coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुको ‘कर्णाली’मा बन्यो मुलुककै सुविधा सम्पन्न सामुदायिक विद्यालय (फाेटाे फिचर)

जुगल गाउँपालिका–५ बराम्ची चनौटेमा चीन सरकारको सहयोगमा नवनिर्मित रत्नराज्य माविको अत्याधुनिक विद्यालय भवन । तस्बिर:ध्रुव/नागरिक

जुगल (सिन्धुपाल्चोक)- तीनवटा भव्य भवन। कोठा मात्र एक सय ३७ वटा। मधुर कालो रंगको ढुंगा जस्तै देखिने टायलको छाना। रातो–कलेजी रंग पोतिएको भित्तामा चाँदी झैँ टल्कने हल्का सेतो घेराले भवनको सुन्दरता झनै थपेको छ। उत्तरतिर टलक्क टल्केको जुगल हिमशृंखला। पश्चिमी किनारमा सुसाउँदै बहेको पवित्र ब्रह्मायणी नदी। हरियाली डाँडाकाँडाबीचको रमणीय स्थानमा अवस्थित यो भवन सुविधा सम्पन्न सहरको आलिसान महल भन्दा कम छैन। तर न यो महल हो, न कुनै पाँच तारे होटल। यो त दुर्गम गाउँको सामुदायिक विद्यालय हो।

चीन सरकारको सहयोगमा नवनिर्मित रत्नराज्य माविको यो भवन भौतिक पूर्वाधारका हिसाबले सम्भवत मुलुकै सबैभन्दा ठूलो अत्याधुनिक सुबिधा सम्पन्न सामुदायिक विद्यालय ठानिएको छ। १६ वर्षदेखि आफूले अध्यापन गराउँदै आएको विद्यालय भवनको यो भव्य स्वरुप देख्दा शिक्षक ऋषिराम पौडेललाई अहिले सपना झैँ लागिरहेको छ। ‘कल्पनामा त के सपनामा पनि यस्तो विद्यालय भवन देखेकै थिइन। त्यो पनि सामुदायिक विद्यालयको!’ ३४ वर्षदेखि शिक्षण पेशामा आवद्ध उनले अचम्मित हुँदै भने।

सुगम र सहरमै यति आलिशान विद्यालय भवन देखे कै थिएनन् पौडेलले। अझ दुर्गम र त्यो पनि आफ्नै ठाउँमा सुविधा सम्पन्न विद्यालय भवन पाउँदा उनी अचम्मित नहुने कुरै भएन! विद्यालय भवन बनाउन भनेर सुरुमा चिनियाँ प्राविधिक र कामदर आउँदासम्म यस्तो भव्य संरचना बन्ला भनेर नसोचेको उनले बताए। ‘तर हेर्दा हेर्दै कहिल्यै नसोचेको र नदेखेको विद्यालय भवन भोग्न पायौँ,’ पौडेलले सुनाउँछन्।

त्यसो त पौडेल जस्तै अरु शिक्षक, विद्यार्थी र अभिभावक विद्यालय देखेर चकित छन्। साथै, आफ्नै आँगनमा अत्याधुनिक विद्यालय भवन पाउँदा दंग र फुरुंग पनि। चीन सरकारको एक अर्व रुपैयाँ अनुदान सहयोगमा रत्नराज्यको विद्यालय भवन निर्माण भएको हो। नवनिर्मत विद्यालयको बाहिरी वातावरण जति सुन्दर देखिन्छ, भवनभित्र प्रवेश गर्दा त्यहाँका सुविधायूक्त संरचनाले जो कोहीको मस्तिष्कमा झंकार ल्याउँछ। नेपालको नभएर विदेशी शैक्षिक संस्थाको झल्को दिन्छ।

दक्षिण फर्किएको विद्यालयको प्रवेशद्धारबाट भित्र जादा मन लोभिन्छ। सुरुमा छ पहरा घर, सँगै चमेना गृह। यी दुई संरचनाको सामुन्ने छ, भुँइमा हरियो रंग पोतिएको भलिबल कोर्ट। अनि, तल्ला कक्षाका बालबालिका खेल्ने संरचना। दुईटा टेबल टेनिस कोर्ट पनि यही छ। त्यसपछि चारैतिरबाट गरिएको घेराबारबीच आउँछ, पहिलो भवन। यसको सामुन्नेमा गाढा र फिक्का हरियो रंग मिश्रित कृत्रिम घाँसे मैदानसहितको फुटसल कोर्ट छ।

त्यसपछि क्रमशः तीन लहरमा ठडिएका भवनमा छिर्दा प्रत्येक तला र कक्षाकोठा लोभलाग्दा छन्, सुविधाले भरिएका र चिटिक्क सजिएका। ‘अत्याधुनिक भवनको गरिमा र मर्यादा राख्न चुनौती थपिएको छ,’ चाँडै हस्तान्तरणको तयारीमा रहेको विद्यालय भवनको अवलोकन गर्दै गर्दा भेटिएका सहायक प्रधानाध्यापक ऋषि थापाले भने।

सुविधै सुविधा
जुगल गाउँपालिका–५ बराम्ची, चनौटेमा नवनिर्मित विद्यालयको तीनवटा मुख्य भवन छन्, जहाँ एक सय ३७ कोठा छ। पहिलो लहरको तीनतले भवन मुख्य संरचना हो। यसमा विद्यार्थी पढ्ने २१ कक्षाकोठा छन्। पढाइ मात्र हुने प्रयोजनको लागि बनाइएको यो भवनको प्रत्येक तलामा छात्रा/छात्राका लागि छुट्टछुट्टै शौचालय र खानेपानी धारा छन्। मार्बल बिच्छाइएको कक्षामा एक विद्यार्थीलाई एक/एक डेस्क, बेञ्च भागमा आउने गरी आकर्षक फर्निचरको व्यवस्था गरिएको छ। बेञ्चमै किताव, कापी राख्ने सुविधा छ, साथै र्‍याक (लकर)को व्यवस्था पनि। कक्षाको सबैभन्दा अगाडि कालो पार्टी र पोडिएमको व्यवस्था गरिएको छ।

कक्षाकोठा रहेको भवनबाटै दोस्रो संरचनामा पुग्न सकिन्छ। बीचको यो संरचना प्रशासनिक भवन हो। यहाँ ३६ कोठा छन्। प्रशासनिक भवनमा कार्यालय, तालिम हल, बैठक कक्ष, पुस्तकालय, विज्ञान प्रयोगशाला र  कम्प्युटर कक्ष छन्। यो कक्षमा ५२ वटा कम्प्यूटर छन्। कार्पेटिङ गरिएका कक्षमा पर्याप्त फर्निचर छन्।

अन्तिम लहरमा पाँचतले आवास भवन छ। यो भवनमा ८० कोठा छन्। आवास भवनको क्षमता ६ सय ३० जना रहेको वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताए। उनका अनुसार आवास भवनमा छात्र, छात्रा र शिक्षक बस्ने छुट्टाछुट्टै कोठा छन्। प्रत्येक तहका दुई छेउ र बीचमा बाथरुम छन्। आवासमा चिसो, तातोपानीको सुविधा छ। ‘हजार जनासम्म विद्यार्थी होस्टेलमा राख्न सकिन्छ,’ अध्यक्ष अधिकारीले भने।

प्रत्येक भवनका हरेक कोठामा पर्याप्त बिजुली बत्ती छन्। बाहिरी वातावरणका लागि चारैतिर पोलमा बिजुली बत्ती जडान गरिएको छ। बिजुली पोलमै स्पिकर (आवाज पद्धती) जडित छ। ‘साउन्ड सिस्टम’ को पहूँच प्रत्येक कोठादेखि चमेनागृह र पहरा घरसम्म विस्तार गरिएको छ। एक ठाउँबाट निर्देशन दिँदा सबैतिर सुनिन्छ। विद्युतीय उपकरण स्वचालित छन्। आवाजले बल्छन्, निभ्छन्। भवन बाहिरी वातावरणको लागि छुट्टै शौचालय बनाइएको छ।

विद्यालय हातामा सड्ने, बाल्नु पर्ने र नष्ट नहुने फाहोर फाल्ने मेशिनरी औजार पर्याप्त छन्। पर्याप्त अक्सिजनका लागि भवनका प्रत्येक तला र कोठामा हावा वारपार गर्ने पाइप जडान गरिएको छ। आगालागी जस्ता प्रकोपमा यसैबाट पानी र ग्याँस फालेर निभाउन सकिने व्यवस्थापन समिति अध्यक्ष अधिकारीले जानकारी दिए। उनका अनुसार आगो निभाउन र पिउनका लागि ठूला क्षमताका तीनवटा खानेपानी ट्यांकी निर्माण गरिएका छन्।

विद्यालयको यो भव्य संरचना चीन सरकारले झण्डै साढे दुई वर्ष लगाएर बनाएको हो। विद्यालयको पूरानो संरचना बिनासकारी भूकम्पले ढालेको थियो। तर यसअघि नै चीनले विद्यालय बनाउने प्रक्रिया सुरु भइसकेको थियो।

नमूना विद्यालय बनाउने योजना
साविक सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, हगाम र बराम्ची गाविस मिलेर बनेको जुगल गाउँपालिका सिन्धुपाल्चोकमा ‘कर्णाली’ भनेर चिनिन्छ। भौगोलिक विकटतासँगै यो गाउँपालिका आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा निकै पछाडि छ। तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाका एक गाउँबाट अर्को गाउँमा पुग्न डेढ दिनसम्म पैदल हिँड्नु पर्छ। गाउँ, बस्तीमा आधारभूत तहका विद्यालय प्रशस्त भए पनि मावि भने नौवटा मात्र छन्।

दुरीका कारण माध्यमिक तहको पठनपाठनका लागि ती पायक छैनन्। त्यसैले यहाँका बालबालिकालाई ९ कक्षदेखि १२ कक्षाको अध्ययन पूरा गर्न निकै सकस हुने गर्छ। रत्नराज्यमा अहिले साढे चार सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयको तथ्यांक छ। दैनिक ओहोरदोहोर गर्न नभ्याउने घर टाढा भएका झण्डै तीन विद्यार्थी चनौटे र आसपमास डेरा गरी पढिरहेका छन्।

‘यस्ता विद्यार्थीलाई नवनिर्मत आवासीय विद्यालयले ठूलो सुविधा दिँदैछ,’ गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने। उनका अनुसार पाँच सय ९२ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको पालिकाका धेरै बालबालिका बुबाआमासँगै चौरी, भेडा चराउँदै लेकाली क्षेत्र जाने चलन छ। उनीहरु पढाइबाट बञ्चित छन्। त्यस्तै तेगा, दीपु लगायत गाउँका बालबालिका आधारभूत तह पढ्न नै निकै टाढा जानुपर्छ। विद्यालय टाढा हुँदा उनीहरु पढ्न पाउँदैनन्।

‘यी दुबै खाले विद्यार्थीलाई आवासीय विद्यालयमा भित्र्याउने योजना बनाइरहेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने। अत्याधुनिक विद्यालय बनेकाले सञ्चालन खर्च जुटाउनु र शैक्षिक गुणस्तर सुधार्नु पर्ने चुनौती उनले देखेका छन्। यस्ता चुनौतीको सामना गरेर नमूना विद्यालय बनाउन गाउँपालिका बहस चलाउँदै योजना निर्माणमा जुटिरहेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २३ पुस २०७६ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App