८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुको ‘कर्णाली’ मा भव्य विद्यालय

जुगल गाउँपालिका–५ बराम्ची चनौटेमा चीन सरकारको सहयोगमा निर्मित रत्नराज्य माविको अत्याधुनिक विद्यालय भवन। तस्बिर : ध्रुव/नागरिक

जुगल (सिन्धुपाल्चोक) – तीनवटा भव्य भवन। एक सय ३७ वटा कोठा। मधुरो कालो रङको ढुंगाजस्तै देखिने टायलको छाना। रातो–कलेजी रङ पोतिएको भित्तामा चाँदीझैं टल्कने हल्का सेतो घेराले भवनको सुन्दरता झनै निखारिएको। उत्तरतिर टलक्क टल्किने जुगल हिमशृंखला। पश्चिमी किनारमा सुसाउँदै बहिरहेको पवित्र ब्रह्मायणी नदी। हरियाली डाँडाकाँडाबीच रमणीय स्थानमा अवस्थित यो भवन सुविधासम्पन्न सहरको आलिसान महलभन्दा कम छैन। तर यो भवन न कुनै महल हो न कुनै पाँचतारे होटल। यो हो दुर्गम गाउँको सामुदायिक विद्यालय।

जुगल गाउँपालिका–५ बराम्चीको चनौटेमा अवस्थित रत्नराज्य माविको यो भवन भौतिक पूर्वाधारका हिसाबले सम्भवतः मुलुककै सबैभन्दा ठूलो र अत्याधुनिक सामुदायिक विद्यालय हो। यो विद्यालय चीन सरकारको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको हो। १६ वर्षदेखि आफूले अध्यापन गराउँदै आएको विद्यालय भवनको यो भव्य स्वरूप देख्दा शिक्षक ऋषिराम पौडेललाई अहिले सपनाझैं लागिरहेको छ। ‘कल्पनामा त के सपनामा पनि यस्तो विद्यालय भवन देखेको थिइनँ। त्यो पनि सामुदायिक विद्यालयको !’ उनले अचम्मित हुँदै भने। नेपालको सुगम स्थल र सहरमा समेत नभेटिने यति आलिसान विद्यालय आफ्नै दुर्गम गाउँमा पाउँदा उनी अचम्मित नहुने कुरै भएन ! विद्यालय भवन बनाउन भनेर सुरुमा चिनियाँ प्राविधिक र कामदर आउँदासम्म यस्तो भव्य संरचना बन्ला भनेर नसोचेको उनले बताए। ‘तर हेर्दाहेर्दै कहिल्यै नसोचेको विद्यालय भवन बनेको देख्यौं,’ पौडेलले सुनाए।

पौडेलजस्तै अरू शिक्षक, विद्यार्थी र अभिभावक पनि विद्यालय देखेर चकित छन्। आफ्नै आँगनमा अत्याधुनिक विद्यालय भवन पाउँदा सबै दंग र फुरुंग देखिन्छन्। चीन सरकारको एक अर्ब रुपैयाँ अनुदान सहयोगमा रत्नराज्यको विद्यालय भवन निर्माण भएको हो। नवनिर्मित विद्यालयको बाहिरी वातावरण जति सुन्दर देखिन्छ, भवनभित्र प्रवेश गर्दा त्यहाँका सुविधायुक्त संरचनाले जोकोहीको मस्तिष्क झंकृत हुन थाल्छ। त्यसले कुनै विदेशी शैक्षिक संस्थाको झल्को दिन्छ।

जुगल गाउँपालिका–५ बराम्चीको चनौटेमा अवस्थित रत्नराज्य माविको भवन भौतिक पूर्वाधारका हिसाबले सम्भवतः मुलुककै सबैभन्दा ठूलो र अत्याधुनिक सामुदायिक विद्यालय भवन हो।

दक्षिण फर्किएको विद्यालयको प्रवेशद्वारबाट भित्र छिर्दा मन त्यसैत्यसै लोभिन्छ। सुरुमा पहरा घर छ। त्योसँगै चमेना गृह। यी दुई संरचनाको सामुन्नेमा छ भुइँमा हरियो रङ पोतिएको भलिबल कोर्ट। अनि साना कक्षाका बालबालिका खेल्ने संरचना। दुइटा टेबल टेनिस कोर्ट पनि यहीं छन्। त्यसपछि चारैतिर घेराबार गरिएको बीच भागमा आउँछ पहिलो भवन। यसको सामुन्नेमा गाढा र फिक्का हरियो रङ मिश्रित कृत्रिम घाँसे मैदानसहितको फुटसल कोर्ट छ।

त्यसपछि क्रमशः तीन लहरमा ठडिएका भवनमा छिर्दा प्रत्येक तला र कक्षाकोठा लोभलाग्दा लाग्छन्, सुविधाले भरिएका र चिटिक्क सजिएका। ‘अत्याधुनिक भवनको गरिमा र मर्यादा राख्न चुनौती थपिएको छ,’ चाँडै हस्तान्तरणको तयारीमा रहेको विद्यालय भवनको अवलोकन गर्दैगर्दा भेटिएका सहायक प्रधानाध्यापक ऋषि थापाले भने।

सुविधैसुविधा
नवनिर्मित विद्यालयका तीनवटा मुख्य भवन छन्, जहाँ एक सय ३७ कोठा छन्। पहिलो लहरको तीनतले भवन मुख्य संरचना हो। यसमा विद्यार्थी पढ्ने २१ कक्षाकोठा छन्। पढाइ मात्र हुने प्रयोजनका लागि बनाइएको यो भवनको प्रत्येक तलामा छात्रा र छात्राका लागि छुट्टछुट्टै शौचालय र खानेपानीका धारा छन्। मार्बल बिछ्याइएको कक्षामा हरेक विद्यार्थीलाई पुग्नेगरी छुट्टाछुट्टै डेस्क, बेन्चलगायत आकर्षक फर्निचरको व्यवस्था गरिएको छ। बेन्चमै किताब, कापी राख्ने सुविधा छ, साथै -याक (लकर) को व्यवस्था पनि। कक्षाको सबैभन्दा अगाडि सेतो पाटी र पोडियमको व्यवस्था छ।

कक्षाकोठा रहेको भवनबाटै दोस्रो संरचनामा पुग्न सकिन्छ। बीचको यो संरचना प्रशासनिक भवन हो। यहाँ ३६ कोठा छन्। प्रशासनिक भवनमा कार्यालय, तालिम हल, बैठक कक्ष, पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष छन्। कार्पेटिङ गरिएका सबै कक्षमा पर्याप्त फर्निचर छन्। कम्प्युटर कक्षमा ५२ वटा कम्प्युटर छन्।

अन्तिम लहरमा पाँचतले आवास भवन छ। यो भवनमा ८० कोठा छन्। आवास भवनको क्षमता ६ सय ३० जना रहेको जुगल–५ का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताए। उनका अनुसार आवास भवनमा छात्र, छात्रा र शिक्षक बस्ने छुट्टाछुट्टै कोठा छन्। प्रत्येक तहका दुई छेउ र बीचमा बाथरुम छन्। आवासमा चिसो, तातोपानीको सुविधा छ। ‘हजार जनासम्म विद्यार्थी होस्टेलमा राख्न सकिन्छ,’ अध्यक्ष अधिकारीले भने।

प्रत्येक भवनका हरेक कोठामा पर्याप्त बिजुली बत्ती छन्। बाहिरी वातावरणका लागि चारैतिर पोलमा बिजुली बत्ती जडान गरिएको छ। बिजुली पोलमै स्पिकर (आवाज पद्धति) जडित छ। ‘साउन्ड सिस्टम’ को पहुँच प्रत्येक कोठादेखि चमेनागृह र पहरा घरसम्म विस्तार गरिएको छ। एक ठाउँबाट निर्देशन दिँदा सबैतिर सुनिन्छ। विद्युतीय उपकरण स्वचालित छन्। आवाजले बल्छन्, निभ्छन्। भवन बाहिरी वातावरणका लागि छुट्टै शौचालय बनाइएको छ।

विद्यालय हातामा सड्ने, बाल्नुपर्ने र नष्ट नहुने फोहोर फाल्ने मेसिनरी औजार पर्याप्त छन्। पर्याप्त अक्सिजनका लागि भवनका प्रत्येक तला र कोठामा हावा वारपार गर्ने पाइप जडान गरिएको छ। आगलागीजस्ता प्रकोपमा यसैबाट पानी र ग्याँस फालेर निभाउन सकिने व्यवस्थापन समिति अध्यक्ष अधिकारीले जानकारी दिए। उनका अनुसार आगो निभाउन र पिउन ठूला क्षमताका तीनवटा खानेपानी ट्यांकी निर्माण गरिएका छन्।

विद्यालयको यो भव्य संरचना चीन सरकारले झन्डै साढे दुई वर्ष लगाएर बनाएको हो। विद्यालयको पुरानो संरचना २०७२ सालको भूकम्पले ढालेको थियो। तर त्यसअघि नै चीनले विद्यालय बनाउने प्रक्रिया सुरु भइसकेको थियो।

नमुना विद्यालय बनाउने योजना
साबिक सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, हगाम र बराम्ची गाविस मिलेर बनेको जुगल गाउँपालिका सिन्धुपाल्चोकमा ‘कर्णाली’ भनेर चिनिन्छ। भौगोलिक विकटतासँगै यो गाउँपालिका आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा निकै पछाडि छ। तामाङ समुदायको बाहुल्य रहेको गाउँपालिकाको एक गाउँबाट अर्को गाउँमा पुग्न झन्डै डेढ दिन पैदल हिँड्नुपर्छ। गाउँबस्तीमा आधारभूत तहका विद्यालय प्रशस्त भए पनि मावि भने नौवटा मात्र छन्।

दूरीका कारण माध्यमिक तहको पठनपाठनका लागि ती पायक छैनन्। त्यसैले यहाँका बालबालिकालाई ९–१२ कक्षाको अध्ययन पूरा गर्न निकै सकस छ। रत्नराज्यमा अहिले साढे चार सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयको तथ्यांक छ। दैनिक ओहोरदोहोर गर्न नभ्याउने घर टाढा भएका झन्डै तीन विद्यार्थी चनौटे र आसपमास डेरा गरी पढिरहेका छन्।

‘यस्ता विद्यार्थीलाई नवनिर्मित आवासीय विद्यालयले ठूलो सुविधा दिँदैछ,’ गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने। उनका अनुसार पाँच सय ९२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको पालिकाका धेरै बालबालिका बुबाआमासँगै चौंरी, भेडा चराउँदै लेकाली क्षेत्र जाने चलन छ। उनीहरू पढाइबाट वञ्चित छन्। त्यस्तै तेगा, दिपुलगायत गाउँका बालबालिका आधारभूत तह पढ्न नै निकै टाढा जानुपर्छ। विद्यालय टाढा हुँदा उनीहरू पढ्न पाउँदैनन्।

‘यी दुवै खाले विद्यार्थीलाई आवासीय विद्यालयमा भित्र्याउने योजना बनाइरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने। अत्याधुनिक विद्यालय बनेकाले सञ्चालन खर्च जुटाउनु र शैक्षिक गुणस्तर सुधार्नुपर्ने चुनौती उनले देखेका छन्। यस्ता चुनौती चिरेर नमुना विद्यालय बनाउन गाउँपालिका बहस चलाउँदै योजना निर्माणमा जुटिरहेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २४ पुस २०७६ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App