखिमको मूल्यांकन गर्दै सम्बन्धित मुलुक हेर्ने दूतावासमार्फत नेपाली नागरिकको उद्धारका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

प्रकाशित: २४ पुस २०७६ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App